काभ्रे/ सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना सम्पन्न गरि समुदायमा हस्तान्तरण गरेको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०७८ भाद्र महिनामा शुरु भएको आयोजना २०७९ पौषमा सम्पन्न भएको आयोजना हिजो अर्थात फागुन १८ गते एक कार्यक्रमको बिचमा उक्त आयोजना समुदायकलाई हस्तान्तरण गरिएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ६ को सिउरानीमा कूल १ करोड ९३ लाख ६३ हजार २५७ रुपैया लागतमा निर्माण सम्पन्न ‘सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बिच उद्घाटन गरेकबा छन् । उक्त आयोजनाबाट २ सय २३ घर धुरीका १ हजार ३ सय ३७ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।आयोजना गाउँपालिकाको रु. ४९ लाख २२ हजार ६ सय ४६, रोटरी क्लब बौद्धको रु. ९२ लाख ७३ हजार ९ सय ४३, समुदायबाट रु. ६ लाख ९९ हजार र जनश्रमदान रु. ४७ लाख ६७ हजार ६६७ गरी कूल रु. १ करोड ९६ लाख ६३ हजार २५७ मा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले एक गाग्री पानीको लागि पूरै बिहान माया मानुपर्ने र वस्तुभाउलाई अड्कली अड्कली मात्रै पानी खुवाउनुपर्ने दूरावस्थाबाट बेथानचोक चाडै मुक्त हुने बताए । नेपालको संविधानले धारा ३५ (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी स्वास्थ्य सम्बन्धी हकको सुनिश्चित गरेको भए पनि खानेपानी कै प्यास मेटाउनकै कारण थातथलो छाड्नुपर्ने स्थिति आउनु विगतका विडम्बना भएको उहाँको भनाई थियो ।
विश्वका करिब एक अर्ब ८० करोड मानिस मरुभूमीकरणको जोखिममा रहेको अवस्थामा आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जाने विश्वव्यापी तथ्यांक आइरहँदा बेथानचोकका पानी मुहानको सुरक्षा गर्दै हरेक बस्तीमा एक घर एक धाराको अवधारणा साकार पार्दै जानुपर्नेमा अध्यक्ष अधिकारीले जोड दिए ।मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको बताए । समुन्नत जीवनको लागि मानिसहरू बसाइँ सरी गइरहेको सन्दर्भमा घर घरमा पर्याप्त मात्रामा स्वच्छ खानेपानी भएमा नागरिकले विभिन्न प्रकारका खेति किसानीका मार्फत आय आर्जनतर्फ लाग्ने र उत्पादित उपज बजारसम्म लगी आयश्रोत बढाउन सक्ने भएकाले विकासका अन्य पूर्वाधारलाई पनि सँगै विकास गरिदैं लौजाने उनको भनाई थियो ।

कार्यक्रममा उनले रोटरी क्लब बौद्ध, रोटरी क्लब स्कटल्याण्डका प्रतिनिधि, नेवा र बेथानचोक गाउँपालिका र स्थानीय श्रमदानसमेतबाट करिब १४ सय जनसंख्याका लागि खानेपानी सहज बनाउनुहुने स्थानीय, अग्रज, श्रमदाताहरुप्रति आभार प्रकट व्यक्त गरे । “गाउँपालिकाका नागरिकको ओठमा खुसी ल्याउन मद्दत गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछु ।” उनले भने ।
कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नागरिकको चेतनास्तर वृद्धि गर्न सके समाज रुपान्तरणमा टेवा पुग्ने बताए ।
तब नागरिक सचेत बन्छन जब समुदायमा शिक्षा स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधार मापदण्ड अनुरुप बनेका हुन्छन भन्दै आयोजनाका लागि आफ्नो कार्यकालमा चालिएका कदमबारे उनले प्रष्ट पारेका थिए । वडा अध्यक्ष विष्णु तामाङले खानेपानी अभावकै कारण स्थानीयले झेल्नु परेको दुःख अब एक घर एक धारा आएसँगै दुर भएको र पानी लिन भनेर खर्चिनु पर्ने समय आयआर्जनमा लगानी गर्दै समृद्धिको यात्रामा लाग्न वडाबासीलाई आग्रह गरे ।

“घर घरमा पानी आएको छ, खेर जाने पानीको प्रयोग गरी फलफुल र तरकारी खेति गरौं, पहिला भात भान्छा सजाऔं बचेको फलफुल र तरकारी बिक्री गरौं ।” उनले भने । सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सबैमा धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा रोटरी क्लब बौद्ध, रोटरी क्लबस्कटल्याण्डका प्रतिनिधि, गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सिउरानी भञ्जायाङखर्क खानेपानी तथा सरसफाई आयोजनका अध्यक्ष राम बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
