गीतकारको जीवन : मनका १० प्रतिशत भावना पनि गीतमा उतार्न सकेको छैन

दिनेश अधिकारी चर्चित गीतकार हुन् । उनले सयौं गीत रचना गरेका छन् । नारायण गोपालले गाएको ‘यो सम्झने मन छ’, तारादेवीले गाएको ‘सोचे जस्तो हुन्न जीवन’, रवीन शर्माको ‘तिमी यसै लजायौ’, भक्तराज आचार्यको ‘जीवन भन्नु त’ देखि अहिलेका पुस्ताका गायक गायिकाले गाएका अधिकारीका कालजयी रचना हुन् ।

कविसमेत रहेका अधिकारीको कृति ‘अतिरिक्त अभिलेख’ले कविता विधामा मदन पुरस्कारसमेत प्राप्त गरेको छ । पुराना र नयाँ पुस्तामा गीतमार्फत सेतुको काम गर्न सफल अधिकारी गीतका माध्यमबाट लाखौँको मनमा बस्न सफल छन् ।
कविसमेत रहेका अधिकारीको कृति ‘अतिरिक्त अभिलेख’ले कविता विधामा मदन पुरस्कारसमेत प्राप्त गरेको छ । पुराना र नयाँ पुस्तामा गीतमार्फत सेतुको काम गर्न सफल अधिकारी गीतका माध्यमबाट लाखौँको मनमा बस्न सफल छन् ।

‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ’ बोलको सबैको मन छुने यो राष्ट्रिय गीत पनि अधिकारीले नै कोरेका हुन् । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका अधिकारीले सेवाको उत्तरार्द्धमा मुद्दा मामिला पनि व्यहोर्नु पर्‍यो । यिनै गीतकार एवं कवि दिनेश अधिकारीको जीवनको पाटो रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा–

मेरो लेखन

गीत तथा कविता लेखन मेरो शोख हो । लेखन त सानैदेखि गर्दथेँ । प्रकाशनमा आउन थालेको २०३२ सालदेखि हो । सानोदेखि अहिलेसम्म पनि लेखन यात्रा निरन्तर जारी छ । २०३९ सालको ‘विश्वास चाँडो’ बोलको गीत मेरो रेकर्ड भएको पहिलो गीत थियो ।

फिल्म, आधुनिक र अन्य प्रकार गरी थुप्रै गीत लेखेको छु । रेकर्ड भएकै मात्र करिब ५ सय पुगे होला । १६ वटा साहित्यिक पुस्तक र १६ वटै गीतका एल्बम निस्किएका छन् ।

आफूलाई अभिव्यक्त गर्न म लेख्ने गर्छु । म पनि मानिस न हुँ । मेरो मनस्थिति पनि सधैँ एकनास रहँदैन । मनभित्र खुसी, पीडा र छटपटी सबै हुन्छन् । त्यो मनस्थितिअनुसारको गीत सेन्टिमेन्टल, रोमान्टिक लगायतका प्रकार सिर्जना हुने गर्छ । मैले अरूको खुसी र पीडामा पनि गीत लेखको छु । लेखनले कसैको नोक्सान गर्दैन भन्ने मेरो बुझाइ पनि हो ।

कुनै पनि कुरा व्यक्त गर्नुप¥यो भने मबाट कि गीत कि कविता बन्छ । मलाई लेखनले एउटा पहिचान, सामाजिक स्वीकृति दिएको छ । त्यो मेरो लेखनको सन्तुष्टिको पक्ष हो ।

अहिलेसम्म मैले मनमा रहेका १० प्रतिशतभन्दा बढी कुरा लेखनमा उतार्न सकेको छैन । मेरो विचारमा गीत लेखन सामूहिक काम हो । यसलाई सङ्गीत र गायनले सहयोग पु¥याएको अवस्थामा मात्र गीत हुन्छ । रोमान्टिक, सेन्टिमेन्टल जस्ता गीत लेखन मनस्थितिमा भर पर्नेगर्छ ।

नारायण गोपालको ‘यो सम्झने मन छ म बिर्सौं कसोरी’, ‘तारदेवीको सोचेजस्तो हुन्न जीवन’, रवीन शर्माको ‘तिमी यसै लजायौ, म यसै लजाएँ’, भक्तराज आचार्यको ‘जीवन भन्नु त’, फिल्मको सुक्मित गुरुङले गाएको ‘बोल बोल पाखाहरू’, ‘नलिना चित्रकारको ‘पानी पानी भयो मेरो मन पनि’ लगायत थुप्रै गीत सबैको मनमुटुमा बस्न सफल छन् ।

मेरो नोकरी

अहिले नेपाल सरकारको अवकाश प्राप्त कर्मचारी म । ३५ वर्ष सरकारी नोकरी गरेँ । २०३८ सालमा नायक सुब्बाबाट जागिर सुरु गरेको मैले नेपाल सरकारको सचिव पदमा पुगेर अवकाश लिएँ ।

जागिरका सिलसिलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव र महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायाधिवक्ताको पद हुँदै स्वास्थ्य मन्त्रालयमा सहसचिवको पदमा समेत कार्य गरेँ ।

२०६६ सालदेखि सचिव पदमा बढुवा भएको म नेपाल सरकारका विभिन्न मन्त्रालयमा रहेर वि.सं. २०७१ मा सेवा निवृत्त भएको हुँ । जागिरका सिलसिलाका उतारचढाव थुप्रै छन् । अहिले पनि केही घटना छन् । यो विषयमा अब अगाडि नबढौँ ।

मेरो खाना

सामान्य नेपाली खाना दाल, भात, तरकारी मनपर्छ । माछामासु र अचार पनि मीठो लाग्छ । घिरौँलाको तरकारी कहिल्यै पनि मन परेन ।

मेरो रेस्टुरेन्ट जाने कल्चर त छैन । कहिलेकाहीँ परिवार र साथीहरूसँग जानैपर्ने हुन्छ र जान्छु । रेस्टुरेन्टमा फेरेर खान मनपर्छ । धेरैजसो खाने भनेको मम हो । पकाउन रुचि छ । सबै प्रकारको परिकार पकाउन सक्छु ।

मेरो फिटनेस

फिटनेसका लागि सजग छु । तर, नियमित एक्सरसाइज गर्दिनँ । कहिलेकाहीँ जाँगर चल्यो भने रामदेवले सिकाएको योग अभ्यास गर्छु । मिलेसम्म एकघण्टा हिँड्ने कोसिस गर्छु । हिँड्न बिहान होइन बेलुका रुचाउँछु । आवश्यक नभएकाले अहिलेसम्म घरमा एक्सरसाइजका समान ल्याएको छैन ।

मेरो पोसाक

मौसमअनुसारको पोसाकमा रुचि छ । प्रायः लगाउने पाइन्ट, सर्ट नै हो । त्यसमा स्टकोट, कोट वा ज्याकेट मिसाउन मनपर्छ । टिसर्ट, सुतिजस्तो सफ्ट जिन्स मनपर्छ ।

पोसाक कोड गरिएको कार्यक्रममा दौरासुरुवाल लगाउँछु । अन्य धेरै समय कोट पाइन्ट लगाउन मनपर्छ । पहिले खैरो रङको पहिरन धेरै प्रयोग गर्थें । अहिले भने रहर फेरिएको छ । विभिन्न रङका पहिरन प्रयोग गर्छु ।

पहिरन रेडिमेड तथा सिलाएर पनि लगाउँछु । पहिरनमा ब्रान्ड हेर्दिनँ । मनपरेको किन्छु । कोट किन्नु नपरे ६, ७ हजार भए वर्षभरिका लागि पहिरन खर्च पुग्छ ।

मेरो अध्ययन

पुस्तक मेरो साथी हो, पढ्छु । बेलुका खाना खाएपछि एकाग्रसँग पढ्न पाइने भएकाले यो समय अध्ययन गर्छु । अहिले घरमा थोरै सदस्य भएकाले दिउँसो पनि पढ्ने, लेख्ने वातावरण छ । बिहान भने पत्रपत्रिका मात्र पढ्छु ।

