कथा : कालो कोट

  • भानु बोखिम

 

उनी हाटबजारको भीडमा बदाम बेच्दै थिइन् ।

ऊचाहिँ मूलगेटमा पहरा दिइरहेको थियो । राइफल बायाँ कुममा अड्याएर झुन्ड्याएको थियो । दायाँ हातको औँलाले नाल र बायाँ हातको औँलामा ट्रिगर कैद गरेको थियो । ऊ प्रवेशद्वारको धुलाम्मे भुइँमा बुटको निसानी छोड्दै र मेट्दै यताउता गरिरहेको थियो । आँखा भने उही बदाम बेच्ने किशोरीमै ठोक्किएका थिए ।

उनी टुक्रुक्क बसेकी थिइन् । उनी बसेको छेवैबाट सानो बाटो चौरको दक्षिणी भागतिर फैलिएको थियो । अगाडि फुकेको चौरको डिलमा चिलाउने र उत्तिसका रुखहरु थिए । बीचबीचमा पातला बाँसका टहराहरु । हरेक शनिबार हाट लाग्ने ठाउँ थियो यो । हाटको दिन चौर गुलजार हुन्थ्यो । अनेकन् अनुहार आउँथे, जान्थे । यही भीडमा बदाम बेच्ने किशोरी खिइँदै गइरहेको हात्तीछाप चप्पल र कुर्ता–सुरुवालमा सजिएकी थिइन्  ।

पक्कै गरिब परिवारकी केटी हुनुपर्छ, गेटबाट नियाल्दै नवीनले सोच्यो ।

ऊ पनि गरिबीकै कारण सेनामा भर्ती भएको थियो १९ वर्षको उमेरमा । विद्रोहीको बिगबिगीमा । धेरैले सेनाको जागिर खाने आँट गर्दैनथे । तर, सेनाको जागिर उसका लागि एक विकल्प थियो ।

“सायद, यो केटी पनि मजस्तै गरिब हुनुपर्छ,” नवीनले  आफ्नो गरिबीसँग दाँजेर हेर्यो किशोरीलाई ।

ड्युटी सकेपछि बदाम किन्ने बहानामा उसले किशोरीसँग बोल्ने सोच बनायो । बायाँ  हात उठाएर घडी हेर्यो । सात बजेको छ । उसले अझै एक घन्टासम्म पहरा दिनु छ । फेरि किशोरीतिर नियाल्छ । मान्छेहरु बदाम किनिरहेका छन् । बोराको आयतन घट्दै गएको छ ।

साथी आइपुग्यो कम्ब्याट ड्रेसमाथि बन्दुक भिरेर । प्रवेशद्वारमा साथीले पोजिसन लिएपछि ऊ कोठातिर हुत्तियो । बाटोमा गाला सुमसुम्यायो । कोठा पुगेपछि खस्रा गालामा ब्लेड कुदाएर चिल्लो बनायो । कपडा बदलेर सधैँझैं क्यान्टिनतिर लागेन, अघिकै बाटो फर्कियो ।

मूलगेटमा पुगेर चौरतिर नियाल्दा उदासियो । बदाम बेच्ने केटी त्यहाँबाट हिँडिसकेकी थिइन् । भीडतिर हेर्यो । अनेकन् अनुहार देख्यो । तर, बदाम बेच्ने केटी देखेन । अघिको दृश्य सम्झँदै फर्कियो । त्यो केटीको उदास मुहार र पुराना पहिरन सम्झेर एक साता बितायो । ड्युटी नपरेकाले शनिबार बेलैमा आएर हाट–बजार नियाल्यो । तिनी पहिलेकै ठाउँमा थिइन्, सुन्तलाले भरिएका डोका थिए । ऊ बजार घुम्ने बहानामा त्यतैतिर बढ्यो ।

“सुन्तला कसरी हो ?”, ऊ केटीको सामुन्ने उभिएको थियो ।

“रुप्याँ दाना ।”

“राख्ने केही छ ?”

ऊ सुन्तला किन्न तयार भयो । उनले केही नबोली एउटा पोलिथिन झोला दिइन् । कालो रङ्गको पोलिथिन पुरानो र खुम्चिएको थियो । सुन्तला छान्ने नाममा चोरीचोरी केटीलाई हेर्यो । अघिल्लो साताकै कपडा पहिरेकी थिइन् । प्लास्टिकजस्तै कयौँ ठाउँमा खुम्चिएका ।

“यो लिनु त, बीस दानाको,” उसले २० रुपियाँको नोट थमायो ।

केही नबोली चुपचाप पैसा समातिन् । बेलाबेला पछाडि नियाल्दै धिमा गतिमा अघि बढ्यो । मूलगेटमा पहरा दिइरहेका साथीहरुलाई सुन्तला थमाउँदै गर्दा पनि नियाल्यो । उनी उसै गरी सुन्तला बेच्दै थिइन् ।

ऊ कोठातिर बढ्यो । क्याम्पभित्रको बाटो चुपचाप हिँडिरह्यो । बाटोमा कोही थिएनन् । चराहरु कराउँदै थिए । अलि तलतिर छाउनीहरु थिए । अघि बढिरह्यो । आफ्नै हिँडाइका आवाज एकनासले कानमा ठोक्किरहेका थिए ।

