प्रियंकाको ‘बेबी बम्प’ले चुलिएको सामाजिक बहस : हामी कहाँ छौं ?

‘पितृसत्ताले निर्माण गरेको घेरा तोड्न खोज्दाको प्रतिक्रिया’

यतिबेला सामाजिक सञ्जालमा दुई किसिमका तस्बिरले चर्चा बटुलेको छ । एउटा ‘बेबी बम्प’ वाली आमा र अर्को बिरामी सन्तानको उपचारका लागि खर्च जुटाउन काखमा भाले र पिठ्यूँमा बिरामी सन्तान बोकेर हिँडेकी आमा ।

कलाकार प्रियंका कार्कीले आफ्नो गर्भावस्थालाई उत्सवका रुपमा मनाउँदै सन्तान प्राप्ति जीवनकै सबैभन्दा सुन्दर अवस्थाको रुपमा चित्रण गर्दै गर्दा विभिन्न टीकाटिप्पणीको सामना गर्नुपरेको छ । तर, उनले आफू नकारात्मकताको पछि नलाग्ने बताउँदै आइरहेकी छिन् ।

प्रियंकाले ‘वी आर प्रेग्नेन्ट’ भन्दै आफू गर्भवती भएको समाचार आफ्ना शुभचिन्तकहरुमा बाँडिन् । गर्भावस्थाको हरेक क्षणलाई उनले विभिन्न भिडियो ब्लग बनाउँदै सार्वजनिक गर्दै आइन् । उनले महिला र गर्भावस्थाप्रति समाजको दृष्टिकोण बदल्नकै लागि आफूले यो अवस्थालाई खुशियालीको रुपमा साटेको बताएकी छिन् ।

हरेक दिन समाजिक सञ्जालमा आफ्ना भावना साट्ने नायिका कार्की नकारात्मक टीकाटिप्पणीको पछि नलाग्ने र सकारात्मक टिप्पणी आफ्ना लागि सधैं उर्जाको स्रोत बन्ने बताउँछिन् । इन्स्टाग्राम र यूट्युबमा उनका लाखौं फ्यान, फलोअर्स छन् ।

प्रियंका एक मोडल, कलाकार, अझ भनौं, ग्ल्यामर क्षेत्रमा क्रियाशील महिला । उनका तस्बिर, अभिनय, वा उनले खेलेका विज्ञापन मनापराउने र हेर्नेहरु धेरै छन् । तर, प्रियंकालाई त्यसरी हेर्नेहरु नै आज उनको गर्भावस्थाको तस्बिरलाई उत्ताउलो र सामाजिक रीति विपरीतको संंज्ञा दिइरहेका छन् । तथापि कतिपयले भने प्रियंकालाई साहसी महिलाका रुपमा हेरेका छन् र धन्यवाद दिइरहेका छन् । यसरी प्रियंकाको गर्भावस्ताको तस्बिरलाई लिएर सामाजिक सञ्जाल दुई कित्तामा बाँडिएको छ ।

केही दिन अगाडि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो ट्विटरमा प्रियंकाको बेबी बम्पबारे सामाजिक सञ्जालमा फैलिएको नकारात्मक टिप्पणीमाथि आफ्नो भनाइ राखे । उनले ‘यति गर्न यो–यो खानैपर्छ’ शीर्षकमा महिलालाई सन्तान उत्पादनका कारखाना नभई आफ्नै सन्तानका सृष्टिका श्रोतको रुपमा व्याख्या गरे ।

डा. बाबुरामले भनेका छन्, ‘यति गर्न यो यो खानैपर्छ : १. महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन्, आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक÷उन्नत चेतना (गुगल सर्च गरौं) । २. युगौदेखिको पितृसत्तात्मक र स्त्रीद्वेषी÷रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस । ३. ट्विटेलाई इँटको सट्टा ढुंगा हान्ने आत्मवल !’

बाबुरामको यो ट्विटप्रति नकारात्मक टिप्पणीको बाढी नै चल्यो । धेरैले छाडापनलाई मलजल गर्न सघाएको भन्दै आलोचना गरे । पूर्वमाओवादी नेतासमेत रहेका डा. बाबुरामको ट्विटलाई रिट्विट गर्दै माओवादी कार्यकर्तासमेत रहेकी आस्था केसीले ‘आफ्नै छोरीलाई यति सुन्दर कार्य किन नगराउनुभएको ?’ भनी डा. भट्टराईमाथि प्रश्न तेस्र्याइन् ।

आस्थाले लेखिन्, ‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनुभएको ? खोई देखिएन त ? कस्ता–कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ, टोइट ! कस्तोखालको कमेन्ट हो यो ? मानिस सामाजिक प्राणी हैन र ? कि केही मानिसलाई पशुलाई जस्तो जे गरे पनि छुट र स्वतन्त्रता हुने हो ?’

