अस्फोर्ड एस्ट्राजेनेकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपको नेपालका लागि आधिकारिक विक्रेता हुकुम डिस्ट्रिब्युसन प्रालिले आफ्नो कारणले भारतबाट आयात हुनुपर्ने खोप नरोकिएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा नेपालस्थित आधिकारिक बिक्रेताका कारण हुन नसकेको भन्ने समाचार प्रकाशित भएकोमा कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो
हालसम्म नेपालमा खरिद भएको खोपमा आफ्नो सहभागिता नरहेको हुकुमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सहमति भए बमोजिमको बाँकी १० लाख डोज खोप भारतमा फैलिएको महामारीको अत्यासलाग्दो दोस्रो लहरको मारमा परेको हुकुमको दाबी छ ।
‘२० लाख डोज भ्याक्सिन आयातको सहमति नेपाल सरकार र सिरम इन्स्टिच्युट बीचको सिधा खरिद सम्झौताका आधारमा भएको हो । आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन । बरु यसमा बुझ्नुपर्ने कुरा के छ भने : यस खरिदमा सरकारी वार्ता टोली र हाम्रा बीच भएको वार्ताबाट हामीले नियम सम्वतरुपमा पाउनुपर्ने सेवा शुल्क समेत महामारीका बेला नागरिक प्रतिको सामाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत् स्वास्थ्य मन्त्रालयले पत्र लेखेरै धन्यवाद ज्ञापन समेत गरेको सबैलाई विनम्र आग्रह गरिन्छ ।’