साथीहरु चौरमा गफिँदै थिए । उसले सुन्तलाको पोको साथीहरुमाझ राखिदियो । एकैछिनमा झोला रित्तियो । सबैले सुन्तलाका केस्रा निल्दै बोक्रा नजिकैको झाडीमा फाले । जुन झाडीभरि फलामे तार बिछ्याइएको थियो ।

“आज के जोस चलेर सुन्तला किन्यौ ?”, आफूसँगै बस्ने साथीले सोध्यो ।

“खान मन लागेर ।”

“तर, निकै हतारमा किन्यौ त ? ड्युटीबाट आएसी खाजा नखाई सुन्तला किन्न गयौ नि ?” अर्को साथीले सोध्यो ।

“खान मन लागेको चीज पैले खाइहालौ भनेर । मर्ने–बाँच्ने टुङ्गो छैन । आज हो कि भोलि हो ?”, उसले साँचो कुरा लुकायो ।

तर, कसैले उनको जवाफमा झूटको लेप देखेनन् । जिन्दगी साँच्चै धरापमा थियो । सबै गम्भीर भएर सुन्तलाको केस्रा निलिरहे ।

ऊ क्याम्पको पछाडिपट्टि पहरा दिँदै थियो । चनाखो थियो रातको समयमा विद्रोहीहरु आउँलान् कि भनेर । मनमा भने त्यही केटी आइरहेकी थिइन् । अर्को शनिबारको प्रतीक्षा थियो । शनिबार आयो पनि । ड्युटी थिएन । कीलामा झुन्डिएको गोलाकार ऐना हातमा लियो । चिल्लो गाला छामेर खुसी भयो । नीलो जिन्स पाइन्ट र सेतो टिसर्ट लगायो । गुलाबी कमिजको बाहुला पट्याएर अगाडि भने खुल्लै छाड्यो । आफूलाई कुनै फिल्मको हिरो परिकल्पना गर्दै कोठाबाट निस्कियो ।

भीडमा उनी उसै गरी बसेकी थिइन् । आज सागले भरिएको डोको थियो । नवीन सुन्तलाजस्तो साग किन्न सक्दैनथ्यो । कुरा गर्ने बहाना नमिल्दा नवीनको चिन्ता बढ्यो । तानाबाना बुन्दै भीडमा मिसियो । उसका पाइला सुस्त गतिमा चलिरहेका थिए ।

“आज सुन्तला ल्याउनु भएन ?”, उही केटीको अगाडि रोकिँदै बोल्यो ।

उसका दुवै हात जिन्सका कसिला गोजीमा घुस्रिएका थिए । केटीले उदास अनुहार केही माथि उठाइन् । नवीनको हँसिलो मुहार देखेर होला, थोरै मुस्कुराउँदै भनिन्, “छैन ।”

“किन नि ?”, नवीनले फेरि सोध्यो ।

“यसपालि घरकै साग बेच्ने भनेर ।”

“सुन्तलाचाहिँ घरको हैन ?”

“हैन,” उनको मुहार अलि हँसिलो हुँदै आएको थियो, “खोजेर ल्याउनुपर्छ । यसपालि भ्याइएन ।”

बोल्ने अरु बाटो भेटेन उसले । बिस्तारै चौरको मध्यभागतिर बढ्यो । भीडको पूरै चक्कर लगाएर २० मिनेट खर्चियो । घुम्ने क्रममा केही दाना सुन्तला किन्यो । त्यो केटीको छेवैमा आएर नियाल्यो । साग राखेको डोको आधा रित्तिएको थियो ।

“अर्को शनिबारचाहिँ सुन्तला ल्याउनुस् है,” केटीले देख्ने गरी सुन्तलाको पोको झुन्ड्याउँदै बोल्यो ।

“हुन्छ नि,” मलिन आवाजमा जवाफ फर्काइन् ।

केटीको जवाफले ऊ त्यही अडिरहने मौका पाएन । बिस्तारै अगाडि बढ्यो । पहिलेझैँ पहरा दिएर बसेका साथीलाई सुन्तला दियो । तर, गत साताकै साथीहरु थिएनन् । सुन्तला दिँदादिँदै केटीलाई फर्केर हेर्यो । गत साताकै जस्तो माहोल बन्यो । ख्यालठट्टा गर्दै सुन्तला खाए । बोक्रालाई नजिकैको झाडीमा मिल्काए । सुन्तला निख्रिएपछि ऊ बाहिरियो ।

“फेरि सुन्तला किन्न गइस् कि के हो ?”, पछाडिबाट एउटा साथीले जिस्काइरहेको थियो ।

“हैन, हैन, अर्कै काम छ ।”

ऊ छिटो छिटो हिँडिरहेको थियो । मूलगेटमा पुगेर नियाल्दा केटीले साग बेचिसक्न लागेकी थिइन् । ऊ बायाँपट्टिको ओरालो बाटोतिर छड्कियो । गत साता केटी त्यतै झरिरहेको देखेको थियो । ओरालोमा थामिँदै र पछाडि हेर्दै झर्यो । १० मिनेटपछि बाटोछेउको छाप्रोमा पस्यो । यहाँ बेसीबाट बजार आउने मान्छेले चिया, खाजा खान्थे ।

