बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा बनेपा नगरपालिकाकामा प्रेम वैदारले मेयर पदका लागि उम्मेदवारी दिने भएका छन् । शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका वैदारले अगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा शाही युवा शक्ति नेपालको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिने घोषण गरेका छन् ।

उनले नेपालका राजनीतिक दलहरुले जनतालाई भेडा बनाउने गरेको आरोप लगाउँदै अब जनता सचेत हुनुपर्ने भन्दै स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन अपिल समेत गरेका छन् । नेपाली जनताले निर्वाचन नचाहेको भन्दै जनताले गणतान्त्रिक व्यवस्थाको अन्त्य र राजाको पुनर्बहाली चाहेको दाबी गरे । ‘हामी जुनसुकै बाटोबाट भएपनि राजसंस्था फर्काउन चाहन्छौं, त्यसकै लागि हामी चुनावमा सहभागी हुँदैछौं’–वैदारले भने ।

यस्तै, उनले जनताको भावना बुझेर राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा बोकेर आफूहरु स्थानीय तहको निर्वाचनमा होमिएको सुनाए । स्थानीय तहको निर्वाचनलाई गाउँ–गाउँबाट राजसंस्था फर्काउने अवसरको रुपमा लिई शाही युवा शक्ति नेपालका स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन उनले आग्रह गरे ।
उनले राजसंस्था कुनै पार्टीले नभएर नेपाली जनताले फर्काउने भन्दै कुनै पार्टीको झोला बोकेर हिँड्नुभन्दा देशको झण्डा बोकेर सडकमा आउन आम जनतालाई आग्रह गरे ।

आफुले बनेपा नगरमा मेयर उम्मेदारी दिन आवश्यक ठानेर स्वतन्त्र उम्मेदवारी दिएको बताए । यति बेला पार्टी भन्दा पनि नगरलाई व्यवस्थित र स्वच्छ नगर बनाउनका लागि पनि आफुले मेयरका लागि उम्मेदवारी दिएको बताए । अहिलेको स्थानिय निर्वाचनमा बनेपाको १४ वटै वडामा शाही युवा शक्ति नेपालको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी भएको वैदारले जानकारी दिए ।
