हराएका ब्रह्माजी प्रहरीको आँगनमा !

‘कुनै संग्रहालय, पुरातत्त्व विभाग र प्राचीन स्मारक जनाउ दिने ठाउँमा यो पुरातात्त्विक चिजलाई राखिनुपर्ने हो तर त्यसो भएन । अहिले पनि गौशाला प्रहरीको कुनोमा ब्रह्माजी राखिएकै छ ।’

काठमाडौँ — लिच्छविकालीन प्रतिनिधि प्रस्तर मूर्तिहरूमध्येमा पर्ने ब्रह्माको एउटा मूर्ति २०३८ सालको मध्यसम्मै जयबागेश्वरी मन्दिर पर्तिरको खुला मन्दिरमा राखिएको थियो । एकाएक त्यो मूर्ति हराएपछि खैलाबैला मच्चियो, प्रहरी–प्रशासनले खोजबिन सुरु गर्‍यो । केही महिनापछि पशुपतिछेउको वाग्मती किनारमै बालुवा खनेर खाल्डोमा हालिएको अवस्थामा उक्त मूर्ति भेटियो । अब यो कहाँ राख्ने भन्ने बहस स्थानीयमाझ सुरु भयो । पुरानै ठाउँमा राख्ने हो भने फेरि चोरिने डर थियो । ‘त्यसपछि सुरक्षाका हेतुमा यो मूर्तिलाई गौशालाको प्रहरी चौकीमा राख्ने निधो भएको थियो,’ पशुपति क्षेत्रका विज्ञ गोविन्द टण्डनले भने, ‘कुनै संग्रहालय, पुरातत्त्व विभाग र प्राचीन स्मारक जनाउ दिने ठाउँमा यो पुरातात्त्विक चिजलाई राखिनुपर्ने हो तर त्यसो भएन । अहिले पनि गौशाला प्रहरीको कुनोमा ब्रह्माजी राखिएकै छ ।’

स्रोतसाधन र अधिकारसम्पन्न पशुपति विकास कोष तथा यो क्षेत्र स्वयंले यस्ता पुरातात्त्विक सामग्रीको संग्रह गर्न वा संग्रहालय बनाउन सक्ने धारणा राख्दै टण्डनले पशुपति गुठीअन्तर्गत गोश्वारा (स्टोर) मा रहेका पुराना मूर्ति र सम्पदा पनि खोजबिनको विषय बनेको बताए ।

‘पशुपति क्षेत्रबाट हराएका भनिएका र कहींकतै फेला परेका मूर्तिलाई गौशाला प्रहरीले उठाएर आफूकहाँ भण्डारण गर्ने गरेको थियो । म स्वयंले गौशाला प्रहरी चौकीमा दर्जनौं मूर्तिको बिजोग देखेको थिएँ,’ उनले सुनाए, ‘आज त्यहाँ ती मूर्ति छैनन् भन्ने सुनेको छु । आखिर ती पुरातात्त्विक महत्त्वका मूर्ति कहाँ गए ? खोजबिन गर्ने कसले ?’

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा
लैनसिंह वाङ्देलले आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ (सन् १९८९) मा छैटौं शताब्दीमा बनेको ब्रह्माको यो मूर्ति देवपाटनबाट सन् ८० दशकको सुरुवातमै हराएको विवरण दिएका छन् । उनले यो मूर्तिलाई प्रहरी ‘कस्टडी’ मा राखिएको (पृष्ठ २९५) उल्लेख गरे पनि के, कहाँको प्रहरी चौकी भनेर खुलाएका छैनन् ।