चित्राले छाएको छाप्रोको दुईतिर खुल्लै थियो । एकतिर चित्राले नै छेकेको थियो भने एकातिर ढिस्कोले बारको काम गरेको थियो । दुईतिर काठका मोटामोटा खम्बा गाढेर त्यसमा तख्ता टँसाइएका थिए । ग्राहकहरु त्यहीँ बसेर चिया, खाजा खान्थे । त्यहाँ एउटी अधबैँसे आइमाई र १२, १३ वर्षका छोरा बस्थे ।

“एक कप चिया बनाइदिनू,” उसले तख्तामा बस्दै भन्यो ।

“हुन्छ,” मयलले वास्तविक रङ्गको स्वरुप फेरिएको गुन्यूचोली लगाएकी महिलाले जवाफ फर्काई । छेवैमा छोरा बाटाभरि गिलास र प्लेटहरु राखेर माझ्दै थियो । त्यसको सामुन्ने ढुङ्गाको चाङमाथि राखिएको थोत्रो बाल्टिन थियो । बाल्टिनको पीँधनिर पानी खोल्ने टुटी थियो । नवीन त्यही दृश्य नियाल्दै चिया पर्खियो । बेलाबेला टाउको उठाएर अघि आफू आएको बाटो पनि हेरिरह्यो ।

“चिया लिनुस्,” अघि भाँडा माझिरहेको केटो बोलिरहेको थियो । बायाँछेउको एउटा गिलास उठायो । चियाको चुस्की लिन थाल्यो नवीन । उसका आँखा भने पटकपटक उकालो बाटोमा सोझिएका थिए ।

चिया रिङ्खयाएर अघि आफू आएको बाटो नियाल्यो । केटी बिस्तारै झरिरहेकी थिइन् । उसले लामो श्वास लियो । उसको छाती खुसीले ढुक्क फुल्यो । ढाडमा रित्तो डोको भिरेकी केटी निरन्तर ओरालो झरिरहेकी थिइन् ।

“फर्किनुभयो ?”, केटी उसको छेवैमा आइपुगेपछि सोध्यो ।

उनको कुरा सुनेर पुलुक्क हेर्यो । सायद केटीले उसलाई देखिरहेकी थिइन् । ठम्याएपछि भनिन्, “हजुर, तपाईं यहाँ हुनुहुन्छ ?”

“हजुर, अनि तपाईंको घर यता तल पर्छ ?”, उसले नजाने जस्तो गरी सोध्यो ।

“हो नि,” उनले मूलबाटोमा अडिँदै भनिन् ।

“आउनुस् । चिया खाएर जानुस्,” उसले प्रस्ताव गर्यो ।

“हैन पर्दैन, ढिलो हुन्छ,” उनले भनिन् ।

“आउनु न आउनु । एक कप चिया खान कति नै टाइम लाग्छ र ?”

“पछि खाउँला नि,” असहज मान्दै बोलिन् ।

“अप्ठ्यारो मान्नु भो जस्तो छ,” नवीनले चतुर्याइँ गर्यो ।

“हैन,” उनले लजाएजस्तो गरी भनिन्, “त्यस्तो अप्ठ्यारो मानेकी छैन ।”

“त्यसो भने बस्नु न त, एक कप चिया खाँदैमा कति नै ढिलो हुन्छ र ?”, नवीन बोल्यो ।

बाटोको एक छेउमा रित्तो डोका घोप्ट्याइन् । बिस्तारै छेउमै आएर बसिन् । ऊ भित्रभित्रै खुसी भयो ।

“साहुनी, फेरि दुई कप चिया बनाउनु त,” उसले छाप्रोतिर टाउको घुमाउँदै बोल्यो, “अघिको जस्तै मीठो ।”

दुवै जना चुपचाप बसे । चोरीचोरी एक अर्कालाई हेरे । नवीनले देख्यो । उनी खुट्टाको बूढी औँलाले भुइँ रगट्न खोजिरहेकी थिइन् ।

“घर कति तल पर्छ ?”, नवीनले वातावरण सहज बनाउन खोज्यो ।

“एक घन्टाजति ।”

“तपाईंको नाम के हो नि ?”

“मेरो प्रेमकला खत्री,” उनी एकछिन चुप बसिन्, अनि सोधिन्, “तपाईंको नामचाहिँ ?”

“मेरो नवीन दाहाल, म आर्मी क्याम्पमा काम गर्छु ।”

“मलाई थाहा छ, तपाईंलाई धेरैचोटि त्यहाँबाट निस्केको देखेकी छु ।”

आफ्नो बारे हेक्का राखिदएकोमा नवीन खुसी भयो । उनको पूरै शरीर नियाल्यो तलदेखि माथिसम्म । केरकारको बेला हिरासतमा राखेको विद्रोहीलाई झैँ।

“परिवारमा को को हुनुहुन्छ ?”, नवीनले सोध्यो ।

“घरमा दुई भाइबहिनी, आमा र म । एक जना दाइ पनि हुनुहुन्छ, तर वहाँ इन्ड्या जानुभएको छ ।”

“किन ?”

