After header

शान्ति पदयात्राको उद्घाटन प्रथम राष्ट्रपति डा रामवरणद्वारा

काभ्रे । बुद्ध जयन्तीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म आयोजित बृहत शान्ति पदयात्राको आज प्रथम राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गरेका छन् । बुद्ध जयन्तीको अवसर पारी काभ्रे सेवा समाज नामक संस्थाद्वारा आयोजित शान्ति पदयात्राको दुरी ९ दशमलव ५ किलोमिटर रहेको छ ।

पदयात्रा उद्घाटन कार्यक्रममा डा. यादवले गौतम बुद्धका सन्देश हरेक ब्यक्तिका लागि जीवनपयोगी भएको उल्लेख गर्दै बुद्धका सन्देशलाई देशविदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्न आग्रह गरे । परिवर्तित समयमा पनि गौतम बुद्धका सन्देश देशविदेशका हरेक नागरिकका लागि जीवनोपयोगी छन्, यसलाई विश्वव्यापी व्यापकता बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नुस्, उनले भने ।

पदयात्रा शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने तथा स्थानीय कला, सँस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले गौतम वुद्धले पाईला टेकेको पनौतीको मानेश्वरीदेखिे सुन्थान–ईंटे–शंखु–शंखेश्वरी–जंगलहुँदै नमोवुद्धसम्म साँस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।। समाजले यसअघि २०८० साल असोजमा सोही ‘रुट’मा पदयात्राको आयोजना गरेको थियो ।

सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेपलाञ्चोकको विभिन्न धार्मिक, साँस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रबद्र्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्वपूर्ण हुने विश्वास गरिएको छ । पदयात्रामा जिल्लास्थित विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार–व्यवसाय, नागरिक समाज, कानुन तथा सञ्चारकर्मीलगायत क्षेत्रका प्रतिनीधिलगायत पाँच सयको सहभागी रहेको थियो ।

एक पटक पढ्नुहोस