आस्थाको यस ट्विटमा पनि बाबुराममाथि खनिएका छन् ट्विटर प्रयोगकर्ता । आस्था केसीले ट्विट गरे लगत्तै डा. बाबुराम भट्टराईकी छोरी तथा विद्यार्थी नेतृ मानुसी यमि भट्टराईले पनि आफ्नो बेबी बम्पसहितको फोटो पोस्ट गर्दै आस्थालाई जवाफ दिइन् ।

मानुषीले एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो भन्दै आस्थालाई प्रश्न गरेकी छिन् । उनले भनेकी छिन्, ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू (कामरेडहरु) सारै रूढीवादी ! मेरो सुन्दर कार्य हेर्नु अब ।’

त्यसो त डा. भट्टराईले बिरामी छोराको उपचारका लागि खर्च जुटाउन पिठ्युँमा बिरामी छोरो र काखमा कुखुराको भाले च्यापेर हिँडेकी एक आमाको तस्बिर पोष्ट गर्दै यसमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनी एक राजनीतिज्ञसमेत भएकाले पनि होला, यो पोष्टमा पनि खुबै नकारात्मक टिप्पणीहरु आएका छन् ।

डा. भट्टराईले भनेका छन्, ‘पिठ्युँुमा बिरामी छोरो र खर्च जुटाउन काखीमा कुखुराको भाले च्यापेर उपचारको खोजीमा हिँडिरहेकी यी निरीह, तर ममतामयी आमाको फोटो प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र योजना आयोगको कार्यालयमा टाँगेर देशको स्वास्थ्य नीति तथा योजना र कार्यक्रम बनाए देशमा केही सुधार हुन्थ्यो कि ?’

यस तस्बिरलाई सामाजिक सञ्जालमा धेरैले सेयर गरेर सरकारको ध्यनाकर्षण गराएका छन् । यस तस्विरको चर्चा यतिबेला यस कारणले पनि छ कि केही दिन अघिमात्रै सरकारले भारतमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएपछि सरकार गरिव जनताका लागि नभई नेताहरुका लागि मात्रै भएको भन्दै आलोचना भएको छ । बिरामी छोराको उपचारका लागि खर्च जुटाउन कुखुराको भाले बेच्न हिँडेकी ती आमाको अवस्थाले गरिव जनतामा स्वास्थ्य सेवाको पहुँच कहिले भन्ने प्रश्न यतिवेला सर्वत्र देखिएको छ ।

प्रियंकाको चर्चा र यसको मनोसामाजिक प्रभाव

प्रियंका र उनका श्रीमान आयुष्मान देशराजले आफूहरु आमाबाबु बन्न लागेको भन्दै सुरुदेखि नै खुशी साटासाट गर्दै आइरहेका छन् । गर्भावस्थाको ठेकदार महिलालाई मात्र ठान्ने समाजका लागि प्रियंका र आयुष्मान उदाहरण बनेका छन् । जसले गर्भावस्थालाई बराबरी हिस्साको रुपमा व्याख्या गर्दै आएका छन् ।

हरेक मानिसको जीवन जिउने आ–आफ्नै शैली हुन्छ । गर्भावस्थामा खुशी रहन सक्नाले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुने चिकित्सकहरु बताउँछन् । फेरि अहिले मानिसहरुमा नकारात्मकता यति हावी हुँदै गइरहेको छ कि खुसीको खोजीका लागि मानिसहरु भौंतारिरहेको पाइन्छ । तर, यहाँ कोही खुसी हुन खोज्दा चाहिँ यति धेरै आपत्ति किन भइरहेको छ ? अनुत्तरित छ प्रश्न ।

मानसिक तथा मनोसामाजिक स्वास्थ्यको क्षेत्रमा कार्यरत मनोविमर्शकर्ता कञ्चन रावत प्रियंका र मानुषीले बेबी बम्प देखाउनु वा लुकाउनु उनीहरुको प्रजनन अधिकारभित्र पर्ने बताउँछिन् । उनी महिलाको प्रजनन स्वास्थ्यबारे चासो नराख्दा आमा र बच्चाको अकालमा ज्यान जाने गरेका घटना हरेक दिन देखेका र भोगेका हामीले कसैले गर्भावस्थालाई उत्सवको रुपमा मनाउँदै विशेष महत्व दिन्छ भने त्यसमा अनावश्यक टीका टिप्पणी गर्नु उचित नहुने बताउँछिन् ।

स्थास्थ्यकर्मीहरुका अनुसार गर्भावस्था भनेको निकै संवेदनशील अवस्था हो । यो अवस्थामा महिलाको शरीरमा खुसीले सकारात्मक हर्मोनको सञ्चार गराउँछ भने दुःखी हुँदा नकारात्मक हर्मोनको सञ्चार हुन्छ । त्यसैले यो अवस्थालाई स्वास्थ्यकर बनाउन स्वयं महिलाको मात्र भूमिकाले पुग्दैन, परिवार अनि समाजले नै सकारात्मक भूमिका निभाउन सक्नुपर्छ । अनि मात्र स्वस्थ्य बच्चाको जन्म हुन्छ र त्यसबाट स्वास्थ्य परिवार अनि स्वस्थ्य समाजको निर्माणमा सहयोग पुग्छ ।

