जग्गा धितो राखेर चुनाव लड्दैछु, यसपालि जित्छुः महेश बस्नेत

१ मंसिर, भक्तपुर । प्रतिनिधिसभाका लागि भक्तपुर-२ का एमाले उम्मेदवार महेश बस्नेत राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् । विशेषगरी एमालेको युवा पंक्तिमा उनी चर्चित छन् ।

देशभरको सबैभन्दा कान्छो गाविस अध्यक्षको रेकर्ड बस्नेतका नाममा छ । उनी २३ वर्षको हुँदा ०५४ सालको स्थानीय चुनावमा भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । ०७० सालको संविधानसभा चुनावमा भने उनी भक्तपुर २ बाट पराजित भए ।

बस्नेत एमाले अध्यक्ष केपी ओलीका प्रियपात्र मानिन्छन् । चुनाव हार्नुका बाबजुद सुशील कोइरालाको सरकारका पालामा ओलीले उनलाई उद्योगमन्त्री बनाएका थिए ।

यसपालि भक्तपुर २ बाट निर्वाचित हुन बस्नेतले कांग्रेस उम्मेदवार दमननाथ ढुंगाना र नेमकिपाकी अनुराधा थापाको चुनौति पार गर्नुपर्ने छ । अनलाइनखबरसँगको कुराकानीमा बस्नेत आफ्नो जितमा ढुक्क देखिए ।

 

प्रस्तुत छ उनीसँग गरिएको कुराकानी:

चुनावको धपेडी कत्तिको छ ?

ब्यापकै धपेडी छ । घरदैलो कार्यक्रम सुरु भइरहेको छ । भेला-भेटघाटहरु र अन्य सामाजिक कामहरु पनि भ्याइएको छ । औधि दौडधुप छ ।

आज दिनभरिको तपाईंको सेड्यूल बताइदिनुस् न ?

बिहान २-३ वटा ग्रुपसँग घरमै भेटघाट गरेँ । त्यसपछि सूर्यविनायक नगरपालिका वडा नम्बर ४ को घरदैलोमा निस्केँ । घरदैलो सकेर भक्तपुरको भेलुखेलमा श्रीमदभागवत् महायज्ञको उद्घाटन गरेँ । त्यसपछि इयूको टिमसँग निर्वाचनसँग सम्वन्धित कुरामा छलफल भयो । अहिले तपाईंलाई अन्तरवार्ता दिँदै छु ।

यहाँबाट निस्केर एउटा टेलिभिजनमा लाइभ अन्तरवार्ता छ । त्यसपछि कर्मचारी युनियनका साथीहरुसँग भेटघाट गर्छु । त्यसपछि मध्यपुर ठिमी ५ नम्बर वडामा भेटघाट छ । त्यो सकेर सीपाडोल सूर्यविनायकको वडा नं. ८ मा भेटघाट छ । र, अन्त्यमा पान्डु बजारमा भेटघाट छ । लगभग राति १० बजेसम्म प्याक छु ।

खाने-पिउने कतिबेला त ?

खानेपिउने त टुंगो नै हुँदैन । बिहान घरदैलो कार्यक्रम सकेर साथीभाइकोमा खाएर हिँडेको ।

अघिल्लो संविधानसभा चुनावमा पनि यही क्षेत्रबाट लड्नुभएको थियो । तेस्रो हुनुभयो । यो चुनावमा चाहिँ के सोच्नुभएको छ ?

