काभ्रे । पछिल्ला केही बर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको तथ्याङ्कले देखाएको छ । जिल्लाको १३ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो । बाढीपहिरो, वन फँडानी, जथाभावी पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण पानीका मुहान सुक्दै गएको सरोकालवाला निकायले जनाएका हुन् ।
यसकारण पानीको मुल र मुहान सुक्दै जाँदा स्थानीयले पानी खोज्दै टाढा–टाढा धाउनुपर्ने, वर्षाको पानी सङ्कलन गर्नुपर्ने र बसाइँसराइसमेतका समस्या झेल्नुपर्ने देखिएको हो । विशेषगरी जिल्लाका सात स्थानीय तहले यी समस्यालाई मध्यनजर गर्दै पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रको संरक्षण गर्न नीतिगत रुपमा छलफल गरेका छन् ।
धुलिखेल नगरपालिका, पनौती नगर, पाँचखाल, नमोबुद्ध, बेथानचोक गाउँपालिका, रोशी र तेमाल गाउँपालिकाका जनप्रतिनिधिले मूलाधार तथा जलाधार संरक्षण गर्ने विषयमा नीतिगत रुपमा छलफलमा जुटेका हुन् । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन (इसिमोड)द्वारा आयोजित खानीपानीको मूल र मुहानको मूलाधार तथा जलाधार संरक्षणसम्बन्धी दुई दिने कार्यशालामा उनीहरुले मुहानको अवस्था, मुहानमा देखिएको समस्या, मुहान सुक्दै जानुका कारण समस्या समाधान गर्न गरिने नीतिगत पहलका विषयलाई प्राथमिकतामा विषयमा छलफल गरेका छन् ।
गत सालको असोज दोस्रो साता आएको बाढीपहिरोजस्ता विपद्ले जिल्लाका अधिकांश क्षेत्रका खानेपानीको मुहानमा धेरै क्षति पु¥याएकाले खानेपानीको अभावले विभिन्न समस्या देखिएको जनप्रतिनिधिले उल्लेख गरेका छन् । सोहीअनुरुप स्थानीय तहले पनि आ–आफ्ना नीति तथा कार्यक्रममा उक्त विषयलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् ।
यसअघि जिल्लाको सात स्थानीय तहको सहकार्य र समन्वयमा इसिमोडले ती तहमा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा सर्वेक्षण गरेको थियो । सन् २०२३ को नोभेम्बरदेखि जुन २०२४ सम्म गरिएको सर्वेक्षण्मा जिल्लाको ७ स्थानीय तहमा ५ हजार ६ सय ८९ कुल स्रोत मापन गरिएको थियो ।
सर्वेक्षणमा ५ हजार १ सय ६८ मूल तथा मुहान र ५ सय २१ वटा पोखरी पहिचान भएका थिए । ती तहमा गरिएको सर्वेक्षण अनुसार २७ प्रतिशत अर्थात् एक हजार ५ सय २१ स्रोतहरु सुक्खा भएको देखिएको जनाइएको छ । सात तहमध्ये पाँचखाल नगरमा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा गरिएको सर्वेक्षणमा १ हजार ६७ कुल स्रोत मापन गरिएको छ । तेमाल गाउँपालिकाको तथ्याङ्क पनि उस्तै रहेको देखिएको छ ।
तेमालमा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा गरिएको सर्वेक्षणमा ७ सय ३६ स्रोतको मापन गरिएमध्ये ६ सय ६४ मुहान र ७२ पोखरीको पहिचान भएको छ । जसमध्ये ४० प्रतिशत मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको पाइएको हो ।
कुल सर्वेक्षणमा ८ सय ३८ मूल तथा मुहानको सङ्ख्या र २ सय २९ वटा पोखरीको पहिचान भएको थियो । सर्वेक्षणअनुसार ४० प्रतिशत स्रोतहरु सुक्खा भएको देखिएको जनाइएको छ ।
यस्तै, धुलिखेल नगरमा गरिएको सर्वेक्षणमा १ हजार १ सय ७४ वटा स्रोतको मापन भएकोमध्ये १ हजार ६४ वटा मूलको सङ्ख्या र १ सय १० पोखरीको पहिचान भएको थियो । यसमध्ये २९ प्रतिशत पानीको मुहान र जलाधार क्षेत्र सुक्खा रहेको पाइएको हो । रोशी गाउँपालिकामा ९ सय ६९ खानेपानीको स्रोतमध्ये ९ सय २३ मूल सङ्ख्या र ४६ पोखरीको पहिचान गरिएको छ ।
यस्तै, रोशीमा २२ प्रतिशत पानीको मुहान र जलाधार क्षेत्र सुक्खा रहेको पाइएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । नमोबुद्ध नगरमा ४ सय ८० स्रोतको मापनमध्ये ४ सय ५० मूल सङ्ख्या र ३० पोखरीको पहिचान भएको छ भने २० प्रतिशत स्रोत सुक्खा देखिएको छ । यसैगरि बेथानचोकमा ३ सय ८५ वटा मूल तथा जलाधारको मापन गरिएकोमध्ये ३ सय ७७ मूल सङ्ख्या र ८ पोखरीको पहिचान भएको छ ।
यस्तै पनौतीमा ८ सय ८० कुल स्रोत मापन गरिएकोमा ८ सय ५४ वटा मूल सङ्ख्या र २६ पोखरीको पहिचान भएकोमध्ये १० प्रतिशत मात्रै सुक्खा क्षेत्रको पहिचान भएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।यसैबीच गतसालको असोजको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनर्जिवीत कार्यक्रम प्रभावित बनेको छ ।