रावत भन्छिन्, ‘अझै पनि समाजका शिक्षित भनिएका महिलाहरु नै आफ्ना यौनाङ्गहरुबारे अनभिज्ञता दर्शाउँछन्, अझभन्दा आफ्नै शरीरसँग डराउँछन् । समाजले कोरिदिएको एउटा घेराबाट महिलाहरु अझै बाहिर निस्किन सकिरहेका छैनन् । अझै पनि महिलाका अंगलाई पापको संज्ञा दिइन्छ । त्यही डरले थिचिएर पनि महिलाले यस्ता कुराहरुलाई सहर्ष स्वीकार गर्न नसकेका हुन् ।’

उनका अुनसार, मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा मानिसको शरीरलाई (महिला शरीरलाई) स्वीकार गर्न नसक्ने अर्थात सकारात्मक दृष्टिले हेर्न नसक्ने व्यक्ति आफंै कुनै न कुनै ट्रमा (नराम्रो घटना)बाट गुज्रिएका हुन्छन् । त्यस्ता व्यक्तिहरुले अरुको शरीरलाई पनि स्वीकार गर्न सक्दैनन् ।

मनोविमर्शकर्ता रावत अहिलेको बहस समाजमा पितृसत्ताले बनाएको भ्रमको जालोलाई तोड्न खोज्दाको प्रतिक्रिया भएको बताउँछिन् । आफ्नो शरीरमाथि आफ्नो मात्र अधिकार छ भन्ने हामीले बुझ्न नसकेको उनी बताउँछिन् । उनी अगाडि थप्छिन्, ‘जब प्रियंकाले शरीर देखाइन् भनेर टीका टिप्पणी भइरहेको छ, त्यसलाई हामीले गलत नजरले मात्र किन हेरिरहेका छौं ? वास्तवमा त्यो उनको शरीर होइन, उनको खुसी प्रस्फुटन भएको हो भन्ने बुझ्न जरुरी छ । प्रियंका वा मानुसीको बेबी बम्प हाइलाइट भए, तर उनीहरुभित्रको खुसीलाई हामीले नै गौण बनाइदियौं ।’

रावत थप्छिन्, ‘हामी प्रियंकाको कपडा, शरीर, अनुहार, छाला, उनको तिघ्रा, पुठ्ठा, पेट, छात्ती मात्र हेर्यौं । तर, उनको पेटभित्र हुर्किरहेको बच्चा हेरेनौं । प्रियंकाले देखाएको त उनको पेटमा हुर्किँदै गरेको बच्चा हो नि । खै हामीले बुझ्न सकेको ? हामी हाम्रो शरीरलाई किन यति असहजरुपमा हेर्छौं ? जसरी अनुहार, हात खुट्टालाई हेर्छाैं, त्यसैगरी हाम्रा अन्य अंगहरुलाई पनि त्यही नजरले किन हेर्न सक्दैनौं ? यदि हामीले शरीरका हरेक अंगलाई समान आँखाले हेर्न सक्ने हो भने समाजमा कुनै पनि हिंसाका घटना नै हुने थिएनन् । शरीरलाई छाडापनको संज्ञा दिनु भनेको आफ्नै नजरको दोष हो ।’

छोरा हो वा छोरी निर्धारण नगरी आफ्नो सन्तान आउँदैछ भन्दै खुशियाली मनाउनु उसको व्यक्तिगत स्वतन्त्रताभित्र पर्ने मनोविमर्शकर्ता रावत बताउँछिन् । गर्भमा छोरी भएकै आधारमा खेप्नुपर्ने सामाजिक र पारिवारिक प्रताडनाबाट उन्मुक्ति खोज्दै गरेका आमाहरुलाई वास्तवमै प्रियंकाको उत्सवले हौसला मिलेको हुनुपर्छ ।

महिलावादी दृष्टिले हेर्ने हो भने बच्चा जन्माउने कुनै पनि महिलाको नैसर्गिक अधिकार हो । पब्लिक फिगर प्रियंकालाई समाजमा थुप्रै चुनौती छन् त्यसको सामना गर्न सके समाजमा सकारात्मक सन्देश प्रवाह हुने पक्का छ । कुनै वर्ग छ, जो महिलाको शरीरलाई भिन्न दृष्टिकोणबाट हेर्छ । हो, त्यही दृष्टिकोण परिवर्तनका लागि यी कार्यले सहयोग गर्न सक्छ । अहिलेको जुनखालको टीकाटिप्पणी भइरहेको छ, यसलाई प्रियंकाले ‘रियाक्टिभ’ नभई थेग्न सक्नुपर्छ एउटी आमा र बच्चाका लागि ।

एक पटक पढ्नुहोस