काभ्रे । काभ्रेमा रहेको नाइटिङ्गेल एकेडेमीमा प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिता आजदेखि शुरु भएको छ । बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको नाइटिङ्गेल एकेडेमीको आयोजना र बनेपा प्याब्सनको सहकार्यमा दुइदिन चल्ने बनेपा नगरस्तरीय प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताको प्याब्सन काभ्रेका अध्यक्ष श्यामकुमार भुजेलले रेफ्रीलाई बल दिएर खेल उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्धाटन गदै अध्यक्ष भुजेलले खेलमा जस्तै स्वच्छ प्रतिस्पर्धाबाट सन्तुलित र सद्भावयुक्त समाज निर्माण हुने भएकोले खेलको अनुशासन अन्यत्र पनि सिकाइ रहेको उल्लेख गरे । उनले विद्यार्थी खेलाडीहरुलाई आत्मविश्वासका साथ खेलको अनुशासनमा रहेर खेल खेल्न अनुरोध गरेका थिए । फुटसल एउटा खेल मात्र नभइ विद्यार्थीको अनुशासन बृद्धि गर्ने माध्ययम भएकाले यसले उनीहरुको शारिरीक तथा मानसिक क्षमताको विकास गर्न सहयोग गर्ने समेत उनको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले खेल भनेको भविष्यको लगानी भएको र आजको विद्यार्थी भोलिको असल खेलाडी पनि भएको बताउँदैे पढाईसँगै खेललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका थिए । उद्घाटन समारोहमा उपस्थित सबैलाई विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले स्वागत गर्दै विद्यार्थीका लागि फुटसल निकै महत्वपूर्ण रहेको बताईन् ।

कार्यक्रममा विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितले असल अनुशासनमा रहेर खेल खेल्न विद्यार्थीहरुलाई अनुरोध गर्दै खेलमा हार जित जे भए पनि सहभागिता ठूलो कुरा भएको बताए । उनले एक पटक हार्दैमा निराश नबन्न आग्रह गर्दै नाइटिङ्गेल एकेडेमीमा हुने जुनसुकै खेल कार्यक्रममा बनेपा नगरका जो सुकै विद्यार्थी निःशुल्क सहभागि हुने गरि आफूले तयारी थालेको जानकारी दिए । प्रतियोगिता शुक्रबार समापन हुनेछ ।

प्रतियोगितामा नगरका १७ विद्यालयका १८ टिम सहभागी रहेको कार्यक्रम संयोजक विक्रम प्रजापतिले जानकारी दिए । खेलमा प्रथम हुने टिमलाई २० हजार, दोस्रो हुने १०हजार र तेस्रो हुनेलाई ५ हजार नगद र विभिन्न विदामा पहिलो हुनेलाई समेत पुरस्कार राशि रहेको विद्यालयले जनाएको छ ।