म कविताको पुस्तक भेटेसम्म छुटाउँदिनँ । रुचिका हिसाबले ऐतिसिक विषयवस्तु भएका, जीवनी, उपन्यास, यात्रा साहित्य, कथाहरू बढी पढ्न मनपर्छ ।

अहिले युवराज नयाँ घरेको ‘औँला औँलामा अस्ट्रेलिया’ पढिरहेको छु । पढ्ने लाइनमा वसन्त बित्यासी थापाको ‘खुसी रम्ने ओठ’, भोजराज न्यौपानेको ‘छुटेको जुत्ता’, गीता कार्कीको ‘आमा’ भन्ने कविता सङ्ग्रह लाइनमा छन्
मेरो घुमघाम

घुमघाम मनपर्छ । प्राकृतिक सौन्दर्यले भरिएका, ऐतिहासिक महत्त्व रहेका, नयाँनयाँ ठाउँ घुम्न मनपर्छ । परिवारसँग र एक्लै पनि घुम्ने गरेको छु ।

विदेशमा करिब २५ देश पुगेँ होला । स्वदेशका भने अहिलेका ७७ जिल्लामा ६७ जिल्ला पुगिसकेँ । भोजपुर, खोटाङ र डोल्पा अहिले जान मन लागेका र पुग्न नसकेका जिल्ला हुन् ।

मेरो फुर्सद

अहिले व्यावसायिक काम त छैन । पढ्ने, लेख्ने अनिवार्य हो भन्ने हो भने फुर्सद छैन । हैन भने अहिले फुर्सदैको जीवन हो । परिवार र साथीभाइका लागि चाहिए समय निकाल्न सक्छु । आवश्यक परेमा समय छैन भन्नुपर्दैन ।

मेरो खेलकुद

खेलकुदमा रुचि छ । विद्यार्थी जीवनमा फुटबल खेल्थेँ । त्यतिबेला म फुटबलको राम्रै खेलाडी त थिइनँ । ठिकठिकै खेल्थेँ । अहिले भने फुटबल धेरै हेर्छु । वल्र्डकम तथा विश्वमा चर्चित फुटबलका खेलहरू रातभर जागा भएरसमेत हेर्ने गरेको छु ।

मेरो मोबाइल

मसँग अहिले सामसुङ ब्रान्डको एउटा मोबाइल छ । यसअगाडि नोकिया ब्रान्ड बोक्थेँ । फोन गर्न, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जाल चलाउन मोबाइल प्रयोग गर्छु ।

पछिल्लो समय मोबाइलबाटै साहित्य, सङ्गीत र विविध क्षेत्रका मानिससँग गाँसिएका सम्झनाहरू फोटोसहित सामाजिक सञ्जालमा पोस्ट गरेर याद साट्ने गरेको छु । मोबाइल जन्मदिनको अवसर पारेर छोराछोरीले कहिलेकाहीँ गिफ्ट दिन्छन् । त्यो पनि मैले चलाएको मोबाइल अब काम गर्दैन भन्ने उनीहरूलाई लाग्यो भने ।

मेरो टीभी

टीभीमा नियमित बेलुकाको समाचार हेर्छु । कहिलेकाहीँ फिल्मका लागि दिउँसो पनि हेर्छु । मनपर्ने टक सो र जिज्ञासा लाग्ने खालका विषयवस्तु भएका कार्यक्रम टीभीमा हेर्न मनपर्छ । त्यसको अलवा साङ्गीतिक कार्यक्रम पनि कहिलेकाहीँ हेर्ने गर्छु ।

फिल्म

हिन्दी, नेपाली सबै प्रकारका फिल्म हेर्छु । हलमा नगएको भने करिब एक दशक भयो होला । चर्चा, विषयवस्तु राम्रा भएको फिल्म हेर्न मनपर्छ । टीभीमा र युट्युब उपलब्ध फिल्महरू खोजेर पनि हेर्ने गर्दछु । मेरो रोजाइमा सामाजिक विषयवस्तुका फिल्म पर्दछन् ।