यो चुनाव त जितिन्छ । हारेर पनि चार वर्षयता यो क्षेत्रको विकासमा मैले पुर्‍याएको योगदानले मतदाता प्रभावित छन् । अर्कोतर्फ निर्वाचित भएर गएका साथीहरुको गतिशून्य र भूमिकाविहीन स्थितिले मलाई लाभ भएको छ ।

पाँच महिना अगाडि भएको स्थानीय तहको निर्वाचनमा भक्तपुरको ४ वटामध्ये तीनवटा नगरपालिकामा हामी जित्न सफल भयौं र मेरो क्षेत्रमा भएको दुवै नगरपालिकामा हामीले जितेका छौं । त्यसैले यसपालि चुनाव जित्न हामीलाई समस्या छैन ।

अघिल्लो चुनावमा हाम्रो भोट अत्यधिक बदर भएको थियो । ‘एक गाई एक भाई’ को नाराले हामीलाई असर गर्‍यो । एकसाथ सूर्य र गाईमा छाप हालेका २१-२२ सय भोट बदर भए । त्यो अवस्था यसपालि हुँदैन ।

 

तपाईंले यस क्षेत्रमा धेरै काम गरेको छु भन्नुभयो, तपाईले गरेका कामको फेहरिस्त पनि सुनाइदिनुस न…

चुनाव हार्दा पनि मन्त्री बन्न पाउने भाग्यमानी म भएँ । आफ्नो मन्त्रित्वकाल र केपी ओलीको नौ महिने सरकारलाई अधिकतमरुपमा भक्तपुरको विकासमा प्रयोग गर्न सफल भएँ । चार वर्ष म निरन्तर जनताको सुखदुखमा साथ दिँदै खटेँ ।

हामीले हनुमन्ते कोरिडोर र मनोहरा कोरिडोर निर्माण गर्‍यौं । म मन्त्री हुँदा त्यसलाई सुरुवात गरियो र केपी ओली प्रधानमन्त्री हुँदा बजेटमा पार्न सफल भयौं ।

सूर्यबिनायक जंगललाई अन्तर्राष्ट्रिय प्राणी उद्यान केन्द्र (जियोलोजिकल) पार्कका रुपमा पर्यटकको आकर्षणको केन्द्र बनाउने भनेर बजेट पार्न सफल भयौं । अघिल्लो वर्ष ६ करोड विनियोजन भयो भने अहिले १०-१२ करोड आएको छ ।

उपत्यकाभित्र ४ वटा स्याटेलाइट सिटी बन्ने घोषणा भएकोमा दुईवटा भक्तपुरमै परे । एउटा हाम्रो एरिया बालकोटदेखि गुण्डुसम्म परेको छ । वीर हस्पिटललाई हामीले भक्तपुर लैजान सफल भयौं । मेलम्ची खानपानी पहिलो चरणमा भक्तपुर थिएन । पहिलो चरणमा त्यसलाई पारेर दुईवटा खानेपानीका विशाल ट्यांकी बन्दैछन् । त्यो दौरानमा ४८ वटा सडक विस्तारका काम गर्‍यौं ।

हनुमन्ते खोलामा पाँचवटा नयाँ पुल निर्माण गर्ने काम भयो । हनुमानघाटमा मात्रै हामीले डेढ करोड रुपैयाँ छुट्याएर घाटलाई व्यवस्थित गर्ने काम अघि बढ्दैछ ।

भूकम्पमा जीर्ण भएका चाँगुनारायण, अनन्त लिंगेश्वर, डोलेश्वर लगायतका मन्दिरहरु निर्माणका लागि पर्याप्त बजेट छुट्याउन सफल भयौं ।

हामीले यस क्षेत्रको विकासमा गरेको मिहिनेतको प्रतिफल नै भक्तपुरका जनताले स्थानीय चुनावमा एमालेलाई एक नम्बर बनाएका हुन् ।

भनेपछि एक्लो बलबुँताबाट स्थानीय चुनावमा एमालेलाई अगाडि ल्याएँ भन्न खोज्नुभएको हो ?

होइन, एमाले अगाडि आउनुका अरु पनि कारण छन् । राष्ट्रिय राजनीतिमा हाम्रो अध्यक्षज्यूले खेल्नुभएको भूमिका, नाकाबन्दीको बेला राष्ट्रियताका सन्दर्भमा उहाँले लिनुभएको अडान, संविधान संसोधनमार्फत मुलुकको राष्टिय अखण्डता र स्वाधीनतालाई समाप्त गर्ने खेलका विरुद्ध पार्टीको अडान पनि मुख्य कारण हो ।

यसरी, राष्ट्रिय र स्थानीय दुवैस्तरमा एमालेको भूमिकाले प्रभाव पारेको छ ।

आउँदो चुनावको कुरा गरौं । कांग्रेसले केन्द्रबाटै दमननाथ ढुंगाना जस्ता ०४८ सालमै सभामुख भइसक्नुभएका ‘भेट्रान’ नेता पठाएको छ । तपाईंलाई उहाँसँग डर छैन ?

