काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ५ को आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त अभावका कारण उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक सेवामध्ये एक भएको भन्दै नियमित रक्तदानका लागि सबैलाई प्रेरित गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष विनोद खत्रीले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्ने बताउँदै रक्तको आवश्यकता परेका बिरामीको जीवन बचाउन एक व्यक्तिले गरेको रक्तदान महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
उनले वडा कार्यालयले आगामी दिनमा पनि समुदायको स्वास्थ्य र सामाजिक सेवासँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिने बताए । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक तथा व्यवस्थापकीय समन्वयमा सम्पन्न कार्यक्रममा संकलित रगत आवश्यकता अनुसार बिरामीको उपचारमा प्रयोग हुने जनाइएको छ ।
आयोजकले कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबै रक्तदाताप्रति आभार व्यक्त गरेको छ ।उक्त रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेको वडा अध्यक्ष विनोद खत्रीले जानकारी दिए ।
