After header

पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

रौतहट । पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ । पूर्व पश्चिम राजमार्ग रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार दुर्घटनापछि ट्याङ्करमा अचानक आगलागी भएको थियो।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी सत्यनारायण थापाको कमाण्डमा १० जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट इन्स्पेक्टर राजेन्द्र थापा मगरको कमाण्डमा ५ जना गरी १५ सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाको दमकलको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि कुनै मानवीय क्षति भएको छैन । महेन्द्र राजमार्गमा सवारी आवागमन भने सामान्य अवस्थामा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

ट्याङ्कर चालक बारा जिल्लाको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई ट्राफिक प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस