पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग

पर्वत । पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरलु उपयोगका औजार निर्माण गर्ने र विपन्न नागरिकको आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो ।
गत आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर उद्योग स्थापना गर्ने अभियान थालिएको छ । यस वर्ष तीन वटा वडामा उद्योग स्थापना हुने छन् भने बाँकी चालु आर्थिक वर्षको अन्त्यतिरदेखि निरन्तर स्थापना गरिँदै लैजाने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए ।
उनका अनुसार यस वर्ष वडा नं ८ ठानामौला, वडा नं १ कार्किनेटा र वडा नं ४ चुरीमा उद्योग स्थापना शुरु गरिएको छ । प्रत्येक उद्योगका लागि आवश्यक सामग्री नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख शर्माले जानकारी दिए ।

घरेलु औजार उद्योगमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुडा, हलो, तथा तामाका भाँडाकुडा निर्माण हुने छन् । जसले आयातीत वस्तुलाई विस्थापन गरी विपन्न नागरिकको आयआर्जनमा सुधार हुने विश्वास लिइएको नगरप्रमुख शर्माले जानकारी दिए ।

फलेवास नगरपालिकामा १०९ आरन व्यावसाय रहेका छन् । तीनहरुलाई गत वर्षदेखिनै आरन सुधार अभियानअन्तर्गत आधुनिक सामग्री नगरपालिकाले वितरण गरिसकेको छ । नगरपालिकाले रु ३६ लाख विनियोजन गरेर परम्परागत घरेलु औजार उद्योगलाई प्रवद्र्धनको काम अघि बढाएको नगरप्रमुख शर्माले बताए ।

विपन्न नागरिकले निर्वाहमुखीरुपमा सञ्चालन गर्दै आएको आरन पेशालाई आधुनिकीकरण गर्दै नगरपालिकाभित्र चाहिने फलाम र तामाका सामान उत्पादन गर्ने अभियान प्रभावकारी हुने नगर उपप्रमुख मन्जु अधिकारीले जानकारी दिए। उनका अनुसार वडा नं ८ ठानामौलाको नमूना एकीकृत बस्तिवाट उद्योग स्थापनाको अभियान थालिएको हो ।

अभियान थालनी गर्दै नगरप्रमुख शर्माले हरेक ठाउँको विकासको लागि सोही ठाउँका निश्चित वर्गले नेतृत्व लिनुपर्नेमा जोड दिँदै असङ्ठित वर्गका श्रमिकको जीवनस्तर उकास्नको लागि नगरपालिकाले नयाँ र नमूना कार्यक्रम अघि सारेको जानकारी दिए । दलित समुदाय रहेका बस्तीलाई लक्षित गरी यो कार्यक्रम अघि सारिएको हो । यो कार्यक्रमका लागि आगामी वर्षदेखि निरन्तर वजेट विनियोजन गरेर उद्योग थप गर्दै लैजाने फलेवासका प्रमुख प्रशासकीय अधिकृत मुक्तिाम रिजालले बताए ।

एक पटक पढ्नुहोस