कांग्रेसबाट जो उठेको भए पनि यसपालि हामीलाई गाह्रो थिएन । तर, उहाँलाई उठाइएपछि हामीलाई झन् सजिलो भएको छ । उहाँलाई स्वास्थ्यले पनि साथ दिइरहेको छैन । घरदैलोमा मोटरसाइकल चढेर हिँडिरहनुभएको छ ।

अर्को कुरा, मैले यहाँका लगभग सबै मतदातालाई चिन्छु । तर, उहाँले आफ्नै कार्यकर्तासँग पनि परिचयात्मक कार्यक्रम राखिरहनुपरेको छ ।

र, फेरि भक्तपुरको सेन्टिमेन्ट अलि ‘कम्युनल’ छ । ०५६ सालमा हामीले युवराज कार्कीलाई ल्याएर उठाएकै हो नि । त्यसमा एमालेको निकै नराम्रो रिजल्ट आयो । देशभरि राम्रो भइरहँदा भक्तपुरमा झूर भयो ।

अहिले दमननाथजीको आगमनलाई भक्तपुरका कांग्रेसका नेताहरुले नै स्वीकार्न सक्नुभएको छैन । मलाई लाग्छ, कांग्रेसको ७० प्रतिशत पार्टी पङ्ती यहाँ निस्क्रिय बसेको छ । सामाजिक सञ्जालमा असुन्तुष्टिहरु आएका छन् । उहाँको उम्मेदवारीले पार्टी पङ्तिमा आशा र उर्जा होइन, निराशाको सञ्चार गरेको छ ।

अर्कोतर्फ उहाँले भारतीय नाकाबन्दीका बेलामा वीरगञ्ज नाकामा गएर ‘भारतले नाकाबन्दी अझै कडा पार्नुपर्छ’ भनेर बोल्नुभएको कुरा अहिले पनि चर्चामा छ । युवा मतदाता र बौद्धिक जमातले यसबारे प्रश्न उठाइरहेका छन् । उहाँले त्यसको स्पष्टीकरण दिने क्रममा वीरगञ्जको मितेरी पुलमा गएर मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गरेको स्वीकार गर्नुभएको छ । यसबाट कांग्रेसकै मतदाताहरु पनि भड्किने अवस्था छ ।

भक्तपुर-२ मा कांग्रेसले दमननाथलाई उम्मेदवार बनाउनुको तात्पर्य के होला जस्तो लाग्छ तपाईंलाई ?

यहाँको उम्मेदवारीका विषयमा कांग्रेसभित्र निकै ठूलो विवाद र अन्तरविरोध थियो । स्थानीय चुनावको हारलाई समीक्षा गर्ने क्रममा पनि उहाँहरुले अन्तरविरोधलाई कारकतत्व ठहर्‍याउनुभएको थियो । कांग्रेसभित्र मुख्य दावेदार दुर्लभ थापा र कवीर राणा हुनुहुन्थ्यो । उहाँहरु दुवै युवापुस्ताका नेता । दुर्लभजीलाई उठाउँदा कवीरजीको सपोर्ट नहुने र कवीरजीलाई उठाउँदा दुर्लभजीको सपोर्ट नहुने स्थिति
बन्न सक्छ भन्ने आँकलन गरिएको थियो ।

यस मानेमा केन्द्रबाटै उम्मेदवार पठाउँदा दुवै पक्षलाई मिलाएर लैजान सकिन्छ भन्ने आशाले उहाँलाई पठाएको हुनुपर्छ ।

तपाईले पैसाको बलमा तपाईंले चुनाव जित्न खोजेको आरोप ढुंगानाजीले हामीसँगको कुराकानीमा लगाउनुभएको छ । नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले पनि तपाईका बारेमा त्यसै भन्नुभयो । पैसाको खोलै बगाउँदै हुनुहुन्छ कि क्या होे ?

