सप्तरी । पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ४४ वर्षीय प्रथमलाल धामीले सञ्चालन गरेको पोल्ट्री फर्ममा सन्तकुमार धामीका २ वर्षीय छोरा प्रतिक धामी कुखुरा हेर्न गएका बेला फर्ममा जथाभावी राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लाग्दा गत साउन २ गते उनको मृत्यु भएको थियो। सो घटनापछि मृतकका बुवाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
पक्राउ परेका फर्म सञ्चालक प्रथमलाल धामीविरुद्ध सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जनाएको छ ।
