सिन्धुली । नेपाल टेलिकमको टावरमा गएराति कुकर बम विष्फोट भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विष्फोट प्रहरीले जनाएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो ।
विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो । टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईँमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको र विष्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको सिन्धुलीका प्रवक्ता एवम् डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।
