After header

काभ्रेको रोशी–१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू घोषणा

काभ्रे । जाभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ । बुधबार गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भएको हो ।

उक्त घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले शिक्षामा संबैधानिक व्यबस्था कार्यन्वयनको अवस्थामा रहेको बताए । अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा उल्लेख भएबमोजिम सरकारको तर्फबाट गर्नुपर्ने कुराहरू सरकारले गर्नुपर्ने र अभिभावकले गर्नुपर्ने कुराहरू अभिभावकले गर्नुपर्ने लामाले बताएका छन् ।

‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा विविध कुराहरू उल्लेख गरिएको छ । बालबालिकाको पहुचमा विद्यालय नभएमा सरकारले व्यवस्था गर्नुपर्छ, गर्छ र अभिभावकले गर्नुपर्ने कुराहरुपनि अभिभावकले गर्नुपर्यो ।’ उनले भन ।जेठको तेस्रो सातासम्ममा गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने कार्यबिधी तय गरेर अगाडि बढेको लामाको भनाइ छ । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणापश्चात् विद्यालयहरुले कुनैपनि बहानामा कुनैपनी शुल्क लिन नपाउने लामाले जोड दिए । ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू घोषणा भएको छ ।

आजकै दिनबाट कुनै पनि बहानामा बालबालिकालाई शुल्क लिन बन्द गरौ ।’ लामाले भने, ‘बरु विद्यालय संचालनका लागि समस्या छ भने थोरबहुत हामी सहयोग गर्छौ ।’समाज बिकासको ढोका शिक्षा भएको उनले बताए । शिक्षा बिना समाज बिकास नबढ्ने बताउदै समाज बिकासको आधार नै शिक्षा भएको लामाले बताए । त्यसैकारण शिक्षाको सुधारमा लाग्नु पर्ने उनको भनाइ छ ।

उपाध्यक्ष मिमबहादुर वाइबाले रोशीको कुनैपनी बालबालिका विद्यालय बाहिर हुनुनहुने बताएका छन । ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भएपछि कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको देख्न नपरोस । सबै बालबालिका विद्यालयमा हुनुपर्छ ।’ उपाध्यक्ष वाइबाले भने, ‘अभिभावकले पनि कुनै पनि बहानामा बालबालिका घरमा रोक्नु हुदैन ।’

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार २०७६ सालदेखि २०८५ सालसम्ममा शिक्षालाई सवलीकरण गर्नको लागि नेपाल सरकारले सार्वजनिक शिक्षा सवलीकरण दर्शण भोषणा गरेको छ । संवैधानिक व्यवस्थामा अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था रहेको उनले बताए ।

त्यसलाई कार्यान्वयनका लागि अनिवार्य तथा निःशुल्क शिक्षा लागु घोषणा गरेको तामाङले जानकारी दिए । ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिका अर्थात आधारभूत शिक्षा अनिवार्य र निशुल्क गर्नुपर्ने तामाङको भनाई छ । अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अबिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधा (नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र) नपाउने उनको भनाई छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ र राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । सोही अनुसार रोशी गाउँपालिकाले पनि शिक्षा नीति २०८० पारित गरेको उनले बताए ।

वडा नं. १० भित्र रहेका ५ वटा विद्यालयबाट समुदायमा सर्बोक्षण गरि सबै बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको एकिन गरेको थियो । सो वडाको ५ सय ४९ घरधुरीमा ६ सय ३५ बलबलिका रहेकोमा सबै विद्यालय जानेगरेको सर्वोक्षणले देखाएको छ । जसमा ४ देखि १३ बर्षसम्मका ४६७ जना र ० देखि ४ बर्षसम्मका १६८ जना बालबालिका रहेका छन् ।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखा अधिकृत भिम भट्टराई, पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेस रोशी गाउँपालिका समितिका सभापति दुधराज लामा लगायतले अनिवार्य तथा निःशुल्क शिक्षा आजको आवश्यकता भएको बताएका थिए ।

उक्त घोषणा कार्यक्रम वडा नं. १० का वडाध्यक्ष विकेन लामाको सभापतित्वमा भएको कार्यक्रममा रोशी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, अविभावक, विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, बाल क्लवका प्रतिनिधिहरू लगायत शिक्षामा सारोकार राख्ने व्यक्तिहरूको उपस्थितीमा हस्ताक्षर गरेर घोषणा गरेका थिए ।

एक पटक पढ्नुहोस