After header

मदन पुरस्कार ०७९ का लागि पाँच कृति छनोट

काठमाडौं । मदन पुरस्कार गुठीले २०७९ सालको मदन पुरस्कारका लागि पाँच कृति छनोट गरेको छ । विसं २०७९ मा गुठीलाई प्राप्त भएका तीन सय १३ पुस्तकमध्येबाट पाँच पुस्तक छनोट गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार सुविन भट्टराई (इजोरिया), विवेक ओझा (ऐँठन), द्वारिकानाथ ढुङ्गेल (चक्रब्यूहमा नेपालको जलस्रोत), प्रगति राई (थाङ्ग्रा) र सञ्जय विष्ट (माटाको घर) रहेका छन् । छनोटमा परेका पाँच पुस्तकमध्ये छनोट गरी एउटालाई २०७९ सालको मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ सालमा भएको हो । मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा भएको थियो । सम्मान कार्यक्रम भने २०१४ सालमा गरिएको हो । गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम रु चार हजार थियो । समयक्रममा बढ्दै २०७५ सालदेखि रू चार लाख राशिको मदन पुरस्कार प्रदान गरिन्छ । विसं २०१३ मा पहिलो पटक ‘हाम्रो लोक संस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’ का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए । जोशीले तीन पटक मदन पुरस्कार पाएका थिए । रानी जगदम्बाको स्वर्गारोहणपछि उनको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा ‘जगदम्बा–श्री’ सम्मान स्थापना गरेको थियो । एक लाख राशिको सम्मान २०४५ सालदेखि नै समर्पण गर्न थालिएको हो । ‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिमध्ये एक कृतिलाई सम्मान गरिने पुरस्कार हो । ‘जगदम्बा–श्री’ नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने पुरस्कार भएको गुठीले जनाएको छ ।

एक पटक पढ्नुहोस