राप्रपाले भन्यो– विवादास्पद र अनावश्यक अध्यादेशले संविधानको चिरहरण भयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई ‘विवादास्पद र अनावश्यक अध्यादेश’ को संज्ञा दिँदै तुरुन्त फिर्ता गर्न माग गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले सो माग गरेको हो । बैठकमा अध्यक्षत्रय कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणासमेतको सहभागिता रहेको थियो ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा संवैधानिक परिषद् सम्वन्धी अध्यादेश जारी गर्ने प्रक्रिया र अध्यादेशको विषयवस्तु दुवैले संविधानको चिरहरण गरेको ठशर गरिएको छ । ‘संविधानको मर्म र भावनामाथि गम्भीर प्रहार गरेको छ । यो सर्वसत्तावादी र अलोकतान्त्रिक कार्यको राप्रपा विरोध र भत्सर्ना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यो अध्यादेश प्रकरणमा संविधानको संरक्षण र पालना गर्नुपर्ने निकाय र पदाधिकारीहरु गैरजिम्मेवार सावित भएका छन् ।

भागवण्डा नमिलेर प्रतिपक्षी दलका नेता संवैधानिक परिषदको बैठकमा नजानु, निहित गुटगत राजनीतिको प्रभावमा परेर सभामुख पनि बैठकमा नजानु, उनीहरुको अनुपस्थितिलाई बहाना बनाएर प्रधानमन्त्रीले अध्यादेश ल्याउनु, अध्यादेशका बारेमा आवश्यक न्युनतम ध्यानसम्म नदिई द्रुतगतिमा राष्ट्रपतिले जारी गर्नु तथा संविधानको भावना विपरीत आएको अध्यादेशलाई प्रधानन्यायाधीशले परोक्ष रुपमा समर्थन जनाउनुले वर्तमान पद्धति र व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह खडा गरेको छ । संवैधानिक परिषदको उपादेयता समाप्त भएको छ ।’

यस्तै राप्रपाले माइतीघर मण्डलामा धर्ना बसिरहेका उखु किसानको माग तत्काल पुरा गर्न माग समेत गरेको छ ।

एक पटक पढ्नुहोस