After header

किरात समुदायमा आजबाट उधौली पर्व सुरु

काठमाडौ

उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले आजबाट मनाउँदै छन् । उधौलि पर्वलाई साकेला उधौली पर्वसमेत भनिन्छ । यसै अवसरमा नेपाल सरकारले देशभर आज सार्वजनिक विदा समेत दिएको छ ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भिक्राइएको खुसीयालीमा मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।

प्रकृति पुजक किराँत समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । यही उँधो शब्दबाट नै उधौली पर्वको नामाकरण भएको हो मानिन्छि ।

यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । यस उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् । उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामलेसमेत चिनिन्छ ।

 

उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ । अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ । किराँतभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाललगायतका जातिहरू पर्ने भएकोले जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आआफ्नो तरिकाहरू रहेका छन् । परम्परा अनुसार किराँती धर्मगुरु (नेक्चोल्ङ) ले चुलोको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा कुखुराको बलि दिने गर्छन् । सो बलिपछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ । यस पर्वको बेलामा बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रूपमा नाच्ने गर्छन् ।

सो नाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रीय छ । नेपालबाहिर खासगरी भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामासमेत यो नाच लोकप्रिय छ ।

यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ । बर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

भाषा, संस्कार संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आ–आफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आआफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् ।

लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।

यसैबीच लिम्बू समुदायले आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले इलाममा बिहीबार चासोक तङनाम हर्षोल्लासका साथ मनाउने तयारी गरेका छन् ।

किरात याक्थुङ चुम्लुङ इलामले इलाम नगरपालिका १० स्थित माइखोला टापुबेंसीमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी चासोक तङनाम मनाउने तयारी गरेको छ । विगतका वर्षहरुझैं लिम्बू समुदायको जमघट गरी तङनाम मनाउने तयारी गरेको किरात याक्थुङ चुम्लुङकी अध्यक्ष बुद्धमाया सोङमीले जानकारी दिइन् ।

गालीश्राप वहन्ती, या:लाङ (धान नाच), केलाङ (च्याब्रुङ नाच), पक्लुङ (छेलो), ताम्भुङचा (वनभोज), शुभकामना आदानप्रदानलगायतका कार्यक्रम गरी चासोक तङनाम मनाउने तयारी किरात याक्थुङ चुम्लुङ इलामले गरेको छ ।

लिम्बू वाहुल्यता रहेको पूर्वका नौ जिल्लाका साथै हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई, भारतको सिक्किम, आसाम, वर्मा र थाइल्याण्डमा बस्ने लिम्बु समुदायले समेत चासोक तङनाम सामुहिक रुपमा मनाउने गरेका छन् ।

खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको छ ।

चासोकको अवसरमा तन्नेरीहरु च्याब्रुङ बजाएर नाच्दै साइनो नलाग्ने युवायुवतीहरु एकापसमा हात समाएर पालाम गाउँदै धान नाच्ने गरेका छन् । यो चाडलाई लिम्बु समुदायहरु एकअर्काबीचमा एकता र मेलमिलापको रुपमा समेत लिने गरेका छन् ।

 

आफ्नो इष्टदेवसँग बल, बुद्धि, सुस्वास्थ्य र दीघार्युको वरदान पनि माग्दा पाउने लिम्बु समुदायको विश्वास छ । चासोक तङ्नाममा तोङ आप्मा, धनुकाड हान्ने, लि आप्मा, गुलेली हान्ने, खेङ आप्मा, माछा मार्ने, पक्लुङ लेप्मा, छेलो हान्ने, थाक थाक्मा जस्ता परम्परागत खेल र प्रवधिको प्रदर्शन पनि गरिएको छ ।

आधुनिक प्रविधि, जीवनशैली, परिवर्तित समाज, भुमण्डलीकरण आदि कारणले नयाँ पुस्ताले मौलिक सांस्कृतिक चाडपर्वहरु बिर्संदै गएकाले किरात याक्थुङ चुम्लुङले ०४८ सालदेखि व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउदै नयाँ पुस्तालाई जानकारी दिने र हस्तान्तरण गर्ने उदेश्यले भव्यता दिन थालेको हो ।

एक पटक पढ्नुहोस