After header

युवतीलाई यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद

सुर्खेत/  जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई ७ वर्ष कैद र दुइ लाख जरिवान तोकेको छ । राउटे समुदायकी युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सुर्खेत जिल्ला अदालतले दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।

गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात÷सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो । उनीहरूले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । त्यस्तै होटल सञ्चालक मनबहादुर पुनलाई पनि ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ । उनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए ।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो । गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवती माथि यौन हिंसा भएको थियो ।

एक पटक पढ्नुहोस