After header

लघु कथा: शंकाको अड्डा !

लघुकथा/ शंकाको अड्डा
   -गोपाल प्रसाद थपलिया

“घरमूलीले आफ्नो घरमा विवेकपूर्ण काम गरेन भने त्यो घर छिन्नभिन्न हुँदोरहेछ !झगडा बाहेक केही नहुने रहेछ ! छिमेकीले हेप्दा रहेछन् ! परिवारको इज्जत पनि नहुँदो रहेछ ! हेर्नु त !रमेश बाजेको तेत्रो जमेको घरको हालत !”देवराजले भक्तिलाई भने।
“हो नि त ! रमेश बाजेको त्यति मिलेको घर परिवार कसरी छिन्न भिन्न भयो ?!त्यहि घर परिवार मेलमिलाप हुँदा कत्रो शक्ति कत्रो इज्जत ! बयान गरी साध्यै हुँदैनथ्यो ! अहिले सबैले हेपेर धुनधान छ !त्यो घरको इज्जत, मान र प्रतिष्ठाका लागि मरिनेट्ने इमान्दार परिवारका सदस्यहरू सबै हेपिएका छन् ! रमेश बाजेको चाकरी गरी आफ्नो स्वार्थ पूर्ती गर्नेहरूकै मात्र कुरा सुन्छन रमेश बाजे ! अनि रमेश बाजे आफै पनि अहंकारी र घमण्डी छन् ! यस्ता मान्छेको विवेकले काम गर्दैन भन्छन् !” भक्तिले भने ।
“गलतै काम भए पनि उनले भने पछि हुनै पर्ने ! भएन भने परिवारका इमान्दार सदस्यहरूलाई गाँउका माझै चोतारीमा गएर मनपरी गाली गर्छन ! बच्चाहरूलाई चक्लेट बाँड्न्छन !कसै कसैलाई त उनीहरूले भने जति रकम पनि दिन्छन ! रमेश बाजेले जति अरूलाई गाली गर्र्छन,त्त्यतिनै चर्को ताली ती केटाकेटीहरू पनि पड्काउँछन् ! चर्को ताली आए पछि रमेश बाजे झन् उफ्री उफ्री अरूलाई गाली गर्छन् ! यति मात्रै होर ! ती केटाकेटीहरू त गाउँ भरी डुल्दै – रमेश बाजे जिन्दाबाद ! जिन्दाबाद !! भनेर नारा लगाउँदै हिड्छन् ! रमेश बाजे पनि मख्ख पर्छन!आफ्ना परिवारका इमान्दार सदस्यहरूले यसो नगर्न बारम्बार आग्रह गर्दा पनि मानेन्! बरू उनीहरूलाई घरबाट निस्कन बाध्य पारे ! तेत्रो शक्तिशाली घर तहसनहस भयो ! छर छरछिमेकीहरूले हेप्न चेप्न सुरू गरेका छन् ! कुनै इज्जत गर्दैनन् ! अहिले त पहिला उनलाई साथ दिने काइला,ढाइला र ठूला कान्छा छोराहरूले पनि बुढालाई वास्ता गर्न छोडे रे ! पहिला तेत्रो सान दिएर हिड्ने रमेश बाजे ! अहिले त एक्लै धुमधुम्ती कोठामा बस्छन् !” देवराजले भने ।
“अझै पनि घरको तहसनहस् आफ्नै कारणले भएको हो भनी स्वीकार गर्न गाह्रो मान्छन् ! गल्ति सुधार्न तयार छैनन् रे ! अझै पनि अरूलाई दोष लगाउँछन् रे !” भक्तिले भने ।
“अझै पनि चेत खुलेन बुढाको !? के गर्नु ! अपराधीको मन दम्भ र शंकाको अड्डा !” देवराज भने ।

– २०७९ साल जेठ ९ गते मंगलबार साँझ ५. २० बजे, उपचार क़क्षबाट

एक पटक पढ्नुहोस