दुःखसुख

नाम र दाम हामी लेखकको कानुनी अधिकार हो । त्यो दुवै पाउनबाट हामी एक किसिमले भन्ने हो भने वञ्चित जस्तै छौँ । त्यो नै दुःख हो ।

हामीले सिर्जना गरेका गीतले चर्चा त पाएका छन् नै कहिलेकाहीँ हाम्रा गीत मानिसले आफ्नो जीवनमा आत्मसात गरेको देख्न मिल्छ । त्यो देख्दा सबैभन्दा ठूलो सुख मिल्छ ।

विवाह

२०४१ सालमा परिवारले खोजिदिएको केटीसँग विवाह गरेँ । विवाहपछि श्रीमतीसँगै प्रेम गरेँ । अहिले पनि त्यो प्रेम चल्दैछ । बाहिर भने प्रेम गरिएन र बसेन पनि ।

सपना

केही सपना छैन । सकेसम्म अरूको भलो गर्न सकौँ । कसैको चित्त नदुखाइ जीवन बितोस् । यही हो मेरो सपना भने पनि चाहना भने पनि ।

गीतसङ्गीत

गीतसङ्गीत मनपर्छ, सुन्छु । अर्थपूर्ण गीतसङ्गीत सुन्न रुचाउँछु । कहिलेकाहीँ अर्थहीन गीतसङ्गीत पनि पपुलर हुने र चर्चामा छाउने गर्छ । म पपुलरभन्दा पनि अर्थपूर्ण गीत सुन्न रुचाउँछु । हिन्दी, नेपाली र सबै प्रकारका गीत सुन्छु । गीत प्रायः दिनको समय सुन्ने गरेको छु ।

मेरो भूल

भूल नगर्ने मानिस सायद हुँदैन होला । मैले पनि धेरै भूल गरेको छु । कतिपय सच्चिने भूल गरियो । कतिपय सच्याउन नसकिने भूल भए । अहिलेसम्म सधैँ पछुताउनुपर्ने भूल भने भएको जस्तो लाग्दैन ।

पहिले कानुन पनि पढेको थिएँ । वकालत भने गरिनँ । यसलाई भूल भन्ने कि के भन्ने ।

मापसे

मापसे पहिले पनि गर्दिन थिएँ र अहिले पनि गर्दिनँ । मापसे नगरे पनि साथीभाइ आउँदा काम लाग्छन् भनेर अहिले घरमा सजाएर राख्ने चलन पनि चलेको छ । मैले भने त्यसो गरेको छैन । साथीभाइ आउँदा खुवाउनुर्‍यो भने बाहिरबाट ल्याएर खुवाउँछु ।

रोग

अहिले मलाई उच्च रक्तचापको समस्या छ । सुगर पनि सावधानी अपनाउनुपर्ने अवस्था छ । तीन वर्ष अगाडि हिप रिप्लेसमेन्ट गरेको थिएँ ।

राशि

मेरो राशि ‘कुम्भ’ हो । ग्रहदशामा विश्वास लाग्छ पनि लाग्दैन पनि । लाग्छ यो अर्थमा कि राशिमा हेर्ने गरेको छु । राशिमा भनेका अन्य काम कुरो फलो भने गर्दिनँ । हेराउने, जुराउने गर्दिनँ । सामान्य पूजापाठ गर्छु ।

मृत्यु

मृत्यु सत्य हो । जन्मेपछि मर्नुपर्छ । जीवनले कमाउने भनेको मृत्यु हो । हामीले मरेपछि पनि सम्झने केही कर्म गर्न सक्नुपर्छ र सधैँ त्यस्तो कर्म गर्नतिर क्रियाशील हुनुपर्छ । दुःख नपाई सजिलै मृत्यु होस्, मेरो ईच्छा यही छ ।

एक पटक पढ्नुहोस