कोरोना जितेलगत्तै सडकमा, भोका जनावरदेखि मानिसको सेवामा

२०७६ चैतमा लकडाउन भएसँगै काठमाडौँ ठप्प भयो । होटल–रेस्टुरेन्ट बन्द भए । कोरोनाको त्रास चौतर्फी थियो । सडकका जनावर भोकले मर्नुपर्ने अवस्थामा पुगे । काठमाडौँ कमलपोखरीका सौरभ रिमालको मनले घरभित्रै थुनिएर बस्न मानेन, पशुपन्छीलाई खाना खुवाउन उनी गाडी लिएर बाहिर निस्किए । त्यतिबेला कतिपयले ‘घरबाहिर निस्कँदा रोग सर्छ’, ‘नजिक जाँदा जनावरले टोक्छन्’ भन्दै निरुत्साहित गर्न नखोजेका होइनन् । तर कसैले भनेको उनले टेरेनन् । आफ्नै खर्चमा खानेकुरा किन्दै सडकका भोका जनावर र मानिसको सेवा लागे ।

जनावरसँगको त्यो प्रेम बाल्यकालदेखिकै हो । वयस्क भएपछि उनले जापानिज स्पिट्स् प्रजातिको कुकुर पनि पालेका थिए । उक्त कुकुर उनको एक दशकयताको साथी थियो । ‘म जता गयो, त्यतै जानुपर्ने, जे खायो, त्यही खानुपर्ने,’ सौरभले भने, ‘लकडाउन सुरु हुँदा आफ्नो कुकुरलाई त खुवाइयो, सडकका कुकुर र गाईबाच्छाले के खाए होलान् भन्ने लाग्थ्यो । यही अवधिमा एक दिन मेरो कुकुर बित्यो । उमेर पुगेर बितेको भन्ने थाहा हुँदाहुँदै पनि पीडा हुने रहेछ । त्यो एक्लोपन, रिक्तता र पीडाले पशुपन्छीको सेवामा अझै सक्रिय हुन प्रेरित ग¥यो ।’

पशुपन्छी मात्रै नभएर उनले मानिसहरुलाई पनि राहत पुर्‍याउँछन् ।

लकडाउनको खाली समय समाजसेवामा लाग्ने र जनजीवन सामान्यमा फर्किएपछि आफ्नो पुरानै दैनिकीमा फर्कने योजना थियो । तर सहायताको हात जति फैलायो उति नै धेरै समस्या पहिचान हुन थाल्यो र साथ दिनेहरु पनि भेटिए । ‘मानिस र जनावरसँग यस्तो भावनात्मक सम्बन्ध बन्यो कि भाग्नै सकिएन । समस्या धेरै भएकाले हामीमध्ये कोही एकजनाले मात्रै समाधान खोज्नै सक्दैन । समाजका हरेक व्यक्तिले आफ्नो तर्फबाट सानो सानो सहयोग गर्ने हो भने केही हुनसक्छ,’ उनले भने ।

अहिले डल्ले रेस्टुरेन्टका आलोक योञ्जनसहित स्वयंसेवकहरूको टोली नै लिएर उनी खाद्यान्न वितरणमा निस्किने गरेका छन् । ‘कोइराला फाउन्डेसन’ स्थापना गरेर उनीहरुले यस कार्यलाई संस्थागत रूपमै अघि बढाउने प्रयास थालेका छन् । यो टोलीले अहिले ठूलो सङ्ख्यामा गाईबाच्छा, कुकुर, बाँदर र परेवालाई खाद्यान्नको प्रबन्ध गरिरहेको छ । पहिले र अहिलेको लकडाउनसमेत जोड्दा कुल ५ हजार मानिसलाई राहत बाँडिसकेका छन् । ‘आम रूपमा कुरा गर्दा हामी पैसा र आफ्नो करियर सोचेर अघि बढ्छौँ । तर यदि हामी सबैले दैनिक रूपमा ५ वा १० मिनेट मात्रै पनि राम्रो नियतले अरूका लागि सोचिदियौँ भने हाम्रा समाजका धेरै समस्या न्यूनीकरण हुनसक्छन्,’ काठमाडौँ कमलपोखरीका रिमालले भने ।

