काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गर्न थालेपछि विरोधमा उत्रन बाध्य भएको बताएका छन् । कांग्रेसले सोमबार विराटनगरमा गरेको प्रदर्शनमा नेकपाको सरकारले तीन वर्षमा पनि मुलुकमा स्थिरता र सुशासन ल्याउन तथा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गरे ।
उनले आउँदो निर्वाचनमा कांग्रेसलाई नम्बर एक पार्टी बनाउने गरी नेता तथा कार्यकर्तालाई काम गर्न निर्देशनसमेत दिए । कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हेटौंडाको विरोधसभालाई सम्बोधन गर्दै कम्युनिस्ट सरकारलाई सच्याउनका लागि आफूहरू सडकमा आएको दाबी गरे । सरकारलाई सच्याउन र यो द्वन्द्व गर्ने बेला होइन भन्नलाई सडकमा आएको उनको भनाइ थियो । जनता भोकले मर्दै गर्दा बालुवाटारमा सत्ताका लागि लडाइँ भइरहेको प्रवक्ता शर्माले बताए । ‘भोकले कोही मर्दैन भन्ने सरकार जनता कोरोनाको मारमा रहेको बेला सत्ताको जित र हारमा लागेको छ,’ उनले भने । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारबाट सरकारले सर्वसत्तावाद लागू गरेको प्रस्ट भएको शर्माको टिप्पणी थियो ।
झापाको बिर्तामोडमा आयोजित विरोधसभामा कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार र नेकपाका कारण मुलुकको व्यवस्था नै संकटमा परेको आरोप लगाए । उनले सरकार सही ढंगले चल्न नसक्दा मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गरे । सरकार कमजोर बनेकै कारण देशीविदेशी शक्ति पुनः सक्रिय बनेको उनको दाबी थियो ।
‘पार्टीभित्रको पद र सत्ता जोगाउन कम्युनिस्ट नेताहरू विदेशी शक्तिको शरणमा पर्दा मुलुकको सार्वभौमसत्ता कमजोर बन्न पुगेको छ,’ उनले भने, ‘सरकारको नालायकी थाहा पाएपछि एउटा शक्तिले देशभित्रै हिन्दु राष्ट्रका नाममा धार्मिक हिंसा भड्काउन खोजिरहेको छ ।’ नेता महतले मुलुकमा कांग्रेसको अगुवाइ र समर्थनबिना कुनै पनि परिवर्तन सम्भव नभएकाले संकटमा पर्दै गएको वर्तमान व्यवस्थालाई कायम राख्न कांग्रेस सडकमा उत्रिनुपरेको बताए । सरकारले भ्रष्टाचारबाहेक कुनै काम गर्न नसकेको उनको टिप्पणी थियो । त्यही सभामा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेकपा सरकारको चरित्रका कारण सुतेको बाघ (कांग्रेस) जागेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले धनगढीमा आयोजित विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘महारानी’ बन्न खोजेको आरोप लगाएका छन् । उनले हिम्मत भए आफ्नो निर्वाचन क्षेत्रमा आएर चुनाव लड्न पनि राष्ट्रपतिलाई चेतावनी दिए । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाइ थियो । नेता थापाले ओली नेतृत्वको सरकारले मनोमानी गरिरहेको टिप्पणी गरे । ‘बरालिएको केपी ओली सरकार जबसम्म ठेगानमा आउँदैन, तबसम्म कांग्रेस सडकमै रहन्छ,’ उनले भने ।
नेता थापाले ‘राजा आऊ देश बचाऊ’ भनेर सडकमा आएका युवालाई सम्हालिन आग्रह गरे । संघीयताको विकल्प नरहेको उल्लेख गर्दै उनले यही व्यवस्थालाई सुदृढ र परिपक्व बनाउनुपर्ने बताए । ‘हिजो पञ्चायतकालमा मन्दिरको मूर्ति चोरेर र बेचेर खानेहरूले तपार्इं हाम्रो धर्म बचाइदेला भन्ने अपेक्षा राख्नु अर्को धोका हुनेछ,’ उनले भने । सुदूरपश्चिम प्रदेश सरकारको लाचारी र नकारात्मक काम देखेर संघीयता वा अहिलेको व्यवस्था नै चाहिँदैन भन्ने धारणा बनाउनु गलत हुने उनको भनाइ थियो । ‘मुख्यमन्त्रीजी क्षमा गर्नुहोला, तपार्इंजस्तो निरीह र लाचार मुख्यमन्त्रीका कारण सुदूरपश्चिमका जनताले दुःख पाए । सुदूरपश्चिममा लेखराज भट्ट र भीम रावलको पहलमा सेनिटाइजर बाँडियो भनेर समाचार आउँछ । प्रदेश सरकारले के गर्यो ?’ उनले भने, ‘यस प्रदेशका मुख्यमन्त्रीले संघीयताको भारी बोक्न नसकेको दोष व्यवस्थालाई दिनुहुन्न । भारी त प्रधानमन्त्री र नेकपालाई बोकाउनुपर्छ ।’
कांग्रेस नेता रामशरण महतले चितवनको नारायणगढमा आयोजित प्रदर्शनमा सरकार एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा रहे पनि सत्तारूढ दलभित्रैको विवादले प्रक्रिया अगाडि नबढेको बताए । ‘अमेरिकाको सहयोग लिँदा चीन रिसाउँछ भनेर नेकपाका केही नेता विलापमा लागेका छन्,’ उनले भने । चीनसँगको सीमा विवादमा छानबिनबिनै सरकारले भूमि अतिक्रमण नभएको बताउनु गलत भएको नेता महतको भनाइ थियो ।
