मनोज गजुरेलको निषेधाज्ञा डायरी : खै कसलाई पो उडाउने ?

कोरोनाको दोस्रो भेरियन्टको त्रास दिन प्रतिदिन बढ्दो छ । कुनबेला को, कहाँ, कसरी सङ्क्रमित हुन्छ भन्ने थाहा छैन । कोरोना सङ्क्रमण नियन्त्रण घटाउन सरकारले विगत २ साता अगाडिदेखि निषेधाज्ञा जारी गरेको छ । यसको कारण भीआईपीदेखि सर्वसाधारणसम्म घरको चार कुनाभित्र सीमित हुन पुगेका छन् । सर्वप्रिय हास्यकलाकार मनोज गजुरेल पनि अहिले घरभित्रै बसेका छन् । योग, ध्यान, अध्ययनदेखि व्यङ्ग्य लेखन उनको अहिलेको दैनिकी हो । सधैँ विभिन्न कार्यक्रममा व्यस्त रहने गजुरेलकै शब्दमा यस्तो छ उनको ‘निषेधाज्ञा डायरी’ :

योग, ध्यान र अध्ययनमा दिनचर्या
निषेधाज्ञाका कारण बाहिरतिर निस्कन सकिएको छैन । घरभित्र थुनिएर बसेको छु । घरमै बसे पनि खासै केही काम गरिरहेको छुइनँ । सामान्य दिनचर्यामा समय बितिरहेको छ । मेरो दिन बिहान ६ बजेबाट सुरु हुन्छ । अर्थात म बिहान ६ बजे उठ्छु । उठ्ने बित्तिकै योग र ध्यान गर्छु । दिनको करिब २ घण्टा मेरो योग र ध्यानमा बित्ने गरेको छ । योग र ध्यान मेरो पहिलेदेखि नै चल्दै आएको छ । अहिले बाहिर दौडिने अवस्था छैन । त्यसैले मर्निङवाको सट्टा घरको भ¥याङमा तलमाथि हिँडेर मर्निङवाक पूरा गर्छु । कोरोनाको पहिलो लहरमै म कोरोना सङ्क्रमिण भएको हिसाबले मैले आफ्नो शरीरमा बढी ध्यान दिनुपर्छ । त्यस्तै गरिरहेको छु ।
योग, ध्यान र मर्निङवा सकिएपछि तातोपानीमा कागती राखेर खान्छु । त्यसपछि सामान्य फलफूल र केही समयपछि खाना खान्छु ।

खाना खाएपछि अति आवश्यक हिसाबले सामाजिक सञ्जाल चलाउँछु । सामाजिक सञ्जालमा बीभत्सखालका पोस्ट, भिडियो आउँछन् । त्यो हेर्दिनँ । मेरो आफ्नै लाइक पेज पनि छ । त्यसमा ४ लाख फलोअर्स छन् । आवश्यक पर्नेले केही माग्न र दिन यो पेज प्रयोग गर्न सक्नुहुनेछ भनेर भनेको छु ।

सामाजिक सञ्जालमा बीभत्सखालका, विभिन्न नकारात्मक प्रभाव पार्ने फोटो तथा भिडियो हेर्दिनँ । फोनबाट साथीहरुसँग कुराकानी गर्ने, अनलाइनबाट किताबहरु पढ्ने गर्छु । यस्तै यस्तैमा मेरा दिनहरु बितिरहेका छन् । साँझको ७ बजे खाना खाएर सुत्ने गर्छु ।

कसलाई पो उडाउने ?
अध्ययन भने अनलाइन र पुस्तक दुवै तरिकाले गर्ने गरेको छु । अनलाइनबाट पढ्ने पुस्तक यही भन्ने छैन । एक किसिमको किताब पढ्न सुरु ग¥यो । बाहिरी परिस्थितिले तानिहाल्छ । ‘जङ्गबहादुरको बेलायत यात्रा’ भन्ने एक पुस्तक पनि छ । त्यो पनि पढ्दैछु । यो निषेधाज्ञाको समय लेखनमा पनि सदुपयोग गर्ने प्रयाससमेत गरेको छु । मनस्थिति र बाहिरको परिस्थिति जोडिएर आउँदो रहेछ । यदि म स्वर्थी भएको भए बाहिरको कुरो छोड्दिऊँ भन्ने हुन्थ्यो । तर मलाई बाहिरको समाचारले भावनात्मक रूपमा असर पारिरहेको हुन्छ । त्यसैले पनि केही लेखौँ, तयार पारौँ भन्दा पनि नसकेर आधामा अड्किएको छ । मेरो काम व्यङ्ग्य भएकाले यो लेखनमा समय सदुपयोग गर्नुपर्ने ठानेको छु ।