‘हो, वाङ्देलजीले हराएका मूर्तिको अन्वेषण गर्दै जाने क्रममा ब्रह्माजीको मूर्ति पूर्ववत् स्थान जयबागेश्वरी मन्दिरदेखि झन्डै डेढ सय मिटर उत्तरपट्टि (हाल पुष्पाञ्जली आयल) को सानो खण्डमा नपाएपछि चोरिएको विवरणमा समेट्नुभएको हुन सक्छ,’ डा.टण्डन भन्छन्, ‘यो प्रस्तर सम्पदाको उचित महत्त्व नबुझिएकै भए पनि प्रहरी चौकीमा अझै राखिएको छ । यो सधैंलाई चोरिनु वा हराउनुभन्दा यो ठूलो उपलब्धि हो ।’ तर वाङ्देलले यो मूर्तिलाई ‘देवपाटन’ को भन्दै अञ्जानमै गलत स्थान उल्लेख गरेको हुन सक्ने टण्डनले बताए ।

ब्रह्माजी मूर्तिबारे सरोकार राख्दै सोमबार गौशाला प्रहरी चौकीमा पुग्दा त्यहाँ उभिएका प्रहरीहरूले ‘यस्तो मूर्ति यहाँ नभएको’ भन्दै आँगनमा राखिएको देवी–लक्ष्मीको मन्दिरतिर देखाए । त्यही मन्दिरको अर्को कुनोमा थोत्रे मोटरसाइकलको ग्यारेज आडैमा इनारको रिङभित्र ब्रह्माजी प्रतिस्थापन गरिएको भेटियो । गौशालाका प्रहरी निरीक्षक बलराम श्रेष्ठले चौकीमा यो ब्रह्मा मूर्ति के–कसरी र कहिले, कताबाट आइपुग्यो भन्ने निस्सा–प्रमाण पनि खोजी हेरे । तर चौकीमा यसबारे तत्काल केही प्रमाण पाउन सकेनन् । ‘म पनि यहाँ सरुवा भएर आएको दुई महिना मात्रै भयो,’ उनले भने, ‘म ब्रह्माजीबारे बुझेर पछि खबर गर्नेछु ।’

डा.टण्डनको २०४२ सालमा प्रकाशित पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन पुस्तकको ‘पशुपति क्षेत्रका मूर्तिहरू’ शोध लेखका अनुसार, ‘यो मूर्ति करेटोलमा एउटा खुला मन्दिरमा राखिएको थियो । फिक्का कालो रङको ढुंगाबाट बनेको यो मूर्ति २० इन्च अग्लो छ । अघिल्तिरबाट हेर्दा तीन मुहारयुक्त मूर्ति देखिए पनि बीचको मुहारको पछाडि अर्को मुहार बसेको छ ।’ अर्का शोधकर्ता बाबुकृष्ण रिजालको ‘लिच्छविकालीन केही ब्रह्माका मूर्तिहरू’ आलेखमा भने यो मूर्तिलाई आर्यघाटपारिको भनेर उल्लेख गरिएको छ । तर यस्तो पुरातात्त्विक र सुन्दर मूर्तिका बारेमा बताउने अभिलेखहरू कहींकतै नपाइएको अर्का अन्वेषक प्रतापआदित्य पालले आफ्नो अध्ययनमा उल्लेख गरेका छन् ।

‘मूर्तिको कुममा जटा लत्रेको देखाइएको छ । ब्रह्मा कमलासनमा मृगाजिनमाथि बसेका छन् । पारदर्शक धोती छ । घुँडामा धोतीको धर्के बुट्टा देखाइएको छ । नौडोरे कमरबन्ध पेटमा देखिन्छ । सुखासनमा बसेका ब्रह्माका दुई हात छन् । दाहिने हातमा अक्षमाला र देब्रे हातमा कमण्डलु छन्,’ टण्डनको शोधमा उल्लेख गरिएको छ ।

टण्डनले आफ्नो शोधका क्रममा २०३८ सालको मध्यसम्मै यो ब्रह्माजी मूर्तिलाई जयबागेश्वरी छेउको खुला मन्दिरमा देखेको बताए । विशेषतः जयबागेश्वरी क्षेत्रमा जग्गा अतिक्रमण र बाटो विस्तारको कुरा आएपछि रातारात यो क्षेत्रका मठमन्दिर भत्काइएको र त्यही क्रममा आसपासका मूर्तिहरू हराउन थालेको इतिहास टण्डनले सुनाए ।

एक पटक पढ्नुहोस