‘काँक्रा चोरेर आफू खाने बियाँ चैं अर्काको मुखमा फाल्दिने’ भनेजस्तो कुरा हो यो । अहिले दमननाथ ढुंगानाकै सम्वन्धमा राष्ट्रिय अन्तर्राष्टिय लगानी छ भन्ने आइरहेको छ । तर, हामी विनाआधार उहाँहरुले जस्तो तल्लोस्तरमा आरोप लगाउँदैनौं ।

नेमकिपाका साथीहरुले चाहिँ विशेषगरी हामीले भक्तपुरको भजनमण्डलीहरुलाई गरेको सहयोगलाई लिएर प्रश्न उठाउनुभएको हो । हामीले भुकम्पका बेला ‘मानवीय आस्था नेपाल’ भन्ने सामाजिक संस्था निर्माण गरेका थियौं । त्यसको संरक्षक म हुँ ।

त्यो संस्थामार्फत भुकम्पका बेला विभिन्न ठाउँमा राहत वितरण गर्‍यौं । २१ सय भन्दा बढी टहराहरु निर्माण गरेर जनतालाई बाड्यौं । प्रत्येक मृतकका परिवारलाई साढे सात हजारका दरले सहयोग गर्‍यौं । अहिले पनि ३२० बालबालिका हामीले पढाइरहेका छौं ।

त्यो संस्थाले एक महिनाअघि भक्तपुर नगरभित्र २२ वटा सांस्कृतिक समूह र मध्यपुरभित्र ४५ वटा सांस्कृतिक समूहलाई बाजागाजा खरिद गरेर वितरण गरेको थियो । त्यो कुरा उहाँहरुले उठाउनुभएको हो ।

कति मूल्यको सामान बाँड्नुभयो ?

धिमेबाजाको ३ हजार ३५ सय पर्छ । अर्को ढोलक टाइपको हुन्छ । त्यसको ५५ सय ६ हजार पर्छ । यसरी मोटामोटी १० हजार पर्ने बाजाहरु ६७ वटा सांस्कृतिक समूहलाई वितरण गरेका थियौं ।

अलिकति जग्गा धितो राखेर बैंकबाट लोन लिँदैछु । आधाआधी पैसा त्यसबाट जुट्छ । बाँकी आधा चाहिँ साथीभाई, आफन्तबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको छु

चुनावको मुखमा यस्तो सहयोग गर्नुले त मतदातालाई प्रभाव पार्न खोजेकै देखियो नि ?

होइन, यो हाम्रो रेगुलर कार्यक्रम अन्तरगतकै सहयोग हो । अघिल्लो वर्ष पनि वृद्धवृद्धालाई प्रत्येक वडामा वडामा ५-७ सयका दरले कम्बल वितरण गरेका थियौं । नाकाबन्दीका बेला १२-१५ लाखको औषधि प्रत्येक हेल्थपोष्टहरुलाई वितरण गरेका हौं । नियमितरुपमा यस्ता काम गरिरहेका छौं । अघिपछि प्रश्न उठेन । यो पटक उठ्यो । उहाँहरुले प्रश्न उठाएपछि अहिले मानवीय आस्था नेपालका गतिविधिहरु रोकिएका छन् ।

हालै नेमकिपाले बाँसुरी प्रतियोगिता भनेर प्रत्येक समूहलाई पुरस्कार प्लस आर्थिक वितरण पनि गरेको छ । तर, त्यसमा हामीले प्रश्न उठाएका छैनौं । किनभने सामाजिक कार्यलाई हामीले किन अन्यथा लिने ?

नढाँटी भन्नुहोस् त यो चुनावमा कति खर्च गर्ने योजना बनाउनुभएको छ ?

