After header

छात्रामाथीको यौनहिंसामा विद्यालयले बुधबार किटानी जाहेरी दिने

पनौती/ काभ्रेको पनौती नगरपालिका वडा नं.–२ मा रहेको कुशादेवी मा.वि.मा भएको छात्रामाथीको यौनजन्य हिंसाको घटनाको विषयमा आज मंगलबार भएको भेलामा विद्यालय प्रशासन प्रति अभिभावक, स्थानिय, नागरिक समाज, बुद्धिजिवीहरु लगायतले विद्यालय प्रशासन माथि चौतर्फी दवाव दिएका छन् ।

यस दवावसँगै विद्यालयले भोली बुधबार यौन हिंसाका आरोपी शिक्षक छवी गौतमविरुद्ध किटानी जाहेरी दिने मंगलबार बसेको सरोकारवालाहरुसँगको बैठकले सहमती गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाको अध्यक्षतामा गरेको निर्णयमा नीज दोषीलाई कानुनी दायरामा ल्याउन विद्यालयले भोलि बुधाबार पिडितका अभिभावक सहित विद्यालयले सामुहिक किटानी जाहेरी दिने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिए ।

हामीले घटनालाई लुकाउने छिपाउन खोजेको नभई दोषीलाई कारबाही होस् भनी पटकपटक प्रहरीसँग अनुरोध समेत गरेको बताए । यसका लागि के कसरी जान सकिन्छ भनि आजको यस भेला राखिएको समेत उनले जानकारी दिए । जुन आरोपीत शिक्षकलाई विद्यालयले बचाउन खोजिएको भनिएको छ यो कुनै हालतमा नभएको उनले प्रष्ट पारे । आरोपी शिक्षक माथी विद्यालर्थीले दिएको उजुरीमा प्रहरी प्रशासनले अनुसन्धान गरी दोषीलाई कडा भन्दा कडा कारर्बाहीको गर्न समेत विद्यालय प्रशानसन सबैमा अनुरोध समेत गर्दछौ उनले भने ।

विद्यालयका प्रअ श्यामकुमार भुजुले ति आरोपी शिक्षकबारे विद्यालयमा भएको घटनासँग यसअघि पनि उस्तै प्रकृतिको दुव्र्यवहार गरेकोमा उनले माफी मागेर छोडेको स्वीकार गरेका छन् । यस्ता खालका घटना पटक–पटक दोहोरिएका कारणले आम माफी दिन अयोग्य ठानी पीडित विद्यार्थीहरुको न्यायको पक्षमा विद्यालय लागि परेको जानकारी दिए ।

घटना भएको आज मंगलबार ५ दिन बित्दा समेत विद्यालयले खासै कानुनी उपचार तिर नलागि आरोपीत शिक्षकको बचाउ तिर लागेको भनि उनीहरुले आक्रोस पोकेका छन् । गत शुक्रबार गणित शिक्षक छबि गौतमले कक्षा १० का छात्राहरुमाथि अवाञ्छित् गतिविधि गरेको भनेर १० जना छात्राहरुले सामुहिक उजुरी दिएको आज ५ दिन बितिसक्दा पनि कानूनी कारवाहीका लागि प्रक्रिया कुनैपनि कदम नचालेको भनि स्थानीय अभिभावक आक्रोशित भएका थिए ।

पनौती नगरपालिका वडा नं. २ को सभाहलमा भएको भेलाले छात्राहरुले दिएको निवेदनका आधारमा शिक्षक गौतम दोषी देखिएकोले उनलाई हदैसम्मको कानूनी कारवाही हुनुपर्ने ठहर गर्दै आवश्यक कानूनी कारवाहीको सम्बन्धित निकायमा उजुरी दिने निर्णय गरेको समाजसेवी विश्वेश्वर बञ्जाराले जानकारी दिए ।

यसरी चौतर्फी विरोध र सामाजिक सञ्जालमा विरोध भईरहेको अवस्थामा तत्काल प्रहरीले पक्राउ गर्न समेत उनले आग्रह गरे । प्रहरीले पक्राउ गर्न अब कुनै किटानी जाहेरीको आवश्यकता पर्ने जस्तो हामीलाई लाग्दैन ।, त्यसैले प्रहरी प्रशासनलाई पनि हामी सहयोग गर्न चाहान्छौ दोषीलाई तत्काल पक्राउ गरि कानुनी दायरमा ल्याउन समेत उनले आग्रह गरेका छन् ।

