After header

महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर सम्पन्न

काभ्रे ।काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ६ मा महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर सम्पन्न भएको छ ।

वडा नम्बर ६ को आयोजना तथा कान्छी माया तामाङ फाउण्डेशनको सहकार्य र को सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविर पाँगु भुग्देउ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो ।

शिविरमा ११५ जना महिलाहरुले सेवा लिएको फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकरले जानकारी दिनुभयो । शिविरमा पाठेघर जाँच गराएका मध्ये ३ जनामा अप्रेशन गर्नुपर्ने देखिएको छ ।

शिविरमा महिला रोग विशेषज्ञ डा. सञ्जिब योञ्जन र डा. निता तिमिल्सिनाले सेवा प्रदान गर्नुभएको थियो । त्यसैगरी फिजियोथेरापिस्ट डा. प्रभाकरण तिमिल्सिनाले सेवा प्रदान गर्नुभएको थियो ।

शिविरमा महिलाहरुका लागि स्यानिटरी प्याड र हाइजिन किट प्रदान गरिएको थियो । शिविर समापन कार्यक्रममा बोल्दै Association Crops Coeur Espri का अध्यक्ष Didie ले शिविर निकै फलदायी भएको बताउनुभयो । ‘नेपालको ग्रामीण भेगमा अझै पनि महिला दिदीबहिनीहरु खुलेर आफ्नो समस्या भन्न नसकिरहेको अवस्थामा गाउँघरमै विशेषज्ञ सहितको शिविरले धेरै सहयोग पुगेको छ भन्ने हामीले विश्वास लिएका छौँ । नेपालका ग्रामीण बस्तीहरुमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा सहयोग गर्ने हाम्रो उद्देश्य छ । हामीले यसलाई निरन्तरता दिन्छौँ ।’ Didie ले भन्नुभयो ।

वडा अध्यक्ष विष्णु तामाङले गाउँमा महिलाहरुका लागि मात्रै छुट्टै स्वास्थ्य शिविर सञ्चालन गरेर ठूलो सहयोग गरेको बताउनुभयो । ‘पहिलो कुरा रोग लाग्न नदिनु नै महत्वपूर्ण हो । आफ्नो शरिरमा रोग छ कि छैन् भनेर आफ्नै ठाउँमा निःशुल्क जाँच्न पाउनु अर्को महत्वपूर्ण पक्ष हो । आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ ।’ वडा अध्यक्ष तामाङले भन्नुभयो ।

फाउण्डेशनका अध्यक्ष थोकरले ग्रामीण भेगका महिलाहरुमा लुकेर रहेको रोग पत्ता लगाउन सञ्चालन गरिएको बताउनुभयो । ‘हाम्रो फाउण्डेशनले ग्रामीण भेगमा पुगेर विभिन्न सहयता सम्बन्धित काम गर्दै आइरहेको छ । यो पनि त्यसैको निरन्तरता हो । शिविरबाट अप्रेशनका लागि छनौट भएकाको पनि हामी निःशुल्क अप्रेशन गर्ने छौँ ।’ डा. थोकरले भन्नुभयो ।

एक पटक पढ्नुहोस