भृकुटीमण्डप, आरएनएसी, गोंगबु, स्वयम्भूलगायत काठमाडौँका विविध स्थानमा उनीहरुले जनावर र मानिसहरुलाई भोजन गराउँदै आएका छन् । यी क्षेत्रमा उनको गाडी रोकिनासाथ कुकुर तथा बाँदरहरु पछ्याउन आइसकेका हुन्छन् । ‘लकडाउन नहुँदा फोहोर खाएर जीवन चलाउने गाईबाच्छाले अहिले त्यो पनि नपाउने अवस्था भयो । काठमाडौँमा हरियाली छैन, बाच्छाहरु भित्तामा जिब्रो चाटेर बसेको मैले देखेको छु,’ उनले भने, ‘आखिर हाम्रै भान्साबाट निस्कने बढी भएका खानेकुरा, हामीले दिने अन्नपात वा फोहोर खाएर यी जनावरले गुजारा टार्ने हुन् । तर अहिले लकडाउनले त्यसको पनि अभाव भयो ।’

उनले थपे, ‘मानिसका सवालमा गरिखाने वर्गलाई लकडाउनले ठूलो मार पारेको छ । गत लकडाउनमा एकजना भरियाकर्म गर्ने दाइ नाम्लोसँगै कहिल्यै नउठ्नेगरी ढलेको फोटो देख्नुभयो होला । मनै रुवाउने दर्दनाक कथा र दयनीय समयको साक्षी हामी बनिरहेका छौँ । टुलुटुलु हेरेरै मात्र बस्ने वा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भन्ने हो,’ लकडाउनका कारण बेरोजगारी बढ्दा भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेकामध्ये केहीलाई सौरभले सडक वरपर भेट्छन्, कतिपयले अन्य सम्पर्क व्यक्तिमार्फत त कोहीले आफैँ फोन गरेर राहत माग्ने गरेका छन् ।

‘हाम्रो टोलीले १५ दिनका लागि पुग्ने रासन प्याकेजमा दिने गरेका छौँ । तर १५ दिन नपुग्दै फेरि फोन आइपुग्छ । यो एउटा विश्वास र माया पनि हो । बाध्यता पनि हो,’ उनले भने ।

अस्पतालबाट निस्कनासाथ समाजसेवामा

यसपटक लकडाउन हुनुभन्दा दुई दिनअघि सौरभ आफैँ कोरोना सङ्क्रमित भए र अस्पताल भर्ना भए । १६ दिनपछि कोरोनामुक्त हुनासाथ फेरि सोझै गाडी लिएर पशुपन्छीलाई खाना खुवाउन हिँडे । ‘अब यस कार्यमा धेरै लगाव जोडिइसक्यो । हामीलाई धेरै नेपालीले विश्वास गरेर सहयोगको हात बढाउनु भएको छ । उहाँहरुको प्रोत्साहनलाई ध्यानमा राखेर भविष्यमा पनि अब यस कर्मलाई जारी राख्ने योजना बनाइसकेका छौँ,’ रिमालले भने, ‘महामारीको त्रास र लकडाउनले सबैलाई कठिन अवस्थामा ल्याइसकेको छ । मान्छेको जिन्दगी के नै रहेछ ! भन्ने भइसक्यो । यस्तोमा घरमै बसेर गर्न सकिने राम्रा काम धेरै छन् । बढी भएको खाना छुट्याएर घरबाहिर राखिदियो भनेर पनि कुकुरहरु वा चराले आएर खान्छन् । बढी भएको तरकारी, अन्नपात पनि त्यसरी नै बाहिर राखिदिन सक्नुहुन्छ । यो समय सबैलाई सहयोगको खाँचो छ ।’

३२ वर्षीय रिमाल डिस्कभर सिटी प्राइभेट लिमिटेड नामक टेक कम्पनीका संस्थापकसमेत हुन् । त्यहाँ ५० जनाभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् ।

एक पटक पढ्नुहोस