भेलामा नेविसंघ काभ्रेका अध्यक्ष अञ्जनराज खतिवडाले घटना यहाँ मात्रै नभई उहाँ शिक्षक विगतको दिनलाई एक पटक फर्केर हेर्न समेत सबैलाई आग्रह गरे । केही वर्ष अगाडि भुम्लु गाउँपालिकामा यस्तै हर्कत गरेर आममाफी लिएर यहाँ आउनु भएको हो । केही समय अगाडि पनि पनौतीमा रहेको एक क्याम्पसमा उहाँको यस्तै हर्कतले हटाईएको हो ।

त्यसैले अब यस्ता घटनाबाट आफ्नो बालबच्चालाई जोगाउन र यस्ता दोषीलाई उम्कन नदिन हदै सम्मको कारर्वाही हुनुपर्ने उनले बताए । यसका लागि नेविसंघ जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको तर दोषीलाई कार्वाही गराएर छोड्ने उनले बताए । भेलामा स्थानीय रामेश्वर आचार्यले दोषीलाई कारर्वाही गर्ने ढिला नगरी सबै एक जुट भई सघाउन आग्रह गरे ।

यसमा राजनीति नगर्न सबैमा आग्रह गदै यसका घटना भोलि सबैमा आउन सक्ने भन्दै यस्ता शिक्षकमा कडा भन्दा कडा कारर्वाही गर्ने यस भेगका सबै स्थानीय, अभिभावक लगायत शुभचिन्तकमा उनले आग्रह गरे । भेलामा जम्मा भएका स्थानिय, विद्यालयकका अभिभावक, बुद्धिजिवी, नागरिक सरोकार लगायतले तत्काल प्रहरीका उजुरी दिई दोषीलाई कडा भन्दा कडा कारर्वाहीको माग गरेका थिए ।

यस्तै घटनाबारे पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले एक विज्ञप्ति जारी गर्दै घटनाको गम्भिर विषय प्रति ध्यानाकर्षण भएको भन्दै शिक्षण सेवा जस्तो पवित्र संस्थामा कार्यरत शिक्षकबाट वालवालिकाहरुको भावनामा ठेस पुग्नेगरी हुने त्यस्ता कार्यहरु निन्दनिय तथा भर्त्सना योग्य भएको, वालवालिकाहरुले स्वतन्त्रतापूर्वक, शान्त वातावरणमा अध्ययन कार्यमा संलग्न हुन पाउने बालअधिकारको सुनिश्चितताको लागि हामी सदैव क्रियाशिल रहेको, छात्राहरु माथि भएको दुर्व्यबहारको सन्दर्भमा त्यस विद्यालयको मिति २०६०।०४।१५ को पत्र जानकारीका लागि हामीले प्राप्त गरेको, विद्यालय व्यवस्थापन समितिवाट उक्त सन्दर्भमा शिक्षकलाई सोधिएको स्पष्टीकरण तथा शिक्षकबाट दिइएको लिखित जवाफ चित्तबुझदो नभएको भनी विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई विद्यालयमा हाजिर नगराउने निर्णय पश्चात् विषयवस्तु झन् गहन तथा गाम्भिर्यतापूर्ण रहेको प्रति हामी सचेत भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विद्यालयमा निर्वाध रुपमा आवतजावत तथा विना डर त्रास सुरक्षित रुपमा अध्ययन अध्यापन कार्य गर्ने वातावरण सिर्जना गर्न यस घटनाले हामी थप जिम्मेवार र गम्भिर भएका छौं । विद्यालयरुपी पवित्र मन्दिरमा यसरी समस्या श्रृजना हुनु दुःखद भएको, नगरपालिकामा प्राप्त पत्र पश्चात शिक्षा, युवा तथा खेलकुद शाखावाट घटनामा संलग्न शिक्षकलाई विभागीय कारवाहीको प्रक्रिया अघि वढाइ सकिएको उल्लेख छ ।

साथै आवश्यक कानुनी प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा विद्यालयबाट प्राप्त भएको सम्पूर्ण कागजातहरु संलग्न गरी पठाइसकिएको उल्लेख छ । विद्यालयमा भएको संवेदनशिल घटनावाट विद्यार्थी, अभिभावक, समाज, शिक्षक तथा समग्र शिक्षाक्षेत्रमा परेको नकारात्मक प्रभावबाट विचलित नहुन तथा घटनाको सन्दर्भमा सत्य तथ्य पत्ता लगाउन आवश्यक सहयोग जुटाउन सबै नगरवासीमा अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एक पटक पढ्नुहोस