काभ्रे । लोकतान्त्रिक सस्कार र पद्धतिका लागि प्रजातान्त्रिक विचार समाजको मूल नारा सहित ७५ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा विचार स्मारिकाको तेस्रो अङ्क लोकार्पण गरिएको छ । प्रजातान्त्रिक विचार समाज काभ्रेको आयोजनमा ७५औँ प्रजातन्त्र दिवसका अवसरमा प्रकाशित ‘विचार’–तेस्रो सस्करणको आज एक कार्यक्रमको बिच लाकोर्पण गरिएको छ ।
काभ्रेको बनेपामा आयोजित कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्व कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेलगायत शैक्षिक विज्ञ तथा साहित्यकारले संयुक्त रुपमा उक्त प्रकाशनको लोकार्पण गरेका थिए ।६४ पृष्ठमा प्रकाशित विचारको तेस्रो संस्करणमा १९ जनाको प्रजातान्त्रिक विचार–लेख समेटिएको छ ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले ‘फागुन ७’लाई प्रजातन्त्रको आधुनिक यात्रा तय गरिएको दिन सम्झँदै नेपाली नागरिकले ‘उपहार’ मान्नुपर्ने बताए । उनले भने, “फागुन ७ ले चेतनाको विद्रोहलाई स्थापित गर्दै समानता दिलाएको छ, यसलाई चानचुने ठान्नुहुन्नँ ।”
वाग्लेले समाजजस्ता संस्थाहरुले विचार, यात्रा, प्रकाशन, विज्ञप्ति तथा गोष्ठीहरुमार्फत प्रजातान्त्रिक विचार प्रसार गर्दै जाने बताए । उनले समाजको ७२ जिल्लामा शाखा बिस्तार भैसकेको र मधेस प्रदेशका जिल्लामा बिस्तारको प्रक्रिया अघि बढेको जानकारी दिए । समाजका जिल्लाध्यक्ष श्याम भट्टराईले समाजवादउन्मुख परिस्थितिलाई प्रजातान्त्रिक विचारमार्फत चेततना फैलाउन विचार–३ प्रकाशनमा ल्याइएको बताए ।
सो अवसरमा नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष शुभलक्ष्मी मानन्धर, राष्ट्र बैंकका पूर्व उपनिर्देशक भुवनेश्वर भट्टराई, शिक्षासेवीद्वय भोला केसी र चुडाप्रसाद चौलागाई तथा समाजको आजीवन सदस्य मञ्जु आचार्य घिमिरेले प्रजातान्त्रिक विचारले समाजलाई चेतनशील र उत्तरदायी बनाउन मद्दत पुग्ने विचार व्यक्त गरेका थिए ।
