काभ्रे । धुलिखेलका विभिन्न वडाका ४८ जना ब्यक्तिहरुलाई वेटर÷वेट्रेस तथा हाउसकिपिङ तालिम दिएको छ । रोजगार सेवा केन्द्र, धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा ग्लोवल इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टर प्राली भक्तपुरको प्राविधिक सहयोगमा धुलिखेलका विभिन्न वडाका ४८ जना ब्यक्तिहरुलाई वेटर÷वेट्रेस तथा हाउसकिपिङ सम्वन्धी १ सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदान गरिएको छ ।
सहभागिहरुलाई एक कार्यक्रमका बीच धुलिखेल नगरपालिकामा प्रमाणपत्र वितरण गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले धेरै भन्दा धेरै ब्यक्तिहरुलाई रोजगार उपलब्ध गराउने गरी नगरपालिकाले परिषद् गठन गरी सीप तथा क्षमता अभिबृद्धि, उद्यमशिलता र शशक्तिकरण सम्वन्धि तालिम प्रदान गरिरहेको बताए ।
नगर प्रमुख ब्याञ्जुले धुलिखेलमा रहेका होटल तथा लजहरु, अन्य संघ संस्थाहरु तथा विभिन्न क्षेत्रमा रोजगारको अवसर सिर्जना गर्ने गरी कार्य गरिरहेको बताउँदै सहभागिहरुलाई अवसरका आधारमा तालिम र सीप लिन, लिएको सीपलाई ब्यवहारमा कार्यान्वयन गर्न, आत्मनिर्भर बन्न तथा रोजगारमुलक कार्य गर्न सुझाव दिए ।
कार्यक्रममा उपप्रमुख निराजन जंगमले धुलिखेल पर्यटकिय क्षेत्र भएकाले सिकेको सीपलाई ब्यवहारमा कार्यान्वयन गर्न मेहनत, इमान्दारीता र निरन्तरता आवश्यक रहेको बताए । धुलिखेल नगरपालिका गरिरहेका कार्यहरुले रोजगारको अवसर सिर्जना भएको उनले बताए ।
तालिम पश्चात अधिकांश ब्यक्तिहरुले रोजगार प्राप्त गर्ने उदेश्यले विभिन्न होटल तथा ट्रेनिङ्ग सेन्टर, उद्योग बाणिज्य संघ तथा विभिन्न संघ संस्थासँग समन्वय गरिएको रोजगार संयोजक सम्झना शर्मा नेपालले बताईन् ।तालिममा सहभागिहरु मध्ये केहिलाई हायात होटल, केहिलाई भक्तपुरको सुमेरु होटल तथा अन्य विभिन्न संघ सस्थाहरुले प्रशिक्षार्थी कामदारका रुपमा पारिश्रमीक सहित उपलब्ध गराउने गरी छनौट गरेका छन् ।
‘तालिम प्राप्त गरेका ब्यक्तिहरुले घर छाडेर हिड्न चाहेको अवस्थामा उपत्यकाका विभिन्न होटल तथा संघ संस्थाहरुमा अवसर उपलब्ध भईसकेको छ’–संस्थाकी अध्यक्ष निर्मला कक्षपतिले भनिन–‘सकेसम्म तालिम लिएका ब्यक्तिहरुले धुलिखेल नगरपालिका भित्र नै रोजगार खोजेकाले स्थानीय सेवा प्रदायक संस्थाहरुसँग समन्वय गर्ने कार्य भईरहेको छ ।’
कार्यक्रममा वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक नारायण बडाल, वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठ, क्षेत्रिय होटल संघका अध्यक्ष प्रमेकण्ठा श्रेष्ठ, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठ एवं पदाधिकारीहरु, संस्थाकी अध्यक्ष निर्मला कक्षपति, प्रशिक्षकद्धय रस्मि अवाल र सविना थापा मगर, प्रशिक्षार्थीहरु शंकर दियाली, लक्ष्मण विक र कविता मिजार लगायतले अनुभव सहितका धारणा राखेका थिए ।
वेटर÷वेट्रेसका लागि २५ वर्ष उमेर भित्रका युवाहरुलाई तालिम प्रदान गरिएको छ भने हाउस किपिङका लागि उमेर समुह राखिएको थिएन । धुलिखेल नगरपालिकाले बेरोजगारको सूचिमा राखेका घर परिवारका सदस्यहरुका तर्फबाट उक्त तालिममा सहभागि गराईएको रोजगार संयोजक सम्झना नेपालले बताईन् ।
