काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका भित्र अवैध रुपमा सञ्चालन भएका चार क्रसर खानी बन्द भएका छन् । बेथानचोक गाउँपालिकामा अवैध रुपमा सञ्चालित गाउँपालिकाले अनुगमनपश्चात एक सूचनामार्फत वडा नं ४ र ५ का विभिन्न स्थानमा अवैधरुपमा सञ्चालनमा रहेका चार खानी तथा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिँदै कारबाही प्रक्रियासमेत अघि बढाइएको जनाएको छ ।
शुक्रबार गाउँपालिकाको उपाध्यक्ष तारा राना तिमिल्सिनाको नेतृत्वको टोलीले बेथानचोक–५ स्थित चण्डेश्वरी बालुवा उद्योग, लड्केश्वर ढुंगा तथा स्टोन उद्योग, खाल्टे स्टोन ढुङ्गा खानी र वडा नं ४ स्थित आरएस चलाल इन्डस्ट्रिज प्रालि बन्द गराउन निर्देशन दिइएको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको निर्देशनअनुसार उक्त गाउँपालिकाले स्थलगत निरीक्षण गरी यही बुधबार सिफारिस गरिएपछि ती खानी तथा उद्योगलाई बन्द गर्न निर्देशन दिइएको तिमिल्सिनाले जानकारी दिईन् । काभ्रे जिल्लामा अवैधरुपमा सञ्चालित सात वटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ ।
दुई स्थानीय तहले आफ्नो क्षेत्रमा अवैधरुपमा सञ्चालित खानी तथा क्रसरको अनुगमन गरी बन्द गराएका हुन् ।
