After header

निर्वाचनसम्म मात्रै हामी पार्टीका प्रतिनिधि हौं, अब सबैका साझा जनप्रतिनिधि हौं’ ः माननीय मधुकुमार चौलागाईं

काभ्रे । काभ्रे क्षेत्र नं. १ का माननीय मधुकुमार चौलागाईले निर्वाचनसम्म मात्रै आफू पार्टीको प्रतिनिधि रहेको तर निर्वाचन पश्चात साझा जनप्रतिनिधि भएको बताएका छन् । काभ्रेको पात्लेखेतमा आयोजित जनतासँगको भेटघाट तथा गुनासो सुनुवाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

स्थानीय नागरिकले आफ्ना समस्या, गुनासा तथा विकास निर्माणसँग सम्बन्धित विषयहरू माननीय चौलागाई समक्ष राखेका थिए । कार्यक्रममा स्थानीयवासीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकासलगायत दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विभिन्न समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । नागरिकहरूले आफूले भोग्दै आएका समस्या सम्बन्धित निकायसम्म पटक–पटक पु¥याउँदा पनि अपेक्षित रूपमा समाधान हुन नसकेको भन्दै माननीय चौलागाईलाई ध्यानाकर्षण गराएका थिए ।

जनताका गुनासा सुन्दै प्रतिनिधि सभा सदस्य माननीय मधुकुमार चौलागाईंले निर्वाचनको समयमा मात्रै जनतामाझ जाने र निर्वाचित भएपछि जनताका समस्या बिर्सने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । उनले भने, ‘निर्वाचनसम्म मात्रै हामी पार्टीका प्रतिनिधि हौं, अब त सबैका साझा जनप्रतिनिधि हौं ।’ जनताले आफूलाई जुनसुकै राजनीतिक आस्था र विचारबाट मत दिएको भए पनि निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी सबै नागरिकप्रति समान रहेको उनको भनाइ थियो ।

चौलागाईंले जनताले राखेका गुनासा व्यक्तिगत वा राजनीतिक विषयका रूपमा नलिई राज्यसँग जोडिएका नागरिकका जायज मागका रूपमा लिनुपर्ने बताए । जनताको समस्या सुन्ने, सम्बन्धित निकायमा पु¥याउने र समाधानका लागि आवश्यक पहल गर्ने आफ्नो दायित्व रहेको उनले स्पष्ट पारे । ‘जनताको गुनासो सरकारले सुन्नुपर्छ । जनताले उठाएका समस्या समाधानका लागि सरकार जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

कार्यक्रममा स्थानीय नागरिकले विकास निर्माणका काममा प्राथमिकता निर्धारण गर्दा वास्तविक आवश्यकता र जनताको मागलाई आधार बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले गाउँघरमा रहेका आधारभूत समस्याको समाधानलाई प्राथमिकतामा राख्दै स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म समन्वय गरेर काम गर्नुपर्ने सुझाव दिएका थिए । जनतासँग प्रत्यक्ष संवाद गर्ने यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाउने सहभागीहरूको भनाइ थियो ।

नागरिकका गुनासा सुन्ने मात्र नभई त्यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र निरन्तर पहल आवश्यक रहेकोमा समेत जोड दिइएको थिए । कार्यक्रममा उठेका विषयहरूलाई गम्भीरतापूर्वक लिँदै माननीय चौलागाईंले जनताका समस्या सम्बन्धित सरकारी निकायसम्म पु¥याउने र समाधानका लागि आफ्नो तहबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे थिए ।

जनताको गुनासो सुन्ने र त्यसलाई राज्यको नीति तथा कार्यक्रमसँग जोड्ने प्रयासका रूपमा पात्लेखेतमा आयोजित भेटघाटलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् । जनप्रतिनिधि र जनताबीच नियमित संवाद कायम रहेमा विकास निर्माणका प्राथमिकता पहिचान गर्न तथा स्थानीय समस्या समाधान गर्न सहज हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

एक पटक पढ्नुहोस