After header

कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण क्रिसमस अघि बेलायतमा कडा प्रतिबन्ध

कोरोना महामारीका कारण क्रिसमसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लण्डनसमेत केही इलाकामा चौथो चरणको कडा प्रतिबन्ध लागू गरिने घोषणा गरेका छन् ।

शनिबार राती आयोजित एक पत्रकार सम्मलेनमा प्रधानमन्त्री बोरिस जोनसनले देशमा चाडपर्वको मौसम यसपटक अलग हुने बताएका छन् । उनले भने, ‘पहिला जसरी योजना तयार गरिएको थियो त्यस अनुसार यसपटक हामी क्रिसमस मनाउन सक्दैनौं ।’

उनले चौथो चरणको प्रतिबन्ध पूर्वी र दक्षिण पूर्व इंगल्याण्डका केही इलाकासमेत लण्डनमा आइतबारदेखि लागू हुने बताए ।

सरकारले क्रिसमसका बेला प्रतिबन्धमा पाँच दिनको छुट दिने घोषणा गरेको थियो । तर यसलाई कम गरेर एक दिनको मात्रै बनाएको छ ।

जुन इलाकामा चौथो चरणको प्रतिबन्ध लागू गरिएको छ, त्यहाँका मानिसहरुलाई घरमा नै बस्न, अत्यावश्यक नपरेसम्म घरबाट बाहिर ननिस्कन, आफ्नो इलाकाबाट बाहिर नजान र अर्को इलाकाका मानिसहरुलाई नभेट्न भनिएको छ । साथै यो इलाकामा घरबाट बाहिर निस्किएर सार्वजनिक स्थानमा एक व्यक्तिले एक व्यक्तिलाई मात्रै भेट्न पाउने नियम तोकिएको छ ।

प्रधानमन्त्रीले जुन इलाकामा चौथो चरणको प्रतिबन्ध लागू गरेको छ त्यहाँ बस्ने मानिसहरु क्रिसमसको दिन पनि बाहिर गएर मानिसहरुलाई नभेट्न भनेको छ र जुन इलाकामा यो प्रतिबन्ध छैन त्यहाँ पनि क्रिसमसको मौकामा तीन परिवारलाई मात्रै एकैपटक भेटघाट गर्न आग्रह गरिएको छ ।

यो प्रतिबन्ध हाल दुई हप्तासम्म लागू रहनेछ । डिसेम्बर ३० पछि पुनः स्थितीको समीक्षा गरिनेछ ।

एक पटक पढ्नुहोस