काठमाडौँ — पीडित युवतीलाई उल्टो तीन वर्ष कैद सजाय सुनाएका न्यायाधीशलाई कारबाही गर्ने तयारी रहेको एक स्रोतले बताएको छ । उनलाई प्रधानन्यायाधीश दीपककुमार कार्कीले कारबाही गर्ने तयारी गरिरहेको बुझिएको छ । पीडित महिलालाई साढे तीन वर्ष कैद सजायको फैसला गर्ने अछामका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा हालै काजमा सरुवा गरेका छन् । दबाब र प्रभावमा परेर बयान फेर्न बाध्य पारिएकी महिलालाई सजाय गर्ने तर अभियुक्तलाई सफाइ दिने विवादास्पद फैसला गरेका जोशीमाथि न्याय परिषद्ले पनि छानबिन गरिरहेको छ । प्रारम्भिक छानबिनबाट जोशीलाई न्यायिक विचलन नदेखिएको तर कार्यक्षमताको अभाव हुन सक्ने पाइएको न्याय परिषद्का एक सदस्यले बताए । चैत १३ मा हुँदै नभएको कानुनी व्यवस्थालाई उद्धृत गर्दै पीडित महिलालाई प्रतिरक्षाको मौकासमेत नदिई कैद सजाय हुने फैसला गरेको थियो । त्यसविरुद्ध दिपायल उच्च अदालतमा पुनरावेदनको निवेदन दिने तयारी गरेकी छन् । सरकारी वकिलले पनि अभियुक्तलाई सफाइ दिने न्यायाधीश जोशीको फैसलाविरुद्ध पुनरावेदन गर्ने भएको छ ।न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले न्यायाधीश जोशीलाई प्रधानन्यायाधीशले काज सरुवा गरेपछि अछाममा अर्को न्यायधीश पठाउने तयारी भइरहेको बताए । अछाममा परिषद्ले उपलब्ध गराएका जिल्ला न्यायाधीशको नाममध्येबाट निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेर खटाउने छ ।यसअघि कामु प्रधानन्यायधीश कार्कीले काठमाडौं जिल्ला अदालतका न्यायधीशद्वय अम्बिका निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्चमा काज सरुवा गरेर परिषद्मार्फत अनुसन्धान गरिरहेको छ ।

बलात्कृत युवतीलाई उल्टो तीन वर्ष कैद सजाय तोक्ने न्यायाधीश लाई कारबाहीकाे तयारी
एक पटक पढ्नुहोस