युरोप सपना र मानव तस्करका शोषणमा पिल्सिन्छन् लिबियामा नेपाली

धवार लिबियाको राजधानी त्रिपोली नजिकै आप्रवासी थुनुवा केन्द्रमा हवाई हमला हुँदा मारिने ४० जनामा एकजना नेपाली समेत रहेको अधिकारीहरूले जनाएका छन्।

लमजुङ बेँसीसहरका २७ वर्षीय सन्तोष श्रेष्ठ गत वर्ष माघमा इटली जाने भन्दै लिबिया छिरेका थिए।

श्रेष्ठलाई स्वदेश फिर्ता पठाउने प्रक्रिया चालिरहँदा थुनुवा केन्द्रमा हमला भएको थियो। श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ।

“घटनाभन्दा दुई दिनअघि श्रेष्ठको लागि अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन आइओएमले यात्रा अनुमतिपत्र मागेकोमा हामीले त्यो उपलब्ध गराएका थियौँ,” इजिप्टका लागि कार्यवाहक नेपाली राजदूत सुजन बिडारीले भने।

“द्वन्द्वग्रस्त मुलुक लिबियामा इजिप्टबाट कुरिअरमार्फत् पत्र पठाउँदा ढिलो भयो।

मानव तस्करको जालो

दाङका सरोज विक र राजकुमार बस्नेतको भेट त्रिपोलीभन्दा झण्डै दुई सय किलोमिटर पूर्वमा रहेको मिसरतामा भएको थियो।

युरोपेली देश इटली पुग्ने रहर पालेका दुवैलाई मानव तस्करको फन्दामा एक वर्ष अलपत्र परेपछि उद्धार गरिएको थियो। उनीहरू अहिले घर फर्कने आशामा छन्।

विकले बीबीसी नेपाली सेवालाई भने: “हामीलाई कानुनी बाटोबाटै टर्की हुँदै ग्रिस पुर्‍याएर युरोप छिराउने भनिएको थियो।”

“टर्की पुर्याएपछि पासपोर्टमा लिबियाको भिसा देखेपछि बल्ल ठगिएको थाहा पायौँ।”

उनीहरूलाई ट्रान्जिट मात्र भएको बताइए पनि लिबिया नै उनीहरूका लागि तस्करहरूले तय गरेको गन्तव्य थियो।

बेग्लाबेग्लै तस्करका सञ्जालमार्फत् विक बेङ्गाजी पुर्याइए भने बस्नेत त्रिपोली।

दुवैले लिबियामा दुख पाए र उनीहरूको शृङ्खलाबद्ध अपहरण सुरु भयो।

“नौ महिनासम्म थुन्दै घरबाट थप पैसा उठाउने काम मात्र गरे। परिवार र खाडी मुलुकमा भएका साथीहरूले हुन्डीमार्फत् पैसा पठाइदिन्थे। २० लाख खर्च भइसक्यो,” त्रिपोलीस्थित आइओएमको उद्धार केन्द्रमा रहेका बस्नेतले भने।

“उनीहरूसम्म पैसा नपुग्दासम्म खाना दिन्नथे। शारीरिक र मानसिक यातना त कति दिए कति।”

नेपाली एजेन्टमार्फत् नै ग्रिस जाने प्रक्रिया थालेका उनीहरू देश छाडेपछि पाकिस्तानी एजेन्टहरूसँगमात्रै सम्पर्कमा रहे।

“यहाँ आएर हरेक मानिसहरू फसेका छन्। पानीजहाजबाट युरोप छिर्ने त हामीलाई कहिल्यै भनिएको थिएन,” विकले भने।

“त्यस्ता साना डुङ्गा चढेर जाने हाम्रो रहर पनि थिएन। तर त्यसरी जान खोजेको भए पनि हामीलाई लैजाने कोही थिएनन्। हामी त तस्करका मोहरा पो भएका रहेछौँ।”

कति नेपाली लिबिया पुग्छन्?

गत दुई महिनामा लिबियाबाट मात्र ३४ जनाको उद्धार गरेर नेपाल पठाइएको छ। विक र बस्नेतसहित अझै छ जना त्रिपोलीस्थित आइओएमको केन्द्रमा रहेको बताइएको छ।

कार्यवाहक राजदूत बिडारीले भन्छन्, “निकै ठूलो समस्या नपरिकन नेपालीहरू हाम्रो सम्पर्कमा आउन चाहँदैनन्। उनीहरू युरोप छिर्ने आसमा बसेका हुन्छन्।”

उद्धार गरिएका नेपालीहरूका अनुसार उनीहरूले प्रतिव्यक्ति पाँच देखि १५ लाख रुपैयाँसम्म दलाललाई बुझाएका छन्।

यसअघि १६ जना नेपालीहरूलाई लिबियाकै दुईवटा कम्पनीमा ड्राइभरका रूपमा काम गर्नका लागि भन्दै पुर्याइए पनि उनीहरूले भनिएको काम सुरु नै गर्न पाएनन्।

चार महिनासम्म युद्धग्रस्त क्षेत्रमा कामबिनै राखेपछि उनीहरूले दूतावाससँग गुहार मागेको र दूतावासले उनीहरूको उद्धार गरेको थियो।

नेपाली शान्ति सेनासँगको समन्वयमा उनीहरूलाई राजधानी त्रिपोलीसम्म ल्याइएको पीडितहरूले बताएका छन्।

लिबिया पुग्ने धेरै नेपालीहरू ओमान, युएई, अल्जेरिया र ट्युनेसिया हुँदै पुगेका हुन्।

समस्याग्रस्त मुलुक

लिबिया लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि हिंसा र विभाजनबाट प्रताडित छ।

दशौं हजार लिबियालीहरू आन्तरिक रूपमा विस्थापित छन्।

बीबीसी विवरणहरूका अनुसार युरोप जाने प्रयासमा रहेका हजारौं त्यस्ता आप्रवासीहरूलाई सरकारद्वारा सञ्चालित त्यस्ता बन्दीगृहहरू धेरैजसो बन्दीगृह द्वन्दप्रभावित क्षेत्र नजिकै छन्।

त्यस्ता केन्द्रहरूको कमजोर अवस्थाबारे मानव अधिकारवादी समूहहरूले आलोचना गर्ने गरेका छन्।

युरोपेली संघले आप्रवासीहरू अगाडि बढ्ने डुङ्गाहरूलाई रोक्न भन्दै लिबियाका तटरक्षकहरूसँग सहकार्य बढाएको छ।

तर देशको राजनीतिक अस्थिरताबीच त्यहाँ मानव ओसारपसार गर्ने गिरोहहरू सक्रिय भएका छन्।

उनीहरूले युरोप पुग्न आतुर त्यस्ता आप्रवासीबाट हजारौं डलर उठाउने गरेका छन्।

बिबिसीबाट

एक पटक पढ्नुहोस