काभ्रे । नमोबुद्ध नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गरेको छ । नगर कार्यपालिकाको निर्णयअनुसार नै शिक्षक दरबन्दी मिलान गरेको नगरले जनाएको छ । दरबन्दी मिलानका क्रममा नगरका समुदायिक विद्यालयमा कार्यरत ३२ जना शिक्षक हेरफेर गरिएको हो । नगर शिक्षा शाखाका अनुसार विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी मिलान सुरु गरिएको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थी अनुपात नमिलेको, गुणस्तरीय शिक्षण–सिकाईं नहुँदा एइई परीक्षामा कम विद्यार्थी मात्रै उत्तिर्ण भएकाले शिक्षक दरबन्दी मिलान अनिवार्य भएकोले सोही अनुसार गरिएको जनाइएको छ । नगरप्रमुख कुन्साङ लामाले नियम–कानुनसम्वत् हिसावले नै शिक्षकको दरबन्दी मिलान गरिएको बताए ।
उनले भने ‘आवश्यकता अनुसार नै कानुनसम्वत् दरबन्दी मिलाउन गरिएको छ, यसमा कुनै आग्रह–पूर्वाग्रह राखिएको छैन, सुरुवा भई गएका शिक्षकलाई हाजिर गर्न भनिएको छ ।’ लामाले नगरको निर्णयबिरुद्ध शिक्षकहरु हाजिर नभई आन्दोलनमा गए आफु पनि कानुन अनुसार जाने चेतावनि दिए ।
हाजिर गर्न नजाने शिक्षकको तलब रोक्का गर्नेसमेत नगरप्रमुख लामाले बताए । ‘नगरले विद्यालयलाई पत्राचार गरिसकेको छ, सोहीअनुसार नभए, सोही दिनदेखिको तलब काटिन्छ, नगरको निर्णय लत्याएर विद्यालयनै नगए उनीहरुको तलबै काटेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नदिई करारमा शिक्षक नियुक्ति गरेर भएपनि नगरले शिक्षण सुचारु गर्नेछ’ शिक्षा समिति संयोजकसमेत रहेका लामाले भने ।
नगर शिक्षा शाखाले पनि कुनै पूर्वाग्रह नराखी शिक्षकको दरबन्दी मिलान गरेको जनाएको छ । शाखा प्रमुख कल्पना घिमिरेले नियमसंगत रुपमा गरिएको दरबन्दी मिलानबारे चित्त नबुझे नगरमा हैन, शिक्षकलाई शिक्षा मन्त्रालयमा जान आग्रह गरिन् । उनले भनिन् ‘बन्द भएको विद्यालयमासमेत शिक्षकले तलब खाँदै आएका रहेछन्, त्यहाँका शिक्षकलाई अन्तै पठाउने कुरा गलत हुन्छ ?
कम विद्यार्थी भएको विद्यालयबाट अन्त पठाउनु र विद्यार्थी धेरै भएको विद्यालयमा शिक्षक थप्नु नै विद्यार्थी अनुपातको दरबन्दी मिलान हो ।’ घिमिरेले सरुवा गरिएका विद्यालयमा हाजिर गर्न नगए शिक्षकको तलब नै रोक्का गर्नेसमेत बताइन् । ‘अझ विद्यालयमा भएकाभन्दा बढी विद्यार्थी देखाएर रकम लिइएको पाइयो, यो कत्तिको नैतिकता हो ?
यो निर्णयबाट पछि हटिन्न’ आन्दोलनरत शिक्षकलाई लक्षित गर्नै उनले भनिन् ‘सरुवा चित्त नबुझे सडकमा आन्दोलन हैन अदालतमासमेत जान सक्नुहुन्छ ।’ उनका अनुसार नगरले यो बर्ष दरबन्दी मिलानकार्य सकिएकाले आउँदो फागुन÷चैतमा विद्यालय ‘मर्ज’ गरिने योजना बनाइएको छ ।
वडा नं ४ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीले दरबन्दी मिलान प्रक्रिया अघि बढाएकोमा खुसी ब्यक्त गर्दै आफ्नो वडामा पनि तीन सामुदायिक विद्यालयमा शिक्षा सरुवा भएकाले दरबन्दी मिलाउनअनुसारनै जाने बताए । उनले भने ‘नगरको निर्णय शिक्षकले मान्नुपर्छ, अटेर गरी हाजिर गर्न नआए नियमसम्बत हिसावले अघि बढ्छौँ ।
’ यस्तै वडा नं ३ का वडाध्यक्ष रमेश तिवारीले आफ्नो वडामा पनि दरबन्दी मिलानका क्रममा तीन जना शिक्षक सरुवा भएको बताउँदै उहाँहरुनगरको नियमसम्वत् भएको दरबन्दी मिलानमा विद्यालयमा हाजिर हुने आशा गरिएको बताए । उनले भने ‘कानुभन्दा माथि कोही छैन, स्थानीय तह (नगर कार्यपालिका) आफैंमा एउटा सरकार हो, कुनै पार्टी नेहेरी गरिएको दरबन्दी मिलानअनुसार नै शिक्षकहरु जानुपर्ने हुन्छ ।’
नगरको वडा नं ४ स्थित जनक माध्यमिक विद्यालयमा ८७५ विद्यार्थी भएकोमा १२०० देखाएको घिमिरेले जानकारी दिइन् । उक्त विद्यालयमा अनुगमनका क्रममा उनले आफैं ८७५ विद्यार्थी रहेको दावी गरिन् । नगरमा ३९ सामुदायिक विद्यालय रहेका छन् । यसैबीच, नगरद्वारा गरिएको दरबन्दीप्रति असहमति जनाउँदै स्थानीय शिक्षकको छाता संगठनले उपप्रमुख रत्नबहादुर लामालाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै लामाले शिक्षा–काननुनअनुसार नै दरबन्दी मिलानमा नगर अघि बढेको उल्लेख गर्दै यसबारे शिक्षा समितिमा छलफल गरिने बताए । उक्त दरबन्दी मिलानबारे असन्तुष्टी जनाउँदै शिक्षकका संघसंगठनले पनि स्थानीय शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाएका छन् । तीन संघसंगठनद्वारा संयुक्त विज्ञप्ति जारी गर्दै कानुनविपरित र पूर्वाग्रहपूर्ण तथा नियतबस गरिएको दावी गरेका छन् ।