“काम गर्न ।”

“के काम गर्नुहुन्छ ?”

“ज्याला मजदुरी । गरिबले अरु त के पाउँछ र सर ?”

उसले त्यसपछि केही सोधेन । प्रेमकलाले पनि केही सोधिनन् । प्रेमकलाले सर भन्दा उसलाई अप्ठ्यारो लागिरह्यो । मौनतामै चियाको गिलास रित्यायो । उनी बसेको ठाउँबाट उठिन् ।

“अब जानु पर्यो,” प्रेमकलाले भनिन् ।

नवीन केही बोलेन । आशावादी आँखाले हेरिरह्यो । उनी उठेर अगाडि बढिन् । घोप्ट्याएको डोको उठाएर नाम्लो शिरमा अँड्याइन् ।

“म गएँ है,” उनले बिदा मागिन् ।

स्वीकृतिमा नवीनले टाउको मात्र हल्लायो । उनी ओरालो झरिरहिन् । निकै तलसम्म नियालेपछि नवीन पनि उकालो लाग्यो ।

अर्को साता ऊ त्यो चिया पसलदेखि निकै तलसम्म आयो, प्रेमकलाको पछि लागेर । ऊ पछि लाग्दा प्रेमकला निकै अप्ठ्यारो मानिरहेकी थिइन् । घुम्ती आयो । नवीनलाई कता कता डर लाग्यो । उनलाई यो एकान्तमा माओवादीले आक्रमण पनि गर्न सक्थे ।

“यो तिम्रा लागि,” नवीनले कागजले बेरिएको पोका दिँदै भन्यो ।

“के हो यो ?”, प्रेमकलाले अप्ठ्यारो मानिन् ।

“अप्ठ्यारो नमान न, लिऊ ।”

“के छ यहाँ ?”, प्रेमकलाले फेरि अप्ठ्यारो मान्दै सोधिन् ।

“घरमा लगेर हेर न,” बीचबाटोमा उभिएर भन्यो ।

नवीनले दिइछाड्यो । प्रेमकला चुपचाप तल झर्न थालिन् । उसले निकै बेर बाटोको डिलमा नियालेर हेरिरह्यो । सय मिटर ओरालो झरेपछि उनले फर्केर हेरिन् । नवीनले बायाँ हात उठायो र हावामा हल्लायो । उनी हात हल्लाउँदै तलै झरिरहिन् । बिस्तारै रुखले भरिएको जङ्गलभित्र ओझेल परिन् ।

ऊ कोठामा आइपुग्यो ।

“कता पुगेर आउनु भो सर ?”, भित्र बसिरहेको जितबहादुर राईको सोधाइमा व्यङ्ग्य थियो । नत्र ऊ नवीनलाई सम्मान गरेर बोल्दैन ।

ऊ नवीनको कोठामा बस्नेमध्ये सबैभन्दा पाको थियो । उसलाई सबैले दाइ भन्थे । उसको मतवाली हुलिया थियो, थेप्चो नाक र चिम्सो आँखा । बाटुलो मुहार अनि ओठमाथि पातला जुँगा थिए । अक्सर जुँगामाथि ऊ हस्तक्षेप गर्दैनथ्यो ।

“केही हैन दाइ । यसो घुमेर आ’को,” उसले सामान्य तरिकाले उत्तर दियो ।

“समय ठीक छैन साथी । अलि होस गरेर हिँड है । फेरि केटीको चक्करमा जिन्दगी खत्तम पारौला ।”

“त्यस्तो केही हैन दाइ ।”

“मलाई थाहा छ, तँ पछि लागेको छस् ।”

नवीन केही बोलेन । खाटमा पल्टिरह्यो । जितबहादुर बाहिरियो ।

दोस्रो हप्ता फेरि उसले प्रेमकलालाई पछ्यायो । दुवै चियापसलमा बसे । नवीनले प्रेमकलाका नाडी नियाल्यो । दुवै नाडीमा अघिल्लो साता उपहार दिएका चुरा थिए ।

“तिमीलाई सुहाउँदो रहेछ,” नवीनले भन्यो ।

प्रेमकला मुस्कुराइन् मात्र ।

“तपाईंलाई एउटा कुरा सोधौँ ?”, प्रेमकलाले सोधिन्, “यो किन दिनुभएको नि मलाई ?”

“त्यसै,” मधुर मुस्कानसाथ बोल्यो नवीन, “किन, मन परेन हो ?”

