After header

सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्छ ः राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहना अनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताएका छन् ।काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको आइतबार उदघाटन गर्दै पौडेलले संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्ने जोड् दिए ।

विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पुरा गर्नुपर्ने पौडेलले बताए ।
‘कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ’ राष्ट्रपति पौडेलले भने ,

“स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ, हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ । ” त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भएपनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुने विश्वास व्यक्त गरे ।
नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठूला कोठा, दुई वटा हल, प्रत्येक फ्लोरमा अपाङ्गता मैत्री शौचालय, महिला र पुरुषका लागि छुट्टै शौचलय निर्माण तथा लिफ्ट जडान गरिएको नगरले जनाएको छ ।१६ करोड १९ लाख ७९ हजारको लागतमा तयार भएको भवनको लागि संघीय समपुरकबाट १ करोड ८० लाख रुपैयाँ, जिल्ला समन्वय समिति काभ्रेपाञ्चोकबाट २ करोड रुपैयाँ, संघीय अनुदान (डोलिडार) बाट २ करोड ४० लाख रुपैयाँ तथा बाँकी रकम नगरपालिबाट स्रोत साझेदारी गरी बजेट ब्यवस्थापन भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नगरपालिका उपप्रमुख विष्णुमणि नेपाल राखेका थिए भने भवनको विषयमा नगर प्रमुख टोकबहादुर वाईवाले राखेका थिए । कार्यक्रममा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, पूर्वमन्त्री गोकुल बास्कोटा, सूयमान दोङ, सघीय सांसद रुकमणी बराईली, प्रदेश मन्त्री लक्ष्मण लस्साल, निर्वतमान मन्त्री तिर्थ लामा लगायत विभिन्न नगरका प्रमुख, उपप्रमुख एवं सरकारी निकायका प्रमुखहरु उपस्थिती रहेको थियो । कार्यक्रयमा विभिन्न जातजातिले आफ्नो सांस्कृतिक कला प्रस्तुत गरेका थिए ।

हेलिकोप्टर मार्फत आएका राष्ट्रपति मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको उदघाटन गरेर पनौती नगरपालिका वडा नं ११ लड्केश्वारमा भएको कोटिहोमको पनि दर्शन गरेका छन् ।

एक पटक पढ्नुहोस