कार्यक्रम सञ्चालनका लागि जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा ब्याप्त पानीको समस्यालाई सम्बोधन गर्न तथा समुदायको नेतृत्वमा सोही क्षेत्रका पानीका मुहान संरक्षण गर्ने अभियानमा सम्झौता गरेका थिए् । प्रकृतिमा आधारित समाधानका माध्यमबाट मुलधार संरक्षण कार्यक्रमका लागि सन् २०२४ जनवरी पहिलो साता इसिमोडसँग जिल्लाका सात स्थानीय तहका जनप्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका थिए ।
कार्यक्रम सञ्चालनको तयारीस्वरुप स्थानीय तहमा विभिन्न समुदायमा छलफल चलाउने क्रममा रहँदा गत असोजमा आएको बाढीपहिरोका कारण उक्त अभियान रोकिएको जनाइएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा भने, “केही स्थानमा सुकेको मुहान पहिचानसँगै छलफल चलाउँदै थियौँ, बाढीपहिरोले यो अभियान रोकिएको छ, बाढीपहिरोले हाम्रा मुहान तथा आयोजनानै क्षतिग्रस्त भएका छन् ।” उनका अनुसार क्षतिग्रस्त आयोजना पुनिर्निर्माणसँगै पानीका मुहान पुनर्जिवीत कार्यक्रमलाई समेटिनुपर्ने देखिएको छ ।
पानीका मुहान पुनर्जिवीत कार्यक्रमका लागि इसिमोडले प्राविधि सहयोग गर्ने गर्दछ भने स्थानीय तहका प्रमुखले उक्त कार्यमा आ–आफ्ना तर्फबाट सहयोग र सहकार्य गर्नुपर्ने सम्झौता गरिएको थियो । जिल्लाका सात तहले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुलको पहिचान, अवस्थाको मुल्याङ्कन तथा सन्कटासन्न मुहानको पुर्नजिवित गर्ने नयाँ अभियानमा एक्यबद्धता जनाएका थिए । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
नमोबुद्ध नगरपालिकामा भने वडा नं ३ र ५ मा सुकेको दुई मुहानमा सुकेको मुहान फर्काउन पोखरी निर्माण गरिएको छ । नगरका अनुसार अन्य दुई सुकेको मूल फर्काउन विषयमा प्रक्रिया भइरहेको छ । नगरमा भएका अधिकांश मुहनामा पानीको प्रवाहमा कमी हुँदै आएको जनाइएको छ ।
पाँचखालका नगरप्रमुख महेश खरेलले विभिन्न कारण जोखिममा परेका पानीका मुहान संरक्षण कार्यक्रमले सुकेका मुल पुनर्जिवित हुने अपेक्षा गरिएपनि अभियानका क्रममा मुहान पहिचान भइरहेको अवस्थामा बाढीपहिरो प्रभाभावितको राहत उद्धार तथा खानेपानीलगायत क्षतिग्रस्त संरचनामै समय दिनुपरेकाले अभियान प्रभावित बनेको बताए ।
उनले भने, “हाल क्षति भएका खानेपानी आयोजनालाई संरक्षण गरौँ त्यसपछि थप मुहानको खोजी गर्नेतर्फ लाग्नेछौँ ।” उहाँका अनुसार मुहानको पुनरुत्थानले खानेपानी आयोजनाले अपुग पानीको मागलाईसमेत सम्बोधन गर्ने देखिएको छ ।
इसिमोडका अनुसार हिन्दुकुश हिमालयमा पानीको मुहान क्रमश सुक्दै जानु आजको प्रमुख समस्या भएको र पहाडी समुदायको पिउने पानी, गाईवस्तु तथा बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवाद न्युनिकरण गर्नु अहिलेको मुलभुत आवश्यकता देखिएको हो । तर, अहिलेसम्म उक्त विषयमा पर्याप्त ध्यान वा लगानी नभएकाले इसिमोडले अभियान थालेको जनाइएको छ ।
सम्झौतामा इसिमोडले पानीको मुहानको स्थान र स्थितिको विवरणसहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनर्भरण क्षेत्र पहिचान, सुधारिएको मुहानको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सह–लाभको मूल्याङ्कनजस्ता गतिविधिहरु कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै कार्यक्रम सफल भए काभ्रेपलाञ्चोकका अन्य छ स्थानीय तहमा क्रमशः लागू गर्दै जाने दीर्घकालीन लक्ष्य बनाइएको थियो ।
प्रतिवेदनहरुका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानले पानीको महत्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता गम्भीर समस्याका कारण पानीका मुहान जोखिममा पर्दै गइरहेको जनाइएको छ ।
इसिमोडको मुलाधार व्यवस्थापनका उदाहरणीय मुल संरक्षण तथा पुनरुत्थानका कार्यक्रममा स्थानीय सरकारसँग भएका सम्झौताले अन्य स्थानीय तहलाई आफ्नो बजेट र योजनामा मुलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको पाइन्छ ।