“मन नपरेको भए लगाएर हिँड्थेँ त ?”, उनी पनि मुस्काइरहेकी थिइन् ।

नवीनले पहिलोचोटि प्रेमकला मज्जाले हाँसेको देख्यो । उनी हल्का लजाएजस्ती पनि देखिइन् । मुहार केही रातो भयो, तर विगतको तुलनामा केही चमक थियो ।

“म गएँ,” टपक्क डोको टिपेर दौडिहालिन् । नवीन हेरेको हेर्यै भयो ।

दिनहरु बित्दै गए । हरेक शनिबारको दैनिकी चलिरहेथ्यो । एक शनिबार, नवीन र प्रेमकला चिया पिउँदै थिए । साथ उनकी बहिनी पनि थिइन् ।

“यो तपाईंलाई ल्याइदिएको,” उनले प्लास्टिकमा पोको पारेको सुन्तला दिँदै भनिन् ।

नवीन त्यही पोको बोकेर उकालो चढ्यो । साथीहरुलाई सुन्तला बाँड्यो ।

त्यसको तेस्रो दिन ऊ गस्तीबाट फर्किरहेको थियो । उनीहरु बजारको बाटो आइरहेका थिए । बजार भिरालो जमिनमा खोलाजस्तो वरदेखि परसम्म फैलिएको थियो । दायाँबायाँ धुरे घरहरु थिए । प्रायः हरेक घरमा पसल तथा होटल थिए । गस्ती टोलीका हरेक सदस्य बेलामौकामा त्यतातिर आँखा लगाउँथे । नवीनले आँखा घुमाउँदै हिँड्दा पसलमा झुन्डिएको कुर्ता–सुरुवालमा पर्यो । उसले पसलको ठाउँ र नाम दिमागमा राखेर अगाडि बढ्यो ।

गस्तीबाट फर्केर थकाइ मार्यो । साँझ पर्नुअघि नै बजार निस्क्यो । कुर्ता–सुरुवाल झुन्डिरहेको दोकान पुग्यो । किन्यो । फर्कियो ।

अघिल्लो साताझैँ छाप्रोमा चिया खाँदा आज पनि तीन जना थिए । तर, तेस्रो व्यक्ति प्रेमकलाको बहिनी थिइनन् ।

“मेरी साथी निर्मला,” उनले तेस्रो व्यक्तिसँग नवीनको परिचय गराइन् ।

“मचाहिँ नवीन, प्रेमकलाकी साथी,” नवीनले भन्यो ।

“मलाई थाहा छ,” पछाडि चुल्ठो बाटेकी निर्मलाले भनिन्, “यसले तपाईंको कुरा गरिरहन्छे ।”

हातमा उसले कुर्ता बोकेको थियो । निर्मलाले गर्दा दिन अप्ठ्यारो लाग्यो । निर्मला र प्रेमकला ओरालो लागे । ऊ त्यो पोको बोकेरै माथि फर्कियो ।

अर्को साता । उनीहरु त्यही ठाउँमा थिए । नवीन अझ तलसम्म झर्यो । छुट्टिने बेलामा कुर्ता–सुरुवाल थमायो ।

गस्तीमा नगएका र ड्युटी नपरेका साथीहरु तास खेल्दै थिए । एक सदस्य नवीन पनि थियो । तासको पत्ती टिप्न र पछार्नमा निकै मस्त । बाहिरबाट कोही आइरहेको सङ्केत हिँडाइको आवाजले गर्यो ।

“नवीन छ ?”, त्यहाँ आउने सैनिक साथीले भन्यो ।

“किन ?”, नवीनले तासमा केन्द्रित आँखा घुमाउँदै बोल्यो ।

“पर मूलगेटमा जानु रे,” त्यो मान्छे भित्र छिर्दै बोल्यो ।

“किन ?”, उसको आँखा फेरि हत्केलाभरि फिँजाएको तासमा केन्द्रित भयो ।

“खै को भेट्न आ’को छ रे ।”

“को आएछ त ?”, आफैँसँग बोल्दै तासको पत्ती त्यही आउने मान्छेको हातमा थमाउँदै उठेर हिँड्यो ।

गेटमा पहरा दिइरहेको साथीलाई सोध्यो । उसले अलि पर बसिरहेकी केटीतिर देखायो । त्यहाँ प्रेमकला उभिएकी थिई । फलामेद्वारलाई थोरै उघारेर ऊ बाहिरियो । उसले प्रेमकलालाई नजिक गएर नियाल्यो । नवीनले दिएको कुर्ता–सुरुवालमै आएकी थिइन् । नयाँ कुर्ता–सुरुवालमा निकै राम्री देखिएकी थिइन् ।

दुवै जना नजिकैको सामान्य होटलमा छिरे । आपसी सल्लाहमा खाजा मगाए ।

“यो तपाईंका लागि,” कागज र प्लास्टिकले मोरेको पोको दिँदै प्रेमकलाले भनिन् ।

“के हो यो ?”, उसले सोध्यो ।

“कोठामा लगेर हेर्नु न,” प्रेमकलाले भनिन् ।

उसले पहिलोपल्ट चुरा दिएको सम्झ्यो । त्यसपछि कुर्ता–सुरुवाल पनि दिइसकेको थियो । अनि चाँदीको औँठी । तर, चाँदीको औँठी भने आजसम्म लगाएकी थिइनन् । खाजा खाएर बाहिरिए ।

