काभ्रे । जाडोयाम सुरु भैसक्दा पनि काभ्रेपलाञ्चोकमा डेंगु सङ्क्रमण हटेको छैन । दैकिजसो डेंगु सङ्क्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय धुलिखेलको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार पछिल्ला केही हप्तादेखि जिल्लामा दैनिक डेंगु सङ्क्रमण नियमित देखिएको हो ।
हाल जिल्लाको बनेपा नगरपालिका डेंगु सङक्रमणको ‘हटस्पट’का रुपमा रहेको पाइएको छ । चार महिना एक हप्ताको अवधिमा यहाँ सबैभन्दा बढी एक सय २७ पुरुष र एक सय १८ महिला गरी दुई ४५ जनामा सङ्क्रमण देखिएको छ । बितेको करिब चार महिनाको अवधिमा काभ्रेपलाञ्चोकको १३ मध्ये १२ स्थानीय तहमा फैलिएको डेंगु सङ्क्रमण अघिल्ला बर्षको सङ्ख्याको हाराहारिमा पुगिसकेको छ । यस अवधिमा छ सय ६८ जनामा डेंगु सङ्क्रमण पुष्टी भएको कार्यालयले जनाएको हो । यो संख्या गत आर्थिक बर्षको भन्दा दोब्बरबढी हो ।
कार्यालयका अनुसार चालु आर्थिक बर्षको शनिबार साँझसम्म तीन सय ५० पुरुष र तीन सय १८ महिलामा डेंगु सङ्क्रमण भएको हो । शनिबार पुष्टि भएका डेंगु सङ्क्रमितमध्ये बनेपा नगरमा दुई र पाँचखालमा नगरका एक जना रहेको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार शुक्रबार दुई, विहीबार चार, बुधबार दुई जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म खानीखोलाबाहेक १२ स्थानीय तहमा डेंगु सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपती श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक बर्षको चार महिनाको अवधिमा अघिल्ला बर्षको सङ्ख्याकै हाराहारिमा डेंगु सङ्क्रमण फैलिएको छ । बिगतका बर्षमा झैँ जाडोयाम सुरु भैसक्दा डेंगु सङ्क्रमण घट्नुपर्नेमा यस बर्ष सङ्क्रमणदर नघट्नुको कारणबारे अनुसन्धान भइरहेको श्रेष्ठले बताइन् ।
उनका अनुसार चालु आर्थिक बर्षमा जिल्लास्तर तथा स्थानीय तहमा डेंगु परीक्ष्ण बढाईएकाले पनि संख्या अधिक देखिएको हो । ‘संक्रमण हुन नदिन नागरिक आफुपनि सचेत हुनुपर्छ, कार्यालयले पनि विविध सचेतनाका कार्यक्रम एवं गतिविधि गरिरहेको छ’ श्रेष्ठले भनिन् । कार्यालयका अनुसार बनेपामा जनघनत्वका आधारमा पनि डेंगुका बिरामी बढी भएको हुनसक्ने बताइयो ।
यस्तै हाल धुलिखेलमा एक सय ६, पाँचखालमा एक सय ११, पनौतीमा ९२, भुम्लुमा ३५, मण्डनदेउपुरमा ४२, नमोबुद्धमा १५, रोशीमा १२, बेथानचोकमा चार, चौंरीदेउरालीमा दुई तथा तेमाल र महाभारतमा २÷२ जनामा डेंगु सङ्क्रमण देखिएको हो । चालु आर्थिक बर्षमा हालसम्म खानीखोला गाउँपालिकामा भने डेंगु संक्रमण देखिएको छैन ।
गत आर्थिक बर्षमा काभ्रेपलाञ्चोकमा दुई सय ५१ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने आव २०७९÷०८० मा छ सय ८२ तथा आव २०७८÷०७९ मा चार सय ८७ जनामा डेंगु सङ्क्रमण देखिएको जनाइएको छ । सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम तथा सङ्क्रमण नियन्त्रणका लागि प्रत्येक शुक्रबार ‘दश बजे दश मिनेट’–‘खोज र नष्ट गर’ अभियानसमेत सञ्चालन गर्दै आइएको कार्यालयले जनाएको छ । डेंगुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।
लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने ब्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए विरामीको मृत्युसमेत हुने गर्दछ । आजको काभ्रे सन्देश साप्ताहिकबाट
