काठमाडौं/ कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको भन्दै हरेक पल पलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवम् नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ लाग्न प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले निर्देशन दिएका छन् ।
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा कार्यालय प्रमुखको रूपमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएकबा हुन् ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताए ।

संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउने तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न उनले निर्देशन दिए ।
आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उनले आग्रह गरे ।
कानूनले दिएको अधिकारको पूर्ण प्रयोग तथा नेपाल प्रहरीको कार्ययोजना अनुरूप जनमैत्री सेवा प्रवाह, आन्तरिक सुदृढीकरण, राजश्व अभिवृद्धि, चोरीपैठारी लगायत अन्य अपराधिक गतिविधिमा थप क्रियाशील भई जिम्मेवारी वहन गर्न समेत उनले सबै अधिकृतहरु आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक विकास राज खनालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।