आज ऊ पुर्याउन गएन । कोठामा पुगेर पोको खोल्न हतारियो ।

कोठामा गएर पोको खोल्यो । एउटा कालो कोट थियो । उसले ओल्टाइपल्टाइ नियाल्यो । कोट नयाँ थिएन । उति पुरानो पनि हैन । तर, मज्जाले धोएर आइरन लगाइएको थियो । लगायो । ऐनामा हेर्यो । मुस्कुरायो । फेरि खोलेर कीलामा झुन्ड्यायो ।

शनिबारको बिहानी उही कोट लगाएर मूलगेटसम्म आयो । घाँटी तन्काएर चौरको भीड नियाल्यो । भीडमा प्रेमकला थिइनन् । ऊ मूलगेटभित्रकै फलैँचामा बस्यो । ढाडलाई पछाडिको तख्तामा टेकाएर खुट्टा लतार्यो । बेचैनीमा लत्रिएका खुट्टा हल्लिरहेका थिए, पहरामा झुन्डिएका लहराका पातझैँ ।

कोट लगाएर प्रेमकलाको अगाडि उभिने रहर पूरा नहुँदा ऊ खिन्न थियो । निकै बेरपछि जुरुक्क उठ्यो । गेटबाहिर निस्केर पूरै हाटबजार घुम्यो । उसका आँखा दायाँबायाँ घुमिरहेका हुन्थे । तर, बजारभरि चक्कर काट्दा पनि प्रेमकला देखिइनन् ।

त्यसपछिका कुनै शनिबारे हाटबजारमा प्रेमकला देखा परिनन् ।

धेरैपछि बीचबजारमा प्रेमकलाकी साथी निर्मला भेटिइन् । बजारमा निकै भीड थियो ।

“हिजोआज प्रेमकला किन बजार आउँदिनन् ?”, नवीनले सोध्यो ।

“उसको बिहे भयो,” निर्मलाले भनिन् ।

“ए ऽऽऽ,” नवीनको मुहारको रङ्ग बदलियो, “बिहेको केही अत्तोपत्तो पाइएन त ?”

“खबर गर्नै पाइन, खासमा कुरा धेरै छ ।”

“के हो त्यस्तो ?”, नवीनले धीमा स्वरमा बोल्यो ।

“यो भीडमा अलि गाह्रो छ । एक घन्टापछि तलको चिया पसलमा भेटौँ ।” यति भन्दै किनमेलका लागि निर्मला भीडमा हराइन् ।

नवीन स्वीकृति जनायो । हाटबजारको भीडबाट बाहिर आइरहँदा उसको छाती भारी भइरहेको थियो । एक घन्टा बिताउन पनि उसले धेरैचोटि घडी हेर्यो । घडीका सुइरा सुस्त गतिमा घुमेझैँ लागिरह्यो । एक घन्टापछि छाप्रोमा पुग्यो । निर्मला एक्लै बसिरहेकी थिइन् ।

“खास कुरा के हो ?” निर्मलाको छेउमा बस्दै सोध्यो नवीनले ।

“परिवारले तपाईंहरुको सम्बन्ध थाहा पायो । त्यसपछि रातारात बिहे तय भयो,” निर्मलाले पसलको केटाले आफूअगाडि सोझ्याएको चिया पक्डँदै भनिन्, “ऊभन्दा १३ वर्ष बूढो मान्छेसँग । उसको बुबालाई सङ्कटकालमा आर्मीसँग बिहे गरिदिँदा छोरी विधवा हुन्छे भन्ने डर थियो ।”

“उनले किन यो कुरा घरमा सुनाइन् त ?”, नवीन उभिएको ठाउँबाट अझ छेउतिर सर्दै बोल्यो ।

“उसले भनेकी हैन । घरकाले आफैँ थाहा पाए,” निर्मला भन्दै गइन्, “तपाईंले चुरा र कुर्ता उपहार दिएपछि उसलाई पनि केही दिन मन लागेछ । र, कालो कोट दिई तपाईंलाई । तर, त्यो कोट इन्डिया गएको दाजुको थियो । कोट हराएको बाले चाल पाएछन् । सोधीखोजी भयो । बालाई सबै कुरा बताइदिइछन् । त्यसपछि तपाईंसँगको सम्बन्ध थाहा भयो र बाले जबर्जस्ती बिहे गरिदिए ।”

नवीन केही बोलेन । गोजीबाट १० रुपियाँ झिकेर पसल्नीलाई दियो । दुवै उठे ।

“प्रेमकलालाई मेरो सम्झना सुनाइदिनू,” नवीनले ओरालो झर्दै गरेकी निर्मलालाई सुनायो ।

निर्मलाले टाउको हल्लाइन् । बिस्तारै उनका पाइला ओरालोमा झरिरहेका थिए । नवीन खुड्किला नमिलेको उकालोमा गाह्रो गरी उक्लिँदै थियो । कैयौँचोटि उक्लिएको यो उकालो आज अपरिचित लागिरहेको थियो ।  बिनाउत्साह कोठामा पुग्यो । झुन्ड्याएको कालो कोटलाई धेरै बेर नियालिरह्यो ।