अघिल्लोचोटिको चुनावमा २७ लाख रुपैयाँ मोटामोटी खर्च भएको हो । यसपालि २ वटा नगरपालिकाका १९ वटा वडा पर्छन् । लगभग एउटा वडामा २ लाखका दरले ३८-४० लाख खर्च होला भन्ने अनुमान छ मेरो । आचारसंहिताले २५ लाख भन्छ, तर २५ लाखले धान्ने स्थिति छैन ।

धेरै खर्च चैं केमा हुँदोरहेछ ?

मुख्य खर्च हुने नै प्रचार-प्रसारमा हो । १९ वटा वडामा २-२ वटाका दरले सम्पर्क कार्यालय खोलेको छु । त्यसको भाडा तिर्नुपर्‍यो । त्यसपछि रेगुलर भेलाहरु पनि निकै खर्चिलो भइरहेका छन् । पहिलेजस्तो चौरमा कार्यक्रम गर्ने चलन छैन । पार्टी प्यालेसमा गर्नुपर्‍यो । त्यसको भाडा तिर्नुपर्‍यो । एउटा सामान्य कार्यक्रम गर्दा ४-५० हजार खर्च हुन्छ ।

यत्रो खर्च कसरी जुटाउनुभएको छ ?

अलिकति जग्गा धितो राखेर बैंकबाट लोन लिँदैछु । आधाआधी पैसा त्यसबाट जुट्छ । बाँकी आधा चाहिँ साथीभाई, आफन्तबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको छु ।

पार्टीले पैसा दिँदैन ?

अहँ दिँदैन । पहिलेका चुनावमा स्थानीय कमिटीहरुले आर्थिक संकलन गर्थे । तर, अहिले स्थानीय कमिटीहरुले पैसा नउठाउने नीति बनाएका छन् । अहिले त कार्यालय व्यवस्थापनदेखि सबै कुरा आफैंले गर्नुपर्छ ।

चन्दा त उठाउनु भएको होला नि ?

मैले कसैसँग चन्दा नमाग्ने नीति बनाएको छु । देश-विदेशमा रहनुभएका साथीभाइ, आफन्त ज-जसले सम्झेर जति दिनुहुन्छ हात थाप्ने, तर कसैसँग पनि पैसा लेउ भनेर नमाग्ने । मैले युवा संघ चलाएको पनि यसैगरी हो । अघिल्लो चुनाव लडेको पनि यसैगरी हो । चन्दा म कसैसँग पनि लिन्न ।

बरु, नेमकिपाका साथीहरुले प्रत्येक स्कुल-स्कुलमा, अफिस-अफिसमा चिठी दिएर पैसा उठाइरहनुभएको छ । ईट्टाभट्टादेखि खुद्रा पसलेसम्म सबैसँग पैसा मागिरहनुभएको छ । त्यही भएर उद्योगी व्यवसायीको प्रतिक्रिया नकारात्मक आएपछि त्यसको रीस हामीप्रति पोखेको हुन सक्छ ।

तपाईं हिजोका दिनसम्म माओवादीको खुंखार आलोचक हुनुहुन्थ्यो । वाइसीएललाई काउन्टर दिन बनेको युथफोर्सको अध्यक्ष नै बन्नुभयो । आफ्नो आत्मकथामा पनि तपाईंले सर्वत्र माओवादीको खेदो गर्नुभएको छ । आज वाम गठवन्धनका नाममा त्यही माओवादीको बुई चढेर भोट माग्न जाँदा हीनताबोध भएको छैन ?

