धनगढी / पाँचदली गठबन्धन गर्ने केन्द्रको निर्णय नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कै जिल्लाले नमाने भएको छ । जिल्ला कार्य समितिले कुनै दल सग पनि गठबन्धन आवश्य नभएको भन्दै काग्रेस कुनै पार्टी सगमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । पार्टी सचिव हेमराज चटौतले वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा समेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि एक्लै लड्ने निर्णय गरिएको जानकारी दिए ।
उनकाअनुसार गठबन्धन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्दै डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्न दिन प्रदेश र केन्द्रीय कमिटीलाई अनुरोध समेत गरिएको छ ।
देउवा प्रत्यक्ष र आरजु समानुपातिकमा सिफारिस
नेपाली कांग्रेस डडेल्धुराले एकल रुपमा अगामी चुनाव लड्ने भएकै कारणले प्रदेश र प्रतिनिधिसभामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरिएको जनाएको छ । जिल्ला सचिव चटौतकाअनुसार प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र समानुपातिक (महिला) तर्फ देउवा पत्नी आरजु राणाको नाम सर्वसम्मत रुपले प्रदेश कमिटीमा सिफारिस गरिएको छ । प्रदेश सभाका दुई वटा निर्वाचन क्षेत्रका क्षेत्रीय कमिटीले प्रतिनिति सभा सदस्यमा देउवाको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ ।
प्रदेशसभा ‘क’ बाट जिल्ला पार्टी सभापति एवंम् परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउद र प्रदेशसभा ‘ख’ बाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ ।
