देवराज सुवेदी । सिन्धुपाल्चोक
अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । हेलम्बु गाउँपालिका ४ मा ग्याल्थुमको एउटा भवन केही बेर अघि बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो ।अन्य भवन पनि जोखिममा रहेका छन । त्यस्तै ग्याल्थुम बजारपनी जोखिममा रहेको छ ।जिल्लाका विभिन्न भागमा पहिरो जानका साथै जिल्लास्थित नदीनालाहरुमा जल सतह बढ्न थालेपछि कतै वस्तीहरु डुवानमा पर्न थालेका छन् भने कतै बाटाहरु कटानमा पर्न थालेका छन् ।
मेलम्ची नदीमा आएको बाढीका कारण बिहान ग्याल्थुमस्थित सरसस्वती माविको २ वटा शौचालय बगाएको छ ।
बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडकहरु अहिले सञ्चालनमा आएका छन् । मेलम्ची–भोताङ सडक खण्ड स्थित मेलम्ची बजार पारीको बाटो सन्चालनमा आए सँगै मेलम्ची नवलपुर सडक खण्ड अन्तरगत शहरे खोलाको अवरुद्ध सडक पनि सञ्चालनमा आएको वडा नम्बर १०का वडा अध्यक्ष अमृत खनालले जानकारी दिनुभयो । मेलम्ची– तालामाराङ अन्तरगत सिमखेतमा जमेको लेदो पन्छाएसँगै यातायात आवतजावत हुन थालेको छ । मेलम्ची ४ स्थित पिप्ले–पाटी भञ्ज्याङ् बाटो सन्चालनमा आएको छ भने जोखिम कायमै रहेको स्थानियले बताएका छन् । पानी पर्ने क्रम अझै जारि रहेकाले आवश्यक सर्तकता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ ।
विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेशन लाइनको पोल ढलेको छ भने ठाउँ ठाउँमा विद्युत अवरुद्ध भएको छ । समस्या समाधानका लागि प्राधिकरण लागि परेको जनाएको छ ।
पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्य मार्ग पहिरोको कारण अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार खाल्डे खोलामा पहिरो गएपछि वैकल्पीक माध्यमबाट यात्रुहरुलाई सहज बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार जिल्लाको अधिकाँश ठाउँमा बाढी र पहिरो जाने क्रम बढि रहेको छ ।