एउटा सामाजिक रिलेसन हुँदोरहेछ, अर्को राजनीतिक रिलेसन । सामाजिक रिलेसनको सन्दर्भमा दुई परिवारको झगडा भयो भने लामो समयसम्म बोलचालै बन्द हुने, सहज हुन निकै समय लाग्ने हुन्छ । तर, राजनीतिमा स्थायी सत्रुता हुँदो रहेनछ ।

मेरो निर्वाचन क्षेत्रमा माओवादीको धेरै ठूलो भोट छैन । ३ हजारदेखि चार हजारको रेसियोमा होला । यद्यपि यसले मेरो जितलाई अझै सहज बनाएको छ

हिजो माओवादीले अधिनायकवादी शैली र तौरतरिका अपनायो र वाइसीएलका नाममा ज्यादती गर्‍यो । त्यसलाई तह लगाउने ऐतिहासिक क्षणको जिम्मेवारी मैले निर्वाह गर्नुपरेको थियो ।

आजको माओवादी त्यो खालको टस्सल लिनुपर्ने स्थिति छैन । पुरानो रीसइबी भुल्नुपर्ने अवस्था आएको छ । एमाले माओवादी मिलेर कम्युनिष्टको ६० प्रतिशत मत होल्ड भएको छ । अघिल्लो २८ वर्षको हिसाब गर्ने हो भने कम्युनिष्टहरु फुटेका कारणल झण्डै दुई तिहाई समय कांग्रेसले शासन गरेको स्थिति छ ।

वास्तविक जनताको प्रतिनिधित्वको लागि, राजनीतिक स्थिरता, समृद्धि र विकासका लागि दुई पार्टीबीचको तालमेल र एकीकरणको योजनालाई सहज ढंगले स्वीकार्नुपर्छ । सिंगो राष्ट्र निर्माणको कुरा गर्दा हामीले पुरानो रीसइबीलाई बिर्सनुको विकल्प छैन । अहिले सच्चिएको माओवादीसँगको सम्वन्ध हो नि त ।

मेरो निर्वाचन क्षेत्रमा माओवादीको धेरै ठूलो भोट छैन । ३ हजारदेखि चार हजारको रेसियोमा होला । यद्यपि यसले मेरो जितलाई अझै सहज बनाएको छ ।

एमाले पार्टी अध्यक्ष केपी ओलीसँग तपाईको प्रगाढ सम्वन्ध रहेको बताइन्छ । कसरी उहाँसँग यति नजिक हुनुभयो ?

उहाँको र मेरो सम्वन्ध मैले युवा संघको नेतृत्व गर्ने बेलादेखि गाढा भएको हो । त्योभन्दा अगाडि म पार्टीका नेताहरुसँग खासै नजिक थिइनँ । लो प्रोफाइलमा बसेर काम गर्न रुचाउँथेँ । तर, त्यो कालखण्डमा अलिकति माओवादी अधिनायकवादविरुद्ध संघर्ष गर्ने दौरानमा हाम्रो अध्यक्षज्यूको विचार र तल हाम्रो कार्यक्रमको बीचमा निकै सामीप्य र तालमेल मिलन गयो । त्यहीबेला उहाँसँग धेरै नजिक भएँ ।

उहाँसँग जति नजिक भएँ, त्यति नै उहाँको आदर्श बुझ्दै गएँ । उहाँलाई पार्टी अध्यक्ष बनाउने र प्रधानमन्त्री बनाउने अभियानमा म निकै सक्रियतापूर्वक लागें । म आफैं केन्द्रीय सदस्य हारेर पनि उहाँलाई अध्यक्ष बनाउँदा खुशी भएँ । अहिले पनि उहाँको सैद्धान्तिक, वैचारिक स्पष्टता र राष्ट्रभक्तिको म ठूलो प्रशंसक हुँँ । एक स्वप्नद्रस्टाका रुपमा पनि उहाँलाई देशले चिनेको छ ।

अर्को उहाँको विशेषता के छ भने उहाँ आफ्ना पार्टीका नेता कार्यकर्तालाई आफ्नै परिवारका सदस्यजस्तो व्यवहार गर्नुहुन्छ । अभिभावकत्व दर्शाउनुहुन्छ । उहाँको स्वाभावले गर्दा पनि आम युवा विद्यार्थीमाझ उहाँ निकै लोकप्रिय हुनुहुन्छ ।

भक्तपुर २ मा तपाईंका अबका एजेन्डा के छन् ?

