After header

रोल्पाको लिवाङ नगरपालिकामा रोल्पाली चेली फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविर

रोल्पा । रोल्पाली चेली फाउन्डेसनको आयोजना तथा भक्तपुर इन्टरनेशनल हस्पिटलको प्राविधिक सहयोगमा लिवाङ नगरपालिका–४ मा महिलाको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा झण्डै ५०० जनाको नाम दर्ता भइसकेको र ठूलो संख्यामा महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

विकट भौगोलिक क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित शिविरमा महिलाको स्वास्थ्य परीक्षणसँगै पाठेघर तथा स्तनसम्बन्धी समस्याको पहिचान, स्वास्थ्य परामर्श तथा आवश्यक सुझाव प्रदान गरिएको छ।रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना केसीले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको फाउन्डेसनले यसपटक झण्डै १८ घण्टाको लामो यात्रा गरेर विकट क्षेत्रमा आई महिलाहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन पाउँदा खुसी लागेको बताइन् ।

उनले भनिन्, “स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दिदीबहिनीहरूको स्वास्थ्य परीक्षण गर्न पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो। शिविरमा अहिलेसम्म झण्डै ५०० जनाको नाम दर्ता भइसकेको छ।”अध्यक्ष केसीका अनुसार परीक्षणका क्रममा केही महिलामा क्यान्सरको शंकास्पद संकेत देखिएको छ। त्यस्ता महिलालाई थप परीक्षण तथा उपचारका लागि सम्बन्धित अस्पतालमा जान चिकित्सक तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन्।

प्रारम्भिक परीक्षणमा देखिएको संकेतलाई अन्तिम रोगको पुष्टि नमानिने भएकाले आवश्यक थप परीक्षण र चिकित्सकीय परामर्श लिन आग्रह गरिएको छ।समाजसेवी तथा सामाजिक अभियन्ता आशमा राउतले विकट क्षेत्रका महिलालाई घरआँगनमै स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउने यस्ता अभियानले स्वास्थ्यप्रतिको चेतना बढाउनुका साथै समयमै समस्या पहिचान गर्न सहयोग पुग्ने बताइन्। उनले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

त्यस्तै, डा. अनु शाह शर्माले महिलामा देखिने पाठेघर तथा स्तनसम्बन्धी स्वास्थ्य समस्या समयमै पहिचान गर्न सके उपचार सहज र प्रभावकारी हुने बताइन्। शिविरमा परीक्षणका क्रममा थप जाँच आवश्यक देखिएका महिलालाई अस्पतालमा गएर आवश्यक परीक्षण गराउन सुझाव दिइएको उनले बताइन्।

शिविरमा लिवाङ नगरपालिका–४ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको छ। स्थानीय जनप्रतिनिधिहरूले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुँदा महिलाहरूलाई ठूलो राहत पुगेको बताए ।
स्वास्थ्य शिविरमा सहभागी स्थानीय महिलाहरूले विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श पाउँदा आफूहरूलाई निकै सहज भएको बताएका छन् ।

उनीहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिन आग्रह गरेका छन् । रोल्पाली चेली फाउन्डेसनले स्वास्थ्य सेवाबाट टाढा रहेका समुदाय तथा महिलालाई लक्षित गर्दै आगामी दिनमा पनि स्वास्थ्य सचेतना र निःशुल्क स्वास्थ्य सेवा अभियानलाई निरन्तरता दिने जनाएको छ।

एक पटक पढ्नुहोस