अहिलेको सिचुएसनले हामीलाई हास्यव्यङ्ग्यका केही मसला त दिन्छ । यो अवस्थामा कुन विषयमा हास्ने भन्ने हुँदो रहेछ । अहिले मानिसलाई उत्प्रेरण जगाउने खालको हास्यव्यङ्ग्य तयार गर्दा ठीक हुन्छ । अहिलेको परिस्थितिमा व्यङ्ग्यात्मक तवरले खै कसलाई पो उडाउने ? अलिकति अप्ठ्यारो छ । मानिसको अहिले जुन मुड छ, त्यो मुडलाई रिफ्रेस चाहिएको छ । त्यस खालका सामग्री आवश्यक छ । त्यस्तो कार्यका लागि लाग्नुपर्छ, गर्छु भन्ने लागेको छ ।

गम्भीर र सचेत छु
पछिल्लो समय धेरै व्यक्तिमा कोरोना सङ्क्रमण देखिइरहेको छ । यो दोस्रो भेरियन्टले पहिले खोप लगाएका र पहिले बिरामी भएकालाई नछुने भन्ने छैन । त्यसैले कोरोनाको डर ममा पनि छ । मेरो विचारमा डर भनेको एउटा ऊर्जा पनि हो । डर भएन भने मानिस छाडा हुन्छ । म अहिले डराएको भन्दा पनि अलि बढी गम्भीर र सचेत भएको छु ।

यतिबेला सर्वसाधारको अवस्था निकै अप्ठ्यारो छ । दिनभर काम गरेर बिहान बेलुका हातमुख जोड्ने मजदुरका लागि अहिलेको समय निकै गाह्रो परेको छ । कोरोनाका कारणले उहाँहरुलाई घरमै बस्नुस् भन्न पनि म सक्दिनँ । काममा जानुस् भनेर कुन तर्कको आधारमा भन्ने । किनभने काम गर्ने अवस्था पनि छैन ।

को कतिखेर कस्तो समाचार बन्छौँ, कतिबेला सङ्क्रमित हुन्छौँ केही टुङ्गो छैन । त्यसैले केही समयसम्म हामीले आफैले आफैलाई बचाउनुपर्ने स्थिति देखिएको छ । किनभने अस्पतालमा अक्सिजन छैन, बेड केही पनि प्राप्त हुँदैन । सरकारका अङ्गसमेत चुपचाप छन् । अहिले आफूले आफूलाई बचाउनुबाहेक विकल्प छैन ।

अहिले सामाजिक सञ्जाल र बजारिया हल्लाको पछि लाग्यो भने युनिटी पावर घट्दो रहेछ । राम्रा कुराहरु सुन्ने, डाक्टरका सल्लाह मान्ने र विश्व स्वास्थ्य सङ्गठनका नियम फलो गर्ने र उनीहरुको विचार सुन्ने गरियो भने मोटिभेसन गराउँछ । बजार हल्ला र अनलाइन, सामाजिक सञ्जालका तर्कहीन, तथ्यहीन कुराहरुको पछि लाग्यौँ भने हामीलाई कमजोर बनाउँछ । यो आफूले आफूलाई अचाउने बेला हो । त्यही गर्न अनुरोध गर्छु ।

खिचातानीको अन्त्य आत्मबल
यो महामारीको समयमा सुरक्षा निकाय, स्वस्थ्यकर्मी लगायत केही राज्यका अङ्गहरुले मरेर काम गरिरहेका छन् । तर सरकारको केन्द्रमा रहेको मन्त्रिपरिषद्, सरकार सञ्चालन गरिरहेका पार्टीका नेताहरु आपसी खिचातानी गरिरहेका छन् । यसले जनताको इम्युनिटी पावर घटाउने काम गरिरहेको छ ।

हामी मिल्यौँ, हामी सम्पूर्ण पार्टीको, गुटको एक सूत्रीय एजेन्डा भनेकै कोभिडको नियन्त्रण हो भनेर अहिले वक्तव्य निकाल्ने हो भने त्यसले महामारीसँग जुधिरहेका मानिसका लागि आत्मविश्वास हाई गर्दछ भन्ने मलाई लाग्छ । दिनदिनै कसलेकसलाई लडाउने, को कहाँबाट मन्त्री हुने, सांसद किनबेच, कारबाही लगायतका समाचारले कोभिडको महामारीले आक्रान्त जनतालाई अझै निराश बनाउने गरेको छ । यसले उनीहरुलगायत हामी सबैको आत्मबल कमजोर बनाएको छ ।

सबैलाई मेरो सुझाव के छ भने बेलैमा सर्वसाधारणको यो आक्रोश, विद्रोह फैलनु अगाडि नै नेतृत्वले बेलैमा बुझेर आजको आजै, भोलिको भोलि नै हामीले केही समयका लागि खिचातानीको युद्ध बिराम गरौँ । सबै एकताबद्ध भएर कोभिड नियन्त्रणमा लागौँ भन्ने सन्देश दिऔँ । यो सन्देशले जनतामा आत्मविश्वास बलियो हुन्छ । नत्र भने भोलिका दिनमा उहाँहरुलाई अप्ठ्यारो पर्छ ।

एक पटक पढ्नुहोस