काठमाडाैं /
काभ्रेली युवाकवि निर्भीकजंग रायमाझीको एकल बाचन सम्पन्न भएको छ। उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा उनको एकल वाचन सम्पन्न भएको हो।
८ वर्षदेखि काठमाडौंमा रहेर साहित्य केन्द्रित गतिविधि गरिरहेका उनलाई सुन्न करिब २०० स्रोता कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रमको सुरुमा कवि विप्लव प्रतीकले निर्भीक कविता क्षेत्रमा अथाह सम्भावना भएको व्यक्तिको रुपमा चर्चा गरेका थिए। लामो समयदेखि काठमाडौंमा नजिकबाट निर्भीकलाई जानेको उल्लेख गर्दै उनले काव्यजगतमा चम्किलो नक्षत्रको रुपमा निर्भीकलाई हेरेको बताए। ‘युवाहरू भावना बग्छ भनिन्छ, तर भावनाबाटै राम्रो कवि जन्मिन्छ जो निर्भीकमा पाउँछु म,’ उनले भने।
यसैगरी निर्भीकको चटारो शीर्षकको कविता बाचन गर्दै श्रवण मुकारुङले निर्भीकका कविता लामो समय जीवित रहने टिप्पणी गरे। आफूले उक्त कविता समयसमयमा पढ्ने गरेको बताउँदै उनले उनका यी कविता सदाबहार पढिने बताए। ‘वर्तमान समयमा युवाकविमा निर्भीक बलियो हस्तक्षेप गर्ने स्रष्टा हो,’ मुकारुङले भने।
यसैगरी अन्तिममा वरिष्ठ कवि तुलसी दिवसले एकभन्दा बढी पुस्तालाई जोड्ने क्षमता कविमा हुने, जुन निर्भीकका कवितामा आफूले पाएको भनाइ राखे। निर्भीकका कवितामा परिपक्वता हुने गरेको भनाइ उनको थियो।
यस्तै कवि रीमा केसी पनि निर्भीकको कविता बाचन गरेको उक्त कार्यक्रमको सञ्चालन उद्गार साहित्य प्रतिष्ठानका अध्यक्ष एवं कवि हेमन्त शिशिरले गरेका थिए।
प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा कलम चलाउने उनले कार्यक्रममा आँखिझ्याल, बतासको लय, मेरो टोपी कैलाशको शिरजस्तो छैन, खिर खानेदिन लगायत एक दर्जन कविता सुनाएका थिए।