अहिले हामीले ‘आत्मनिर्भर घर र व्यवस्थित शहर’ भन्ने नारा अघि सारेका छौं । व्यवस्थित शहर भनेको गुणस्तरीय खानेपानी, व्यवस्थित सडक र ढलसहितको व्यवस्थित आवास भनेको हो । आत्मनिर्भर घर भनेको चाहिँ लोडसेडिङ हुँदा सोलारबाट बत्ति बाल्न सकिने, पानीको अभाव हुँदा पनि आकाशे पानी संकलनबाट पानी उपयोग गर्न सकिने, सड्ने र नसड्ने फोहोर बनाएर करेसा र कौसीमा तरकारी र फलफुल रोप्ने घर भनेको हो ।

मानव मलमुत्र तथा जनावरको मलमुत्र प्रयोग भएको गोबरग्यास प्लान्ट स्थापना गर्ने ताकि एलपी ग्यासको अभाव हुँदा पनि त्यो घरमा भात पाकोस् । योखालको आत्मनिर्भर घरको अवधारणा ल्याएका छौं ।

प्रत्येक वडामा महिलाहरुका लागि उद्यम घरको अवधारणा पनि ल्याएका छौं । कमसेकम महिलाहरु दिउँसो टीभी हेरेर बस्नुभन्दा उद्यम घरमा बसेर केही उद्यमको काम गरुन् ।

त्यसपछि ज्येष्ठ बाआमाका लागि आश्रमस्थलको कुरा गरेका छौं । एउटा वडामा गरिबका छोराछोरी पढ्न सक्ने नमूना सामुदायिक स्कुलको योजना बनाएका छौं । नमूना स्वास्थ्य केन्द्रको योजना बनाएका छौं । भक्तपुरको जीवित संस्कृतिलाई बचाउने र धार्मिक पर्यटनलाई अगाडि बढाउने योजनाहरु पनि छन् । नगरकोट, दक्षिण बाराही, निलबाराही, रानीकोट अनन्तलिंग, नैचाल, काँक्राबाँरी जस्ता ठाउँहरु छन् तिनीहरुलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरिनेछ । यीनै विषय हाम्रा स्थानीय एजेन्डा हुन् ।

अन्त्यमा, तपाईंलाई धेरैले गुण्डाको संरक्षक भनेर पनि चिन्छन् । डन चरीदेखि परशुराम बस्नेतसम्मको बचाउमा तपाईंले बोल्नुभएका कुराहरु मतदाताले पक्कै बिर्सेका छैनन् होला । यसलाई कसरी चिर्नुहुन्छ ?

यी उहिलेका कुरा भइसके । युथफोर्स बनाएर लड्ने दौरानमा कतिपय सन्दर्भमा यस्ता आरोप लागेका हुन् । म मन्त्री भएदेखि अहिलेसम्म मैले जे-जे काम गरिरहेको छु, त्यसले मेरो बेग्लै छवि बनिसकेको छ ।

जहाँसम्म पर्शुराम बस्नेतको सवाल छ, उहाँ एउटा राजनीतिक व्यक्ति हुनुहुन्छ । युवा संघको सचिव हुनुहुन्छ । अर्को ढंगले उहाँलाई जे आरोप लगाइयो, त्यसमाथि अदालतदेखि हरेक ठाउँमा बहस भयो तर कतै पनि पुष्टि भएको छैन । आग्रहपूर्ण ढंगले आरोप लगाइएको छ ।

चरीको विषयमा हामीले प्रष्ट भनेका थियौं । माओवादी उद्दण्डताले सीमा नाघेका बेलामा बालाजु क्षेत्रभित्र भएका ज्यादती तोड्न विभिन्नखालका शक्तिहरुको सहयोग लिने सम्बन्धमा उनको पनि सहयोग लिएका थियौं । मेरो उद्देश्य चरीलाई सच्याउने थियो तर, नसकेको हो ।

२०७४ मंसिर १ गते १०:३१ मा प्रकाशित

अनलाइनखबर बाट साभार

एक पटक पढ्नुहोस