सल्यानका रोका दाङमा मृत भेटिए

दाङ । देउखुरीमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । दाङ लमही नगरपालिका–९ अमिलियामा सल्यान कपुरकोट गाउँपालिका सिस्नेरीका अन्दाजी ३० वर्षीय नवीन रोका क्षेत्री मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरका अनुसार स्थायी घर सल्यान भएपनि मृतक रोका क्षेत्री केही समयदेखि अमिलियामा ज्यामी काम गर्दै आएका थिए ।

रोका क्षेत्रीले दिनभर ज्याला मजुरी काम गर्ने र मजदुरीबाट पाएको पैसाले मादक पदार्थ सेवन गर्न्ने गरेको स्थानीयको भनाइ छ ।

‘अलिअलि काम पनि गर्ने, कामबापत पाएको पैसाले जाँड रक्सी खाने रैछन्,’ घर्तीमगरले भने, ‘शुक्रबार पनि खाएर हिँड्दै जाँदा खानेपानीको पाइप बिच्छ्याउने नालीमा खसेर मृत्यु भएको अनुमान छ ।’

अमिलिया प्रहरी घटनास्थलमा पुगेको छ भने मृतकका आफन्तलाई सम्पर्कमा ल्याउने काम भैरहेको घर्तीमगरले बताए । मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

घटना शुक्रबार राति करिब ९ बजे तिरको हो ।

एक पटक पढ्नुहोस