काभ्रे । तरकारी र खाद्यान्नको भण्डारको रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । गत जेठ अन्तिमसाता विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालिमाटीका प्राविधिकहरुद्वारा सङ्कलित विभिन्न १५ जातका तरकारी परीक्षण गर्दा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) निकै कम देखिएको हो ।
प्राविधिक टोलीले पाँचखालका कृषकको खेतबारीमै पुगेर उत्पादित लौका, तुनेबोडी, काँक्रो, गालेभेंडा, बुलेट खुर्सानी, बन्दा, हरियो फर्सी, भेंडे खुर्सानी, रायो साग, हरियो धनियाँ, भिण्डी, तितेकरेला, भण्टा, घिरौला सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा ती तरकारीमा सरदर शुन्य दशमलव २१ देखि १२ दशमलव २४ प्रतिशत देखिएको हो ।
विषादी अवशेष द्रुत विश्लेषण कार्यविधी, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख छ ।
बिगत तीन बर्षदेखि नियमित गरिएको परीक्षणले पाँचखालमा उत्पादित तरकारी सुरक्षित र खानयोग्य नै रहेको नगर कृषि शाखाले जनाएको छ । शाखाका अनुसार पछिल्ला केही बर्षदेखि विषादी प्रयोग कम तथा जैविक विषादीको प्रयोगदर बढ्दै जानुले पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत घट्दै गएको हो । यसअघिका बर्षमा पाँचखालको तरकारीमा सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको परीक्षण प्रतिवेदनले देखाएको जनाइएको छ ।
नगरले ‘पाँचखाल नगर–कृषि सहर’को नारासँगै खाद्यान्न एवं तरकारी बालीमा विषादी न्यनीकरण गर्न लभग्रीन नेपाल नामक संस्थासँग सहकार्य गर्दै आएको थियो । “पाँचखालमा विषादीरहीत ताजा तरकारी उत्पादन र स्वच्छ पिउने पानीका लागि निकै ठूलो प्रयासहरु भइरहेका छन्, हामीले यी दुई विषयलाई प्राथमिकता दिँदै आएकाले सार्थकता पाउँदैछ” नगर प्रमुख महेश खरेलले भने ।
नगरले माटो परीक्षण, माटोको क्षमता सुधारका लागि चुन वितरण, कृषकलाई जैविक विषादी निर्माणार्थ नियमित तालिम, तरकारी तथा अन्य बालीमा जैविक विषादीको प्रयोग र विद्यालयस्तरदेखिनै विषादीविरुद्धको चेतनामुलक कार्यक्रमले पाँचखाल क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग न्यून बन्दै गएको जनाएको हो ।
नगर प्रमुख खरेल भन्छन्, “तरकारी तथा अन्य बाली अर्गानिक उत्पादन गर्न गरिएका क्रियाकलाप सकारात्मक देखिएको छ, हामीले निरन्तर गरेका परीक्षणमा पनि रासायनिक मल र विषादीको प्रयोग साह्रै न्यून रहेको निष्कर्ष निकालेका छौँ ।” उनका अनुसार लभग्रीन नेपालले पाँचखालको अग्र्यानिक तरकारी उत्पादनमा निकै ठूलो सहयोग गरेको छ ।
नगरले स्थानीयस्तरमा उत्पादन भएको तरकारीको पाँचखालमै नियमित रुपमा परीक्षण, ग्रेडिङ्, लेबलिङ् र प्याकेजिङ गरी बजारमा पु¥याउने कार्यको प्रक्रिया अघि बढाउने खरेलले बताए । खरेलका अनुसार नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिव चार बर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायतका बाली अर्गानिक हुँदै गएका हुन् ।
खरेलले भने, “लवग्रीन नेपालको थप परियोजना सञ्चालनले ‘पाँचखाल नगर ः कृषि सहर’को अभियानलाई सार्थकता दिनेमा विश्वस्त हुनुपर्छ ।” लवग्रीन नेपालले पाँचखालका विभिन्न स्थानमा विगत चार बर्षदेखि १८ महिने एकीकृत शत्रुजीव ब्यवस्थान प्रविधि (आईपीएम) कृषक पाठशाला सञ्चालन गर्दै आएको थियो ।
हालसम्म नगरका एक हजार दुई सय अगुवा कृषकले विभिन्न चरणमा उक्त कृषक पाठशालामा अध्ययन गरिसकेका छन् । तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै पाँचखाल नगरको सबै क्षेत्रमा जैविक विषादी प्रयोगतर्फ लैजान उनीहरुलाई समय र मौसमको तालिका मिलाएर २२ थरीका आईपीएम प्रविधि पढाईएको थियो ।
यस्तै उक्त संस्थाले विद्यालय तहदेखिनै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित पाँचखाल नगरका १३ सामुदायिक तथा सात नीजि माध्यमिक विद्यालयका विद्यार्थीलाईसमेत सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
विद्यार्थीलाई कक्षामै अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यायवरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराउँदै आइएको संस्थाका निर्देशक नारायण ज्ञवालीले बताए ।
