काभ्रे। मंगलवार साँझमा जिल्लाको बेथानचोक ४ मा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा मृतक सबैको पहिचान खुलेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकहरुको पहिचान खुलेको र शवहरु सबैको पोस्टमार्टम भइसकेको भन्दै शव आफन्तलाई बुझाउन थाल्दा ८ वटा शव भने आफन्तको पर्खाइमा छ । प्रहरीले ९ वटा शवको मृतकका आफन्तलाई बुझाएको छ । यता बाँकी शव मध्ये एकै परिवारका ८ जनाको शव धुलिखेल अस्पतालको फरेन्सिक विभागमा आफन्तको पर्खाइमा शवले कुरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाकै पोष्टमार्टम भैसकेको र ति मध्ये ९ जनाको शव परिवारले बुझेर धार्मिक रितिरीवाज संस्कार अनुसार दाहसंस्कारका लागि स्वयम्भू लगायत आफ्नो आफ्नो आफ्नो दाहसंस्कार गर्ने स्थल तर्फ लगेको बताएका छन् । बाँकी ८ वटा शव बुझ्ने आफन्त नहुदा धुलिखेल अस्पतालमै रहेको न्यौपानेले बताएका छन् ।
उनीहरूको परिवारमा दुई जना घाईते आवस्थामा रहेका छन् । भने एक जना वैदेशिक रोजगारीमा जापानमा रहेका छन् । ‘आठ वटा शव परिवारले बुझ्न बाँकी छ, अन्य ९ जना शवहरूलाई परिवारको जिम्मा लगाएका छौँ ।’ प्रहरी उपरिक्षक न्यौपानेले भने, ‘सानो नानी र परिवारको कान्छो छोराको उपचार भईरहेको छ एक जना जापानमा छन् भन्ने सुनेको छु भोली वेलुकीसम्ममा आएर ८ जनाकै शव बुझ्ने भन्ने कुरा आएको छ ।’ 
आफन्त कुरिरहेको ८ शवहरु बनेपा नगरपालिका वडा नं. ११ का ७९ बर्षीय निर्मला तामाङ, ५५ बर्षीय कुमार तामाङ, ५० बर्षीय आकुर तामाङ, ४३ बर्षीय हेमा तामाङ, ३० बर्षीय बुद्ध तामाङ, २८ बर्षीय मञ्जु तामाङ, २७ बर्षीय कोपीला तामाङ र ११ बर्षीय पुष्कर तामाङ रहेका छन् । उनीहरू सबै एकै परिवारका हुन् ।
मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ भने मृतक बुद्ध तामाङ र कोपीला तामाङकी आठ बर्षीय श्रेया तामाङको शिर मेमोरियल अस्पतालमा उपचाररत छिन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी समेत रहेका न्यौपानेले दिएको जानकारी अनुसार दुर्घटनामा २२ जना घाइतेमध्ये २ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने बनेपास्थित शिरमेमोरियल अस्पतालमा ८ जना, धुलिखेल अस्पतालमा ९ जना र बाँकी ३ जना काठमाण्डमैँको बिएनबी, र सानोठिकी अस्पतालमा उपचाररत रहेको बताएका छन् ।
यसैबीच बुधबार बस दुर्घटनाका मृतक तथा घाइतेका आफन्त र यातायात व्यवसायीबीच क्षतिपूर्तिका सम्बन्धमा सहमति भएको छ । दुर्घटनाका पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सहमति भएको हो ।
बुधबार दिउँसो २ बजे बसेको बठैकमा दुर्घटनामा घाइतेको आवश्यक उपचार गराउन र मृतकलाई कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउन पुण्यमाता यातायात प्रा.लि प्रतिबद्ध रहेको सो संस्थाका अध्यक्ष राजेश सुन्दर सैंजुले बताएका छन् ।
अहिले तत्कालका लागि दाहसंस्कार गर्न मृतकका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको सैंजुले बताएका छन् ।
यसैबीच बुधबार बस दुर्घटनामा परेका आफन्तलाई सहानुभूति राख्न
बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकाले दुर्घटनामा परी मृत्यु भएको दुःख व्यक्त गर्दै र घाईतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै एक दिन सार्वजनिक विदा दिएको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले सूचना जारी गर्दै शोक विदा दिएको जनाएका छन् । वक्तव्यमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित घाईतहरूको शिघ्र स्वास्थ्य लाभको कामनाका लागि शोक विदा दिएको अधिकारीले हस्ताक्षर गरेको वक्तव्यमा उल्लेख छ । गाउँपालिका भित्रको सरकारी कार्यालयहरू, सरकारी गैरसरकारी संघ/संस्थाहरू र विद्यालयहरूलाई शोक व्यक्त गर्दै विदा दिन अधिकारीले जारी सूचनामा आग्रह गरेको थियो ।
दुर्घटनामा आफूहरु सबै किसिमको दुःख पीडामा साथै रहेको भन्दै जिल्लाका विभिन्न पार्टीहरूले पनि शोक वक्तव्य जारी गरेका छन् । नेकपा एमाले काभ्रे, नेपाली कांग्रेस काभ्रे र नेकपा माओवादी कांग्रेसले शोक वक्तव्य जारी गरेको छ । नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्यञ्जु, नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा र नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले वक्तव्य जारी गर्दै घाइतेको उपचार को लागि कुनै कसर बाकी नराख्न सरकार संग माग गरेका छन् । दुर्घटनामा परेको बस रिजर्भ रहेको र ब्रतबन्ध ( छेवर) सकेर घर फर्कदा दुर्घटनामा परेको थियो ।
