काठमाडौ । जाजरकोटमा केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश प्रहरीका अनुसार बारेकोट गाउँपालिका -१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट पश्चिम नेपाललमा सयौँ घरसमेत भत्किएका छन् । मध्यरातमा भूकम्प गएका कारण क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
उद्धार र राहतका लागि सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा गएको बताइएको छ ।
अहिले बिहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको बताइएको छ ।
