सेतो पानी बग्ने समस्याबाट कसरी मुक्त हुने – डा. आस्था श्रेष्ठ

डा. आस्था श्रेष्ठ
स्त्रीरोग विशेषज्ञ
वयोधा अस्पताल

नेपालका अधिकांश महिला योनिबाट सेतो पानी बग्ने समस्याको सिकार छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । कतिपय महिला लाजका कारण यस्ता समस्याबारे खुल्दैनन् ।  जसकारण झन् गम्भीर प्रकृतिका रोग लाग्न सक्छ । सेतो पानी बग्न थालेमा महिलाको योनिमा संक्रमण बढ्न थाल्छ । यस्तो समस्याको समयमै उपचार गरिएन भने पाठेघरको क्यान्सरसमेत हुन सक्छ । योनिबाट सेतो पानी बग्ने समस्याबारे एक सामग्री:

  • सामान्यतया महिनावारी हुनुभन्दा पाँच दिनअघिदेखि महिनावारीपछिको १४ दिनसम्म धेरै पानी बग्न सक्छ । कहिलेकाहीँ महिलाको योनिबाट चिप्लो पानी पनि बग्न सक्छ । यस्तो पानीको गन्ध आएन भने यसलाई समस्याको रूपमा नलिँदा हुन्छ ।
  • तर, पानी बग्ने समयमा योनि चिलाउने, पोल्ने, योनिबाट निस्केको पानी गनाउने भयो भनेचाहिँ चिकित्सककहाँ जाँच गर्न गइहाल्नुपर्छ ।
  • यस्तो समस्याबाट बच्नका लागि शारीरिक सम्पर्क गर्ने विषयमा पनि ध्यान दिनुपर्दछ । धेरै मानिससँग शारीरिक सम्पर्क गर्दा योनिमा संक्रमण हुन सक्छ । र, महिलामा सेतो पानी बग्ने समस्या सिर्जना हुन सक्छ । यौनसम्पर्कका कारण संक्रमण भएमा योनिबाट पिपजस्तो पदार्थ पनि बग्न सक्छ, जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।
  •  मधुमेह भएका कतिपय महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यस्ता महिलामा रोगसँग लड्ने क्षमताको कमी हुन्छ र सेतो पानी बग्ने समस्या हुन्छ ।
  • सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । सकेसम्म दैनिक रूपमा अन्डरवेयर परिवर्तन गर्नुपर्दछ । योनि सफा गर्दा सचेत हुनुपर्ने के छ भने कहिल्यै पनि योनिमा साबुन प्रयोग गर्नु हुँदैन । साबुनले सफा गरेमा योनि सुक्खा हुन्छ र चिलाउने समस्या हुन्छ । अनि, सेतो पानी बग्न थाल्छ ।

Source: Enayapatrika

एक पटक पढ्नुहोस