१५ महिना बित्यो । उदासीको बादल पातलिँदै गए । तर, सम्झना यथावत् रुपमा झुन्डिरह्यो, कीलाको कालो कोटझैँ । ५० जनाभन्दा बढीको सैनिक टोली बेसीतिर झर्दै थियो । बुटको चर्को आवाजसँग ओरालो बाटो गुन्जायमान भयो । लयमा गुन्जिएको सङ्गीतजस्तो एकतमास । बाटोमा पर्ने चियापसलकी साहुनी उस्तै थिई । चिया पकाउँदै । उसको छोराको उचाइ र अनुहारको रङ्ग बदलिएको थियो । तर, उसै गरी गिलास माझ्दै थियो ।

नौ बजेतिर उनीहरुको टोली बस्ती पुगेको थियो । बस्ती पूरै घुम्यो टोलीले । क्याप्टेनको अगुवाइमा थियो टोली । उसले माझ गाउँतिर लिएर आयो । दिउँसो ११ बजेको थियो त्यतिखेर । उनीहरु एउटा खसी पनि डोर्याइरहेका थिए । सैनिक टोली एउटा घरको आँगनमा उभियो । चित्रा र बाँसको भाटाले छाएको एकतले घर थियो ।

“ल जीवनाथ दाइ, आज हामी यहाँ भात पकाएर खान्छौँ है,” क्याप्टेन अगाडि सरेर भन्यो ।

“हुन्छ नि साप,” पुरानो कमिज र जाँघे लगाएको मान्छेले जवाफ फर्कायो । शिरमा ढाकाटोपी खापेका जीवनाथ घरको पेटीमा सानो बच्चा च्यापेर बसेका थिए । ४० वरिपरिका देखिने जीवनाथलाई कहीँ देखेको भान परिरहेथ्यो नवीनलाई ।

“मैले तपाईंलाई कहीँ देख्या जस्तो लाग्यो नि,” नवीनले सोध्यो ।

“हो नि सर, म पनि त माथि नै काम गर्छु । जिल्ला विकास समितिमा पियन छु नि । तपाईंहरुको क्याम्प नजिकै त छ अफिस ।”

“हो हो, मैले त्यहीँ वरिपरि देखेको रहेछु,” नवीनले भन्यो ।

केही सैनिक चारै दिशामा सजग भएर उभिसकेका थिए । कोही आँगनमा ढुङ्गा गाडेर चुलो बनाउन थाले । जीवनाथले छरछिमेकबाट दुईवटा ठूला फर्सी खोजेर ल्याइदियो । दाउरा दियो । सैनिकहरु खाना पकाउने तयारीमा थिए । नजिकै उनीहरुले ल्याएको खसी बगलबाट छुटेको उदासीमा कराइरहेको थियो ।

“सानेकी आमा, नुन ल्याइदे है,” उसले घरभित्रकी श्रीमतीलाई करायो ।

बटुकामा ढिकेनुन बोकेर आइन् उनकी श्रीमती । उनका आँखा नवीनसँग ठोक्कियो । जीवनाथकी श्रीमती प्रेमकला पो थिइन् । दुवै जनाको अनुहारमा आश्चर्यको भाव देखा पर्यो । तर, केही बोलेनन् । त्यसपछि भित्र गएकी प्रेमकला उनीहरु त्यहाँ बसुन्जेल बाहिर आइनन् ।

कहिलकाहीँ बजारमा नवीनले जीवनाथलाई भेट्थ्यो । ऊ अक्सर शुक्रबार घर जान्थ्यो र आइतबार कार्यालय खुल्ने समयमा फर्केर आइपुग्थ्यो । साँझ वा बिहान भेट्दा नवीन उसलाई चिया खुवाउँथ्यो । घरपरिवारको सन्चोविसन्चो सोध्थ्यो ।

“जिन्दगी गरिबीमै बित्यो सर । उमेरमा विवाह गर्न पनि सकिएन,” एक दिन सँगै चिया खाँदा जीवनाथले सुनायो, “कसो कसो गरेर साइत जुर्यो र बुढेसकालमा बिहे गरियो ।”

“ए ऽऽ,” नवीन उसको परिस्थिति बुझेर सल्लाह दिएजस्तो गर्यो, “पहिले जस्तो भए पनि अब परिवारको राम्रो हेरचाह गर्नुस् ।”

नवीन साथीहरुसँग कुरा गर्दै थियो, चितवन सर्न लागेको आफ्नो गुल्मका बारेमा । उसका साथी चितवन जान पाउँदा खुसी थिए । त्यहाँ निकुञ्जको काम अलि सुरक्षित हुने ठानेका थिए । त्यही बेला नवीनलाई मूलगेटमा कसैले पर्खिरहेको खबर आइपुग्यो ।

मूलगेटको छेउमै निर्मला उभिरहेकी थिइन् । धेरैपछि निर्मलालाई देख्दा अनौठो मान्यो नवीनले । निर्मला पनि अलि अप्ठ्यारो मानिरहेकी देखिन्थिन् । दुवै अगाडिपट्टि छाप्रोमा खोलिएको चिया पसलमा छिरे ।

