कोरोना महामारीका कारण क्रिसमसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लण्डनसमेत केही इलाकामा चौथो चरणको कडा प्रतिबन्ध लागू गरिने घोषणा गरेका छन् ।
शनिबार राती आयोजित एक पत्रकार सम्मलेनमा प्रधानमन्त्री बोरिस जोनसनले देशमा चाडपर्वको मौसम यसपटक अलग हुने बताएका छन् । उनले भने, ‘पहिला जसरी योजना तयार गरिएको थियो त्यस अनुसार यसपटक हामी क्रिसमस मनाउन सक्दैनौं ।’
उनले चौथो चरणको प्रतिबन्ध पूर्वी र दक्षिण पूर्व इंगल्याण्डका केही इलाकासमेत लण्डनमा आइतबारदेखि लागू हुने बताए ।
सरकारले क्रिसमसका बेला प्रतिबन्धमा पाँच दिनको छुट दिने घोषणा गरेको थियो । तर यसलाई कम गरेर एक दिनको मात्रै बनाएको छ ।
जुन इलाकामा चौथो चरणको प्रतिबन्ध लागू गरिएको छ, त्यहाँका मानिसहरुलाई घरमा नै बस्न, अत्यावश्यक नपरेसम्म घरबाट बाहिर ननिस्कन, आफ्नो इलाकाबाट बाहिर नजान र अर्को इलाकाका मानिसहरुलाई नभेट्न भनिएको छ । साथै यो इलाकामा घरबाट बाहिर निस्किएर सार्वजनिक स्थानमा एक व्यक्तिले एक व्यक्तिलाई मात्रै भेट्न पाउने नियम तोकिएको छ ।
प्रधानमन्त्रीले जुन इलाकामा चौथो चरणको प्रतिबन्ध लागू गरेको छ त्यहाँ बस्ने मानिसहरु क्रिसमसको दिन पनि बाहिर गएर मानिसहरुलाई नभेट्न भनेको छ र जुन इलाकामा यो प्रतिबन्ध छैन त्यहाँ पनि क्रिसमसको मौकामा तीन परिवारलाई मात्रै एकैपटक भेटघाट गर्न आग्रह गरिएको छ ।
यो प्रतिबन्ध हाल दुई हप्तासम्म लागू रहनेछ । डिसेम्बर ३० पछि पुनः स्थितीको समीक्षा गरिनेछ ।