काभ्रे । बितेको तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकको १३ मध्ये १२ स्थानीय तहमा डेंगु सङ्क्रमण फैलिएको छ । यस अवधिमा तीन सय एघारमा डेंगु सङ्क्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।पछिल्ला हप्तादेखि दैनिक डेंगु सङ्क्रमण बढ्दै गएको जनाउँदै पछिल्लो २४ घण्टामा बनेपा नगरमा तीन, पनौतीमा एक, पाँचखालमा एक गरी छ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार बुधबार एक, मंगलबार सात, सोमबार तीन, आइतबार छ र शनिबार चार जना डेंगु सङ्क्रमण देखिएको छ । पछिल्लो छ दिनमा ३१ जनामा २५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।हालसम्म खानीखोलाबाहेक १२ स्थानीय तहमा डेंगु सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपती श्रेष्ठले जानकारी दिईन् । चालु आर्थिक बर्षको तीन महिनाको अवधिमा एक सय ५९ पुरुष र एक सय ५२ महिलामा डेंगु सङ्क्रमण देखिएको उनको भनाई थियो । अझै केही हप्ता डेंगु सङ्क्रमणदर बढ्ने अनुमान गरिएको उनले बताईन् ।
कार्यालयका अनुसार सबैभन्दा बढी बनेपा नगरमा ६० पुरुष र ५६ महिला गरी एक सय आठ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको पाइएको छ । यस्तै पनौतीमा ५६, भुम्लुमा २४, धुलिखेलमा ४९, मण्डनदेउपुरमा १९, पाँचखालमा १९, नमोबुद्धमा १२, रोशीमा नौ, बेथानचोकमा तीन, चौंरीदेउरालीमा दुई तथा तेमाल र महाभारतमा १÷१ जनामा डेंगु सङ्क्रमण देखिएको हो । गत आर्थिक बर्षमा काभ्रेपलाञ्चोकमा चार सय ८७ जनामा डेंगु सङ्क्रमण देखिएको थियो ।
हाल सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि प्रत्येक शुक्रबार ‘दश बजे दश मिनेट’–‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको समेत उनको भनाई थियो । डेंगुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।
लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने ब्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए विरामीको मृत्युसमेत हुने गर्दछ ।