“तपाईंहरु जाँदै हुनुहुन्छ रे हो ?”, निर्मलाले चिया पिउँदै सोधिन् ।

“कसले भन्यो ?”, नवीन चियाको गिलास टेबलमा बिस्तारै यताउता घिसारिरहेको थियो ।

“प्रेमकलाले, उसलाई बूढाले भनेको रे,” निर्मलाले भनी ।

“ए ऽऽ, जीवनाथलाई मैले नै सुनाएको थिएँ ।”

“यो लिनु रे ?”, पुरानो कागजले मोरेको पोको दिँदै भनी, “प्रेमकलाले पठाइदिएकी ।”

नवीनले लिँदालिँदै पोकोभित्र औँठी भएको अनुमान गर्यो । खोलेर हेर्यो । चाँदीको औँठी  नै थियो । कुनै समय प्रेमकलालाई दिएको ।

“उसैले राखेकी भए भइहाल्थ्यो नि,” औँठी पल्टाउँदै नवीनले भन्यो ।

“मैले पनि त्यही भनेकी थेँ, तर उसलाई लगाउन अप्ठ्यारो लाग्छ रे,” निर्मला परतिर नियाल्दै बोलिरहेकी थिइन्, “उसलाई तपाईंसँग बिहा गरेसी लगाउने मन’थ्यो रे, तर बिहा हुन पाएन ।”

नवीन केही बोलिरहेको थिएन । उसका आँखामा एक किसिमको उदासी थियो ।

“प्रेमकलाले जागिरेसँग मात्र बिहा गर्छु भनेर अड्डी कसेकी थिई,” पहिले नभनेकी रहस्य खोल्दै फेरि निर्मला नै बोली, “सायद त्यसो गर्दा उसका बाले तपाईंसँगै विवाह गरिदिन्छन् भन्ने थियो । तर, बाले पियन खोजेर बिहे गरिदिए ।”

“मलाई प्रेमकलाले अर्कैसँग बिहे गरेकोमा अफसोस छैन,” नवीन लामो श्वास तान्दै बोल्यो, “अफसोस यसमा छ कि, मैले गर्दा उनले बूढो मान्छेसँग बिहे गर्नुपर्यो ।”

“के गर्ने सर ? भावीको लेखा भन्छन्,” निर्मला पनि उदास देखिइन् ।

“तर, जे भए पनि उनका श्रीमान् सोझा छन्,” नवीनले जीवनाथप्रति पनि सद्भाव पोख्यो ।

“यस्तै रहेछ जिन्दगी सर । सोचेजस्तो नहुने,” निर्मलाले उठ्दै भनिन्, “अब छुटौँ सर ।”

दुवै जना चियापसलबाट बाहिरिए । निर्मला क्याम्पनजिकैबाट ओरालो झरिन् । नवीन फलामेद्वारबाट भित्र पस्यो । नवीनले क्याम्पभित्रको बाटोमा हिँड्दाहिँड्दै प्रेमकला र जीवनाथ सम्झ्यो । प्रेमकलाको विवशता मस्तिष्कमा नाचिरह्यो । सँगसँगै जीवनाथको गरिबी जो उमेर ढल्केपछि गरेको वैवाहिक सम्बन्धदेखि खुसी थियो ।

क्याम्प सर्न एक साता बाँकी थियो । सम्पूर्ण तयारी भइसकेको थियो । मनभरि कुरा खेलाउँदै ओछ्यानमा पल्टिएको थियो । सामुन्नेको पर्खालमा कालो कोट झुन्डिरहेको थियो । कालो कोटसँगै पुराना झझल्काहरु उप्किएर आए ।

शुक्रबारको बिहानी समय । ऊ हातमा एउटा पोको बोकेर जिल्ला विकास समितिको कार्यालय सामुन्ने चिया पसल गयो । जीवनाथ अघि नै त्यहाँ आएको थियो । दुवैले सँगै चिया पिए ।

“दाइ, यो कोट लगाउनुहोला है,” उसले पट्याएको कोट थमाउँदै बोल्यो ।

“किन दुःख गर्नुभा’ नि सर ?”, जीवनाथ आधा रित्तिएको चियाको गिलास समातिरहेको थियो ।

“यसमा के दुःख र ? अर्को हप्तादेखि हामी यहाँ हुन्नौँ । यसो चिनो सम्झनु न,” अलि भावुक भएजस्तो गरी बोल्यो ।

“सरको सधैँ भलो होस्, यो दुःखीको आशिष् छ,” जीवनाथका आँखाका नानी धमिलो भएका थिए  ।

घाम पश्चिम ढल्केको थियो । शुक्रबार भएकाले सरकारी कार्यालय चाँडै बन्द भए । जीवनाथ घरतिर गइरहेको दृश्य नवीनले आर्मी क्याम्पभित्रैबाट देख्यो । बिहानको कालो कोट शरीरमा खापेर ठाँटिएको । उसको मुहारमा अरु दिनभन्दा बढी चमक थियो ।

(विभिन्न पत्रिकामा विचार लेख नियमित रुपमा प्रकाशित गर्दै आइरहेका कथाकार भानु बोखिम राम्रा कथाकार हुन् । उनको कथा संग्रह ‘रुमानी साँझ’ प्रकाशित छ ।)

एक पटक पढ्नुहोस