‘काठमाडौंको शान्त तलाउमा ढुंगा खसेजस्तो भयो’

काठमाडौंमा तीन-चार दिनयता कोरोनाभाइरस संक्रमणको जुन त्रास देखिएको छ, यसको निराकरण कसरी गर्ने भनेर हामीले गृहमन्त्रीसँग समेत छलफल गरेका छौं।

उपत्यका छिर्ने नाकामा रहेका पालिका प्रमुख, सुरक्षा निकायका अधिकारी र तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी भएको बिहीबारको छलफलमा सबैको एउटै स्वर थियो-उपत्यका सबैले सुरक्षित भनिरहेको ठाउँमा शान्त तलाउमा ढुंगा हानेजस्तो भएको छ।

केही दिनमा भएको आवतजावतले उपत्यका अशान्त भएको छ। लकडाउनको अवस्थामा ल्याउने र पुर्‍याउने कामलाई पूर्ण रूपमा बन्देज गर्नुपर्छ। नाकामा आएपछि रोक्ने होइन कि प्रस्थान विन्दुमै रोक्नुपर्छ र गृह मन्त्रालयले जिम्मा लिनुपर्छ भन्ने सबैको धारणा थियो।

कोरोना रोकथामको प्रयास गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको भए पनि पास हामीले जारी गर्दैनौं। जसले पास जारी गरेको हो उसैले रोक्नुपर्छ। पास देखाएर आउने अनि यहाँ आइसकेपछि काठमाडौंबाट फर्काउने भयो भने फेरि अर्को द्वन्द्व हुन्छ। त्यसैले सम्बन्धित ठाउँबाट पठाउनै भएन। कथमकदाचित् नआइ नहुने भयो भने पिसिआर नगरी पठाउन भएन भनेर हामीले भनेका छौं। जो व्यक्ति काठमाडौं नआइ भएको छैन, उसले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई कोरोनाभाइरस नेगेटिभ रहेको रिपोर्ट देखाएरमात्रै काठमाडौं आउनपर्छ। काठमाडौं आउने क्रममा त्यो व्यक्ति कसैको सम्पर्कमा पुगेको हुनु हुँदैन। यसरी काठमाडौं आएपछि पनि क्वारेन्टाइनमा अनिवार्य बस्नैपर्छ।

काठमाडौं आएको व्यक्ति को हो, कहाँबाट आएको हो, कहाँ बस्छ? जानकारी स्थानीय सरकारले पाए भनेमात्रै उसको निगरानी गर्न हामीलाई सहज हुन्छ।

काठमाडौं ल्याउनेले ल्याइराख्ने अनि हामी जनप्रतिनिधिले खोज्दै हिँड्ने भन्ने हुँदैन।

लुकिछिपी आउने र ल्याउनेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ। दुई-चार जनालाई सहयोग गर्ने नाममा सबैलाई अशान्त बनाउन भएन। त्यसले राज्यको खर्च पनि धेरै हुन्छ। काठमाडौं आउने र ल्याउनेलाई पनि कारबाही भयो भने उपत्यका बच्न सक्छ तर ल्याउँदै छोड्दै जाने हो भने मुसा बिरालोको खेलजस्तै चलिरहन्छ।

अब संघीय सरकारले काठमाडौं आउने नाकामै क्वारेन्टाइन राख्ने व्यवस्था गर्नुपर्छ। हिजो विदेशबाट आउनेका लागि गरिएको थियो तर अब काठमाडौं बाहिरबाट आएकालाई गराउन पर्ने भएको छ। यसरी पनि काठमाडौं आउन खोज्नेहरूले पिसीआर र क्वारेन्टाइन खर्च आफैंले बेहोर्नुपर्छ। अर्को कुरा सबैलाई पिसीआर परीक्षण गर्ने किट पनि हामीसँग छैन र मूल्य पनि बढी हुने भयो।

काठमाडौंको पछिल्लो अवस्थाले खाना खुवाउनसमेत बन्द गर्ने अवस्था आएको छ। भोलिको दिनमा सेना, प्रहरी र पत्रकारमा देखियो भने नेपाल त खत्तम हुन्छ। यत्रो दिन सरकारलाई साथ दिएको एकैदिनमा खतम हुन्छ।

काठमाडौंबाट सिडिओले रोक्ने भनेको थानकोटमात्र हो त्यहाँ भन्दा उता जान पाउँदैन। उताबाट ल्याएर छोड्यो भने काठमाडौंको सिडिओले के गर्ने, चन्द्रागिरिको मेयरले के गर्ने? त्यही भएर पठाउने ठाउँबाटै नियन्त्रण गर्नपर्‍यो भन्ने हो।

पिसिआर परीक्षण नगरी कोही काठमाडौं आयो भने उसले कसलाई भेट्यो भनेर सयौं-हजारौंलाई खोज्दै जाने हो भने राज्य असफल हुन्छ।

काठमाडौं, ललितपुर र भक्तपुरमा १८ वटा पालिका छन्। भुगोल सानो छ तर घनाबस्ती छ। उपत्यका बचाउने हो भने अब हामी कठोर नबनी हुँदैन। किनकी पचासौं लाख जनसंख्या भएको ठाउँमा कोरोनाभाइरस फैलियो भने नियन्त्रण गर्न सकिँदैन।

बाहिरबाट आएकालाई नभेटेकाहरू डराउन पर्दैन

काठमाडौंमै पचास दिनदेखि घरमै बसेकाहरू बाहिरबाट आउनेसँग सम्पर्कमा छैनन् भने उनीहरूले पीर लिनुपर्दैन। मेरो परिवारमा कोही बाहिर हिँडेका छैनन् त्यसैले उनीहरूको परीक्षण गर्नु पर्दैन। तर मलाई लकडाउन लागेको छैन त्यसैले मेरो परीक्षण गराउन पर्ने हुनसक्छ। यदि मलाई पोजेटिभ देखियो भने मेरो परिवारदेखि मैले भेटेकाहरू सबैको परीक्षण गर्नुपर्ने हुन्छ।

हामीले स्वास्थ्य मन्त्रालयसँग मिलेर व्यापक परीक्षण गर्ने प्रयास पनि गरिरहेका छौं। बिहीबार कालीमाटी तरकारी तथा फलफूल बजारमा परीक्षण गरिएको थियो।

हामीले सफाइ मजदुरको पनि परीक्षण तयारी गरेका छौं भने जनप्रतिनिधि र महिला स्वास्थ्य स्वंयसेविकाको पनि परीक्षण गर्ने भनेका छौं।

केही पत्रकार र महानगरका प्रहरीको  परीक्षण गर्नुपर्छ। आवश्यक किट्स भएन भने प्रतिनिधि रूपमा भए पनि गर्ने र त्यसको नतिजाको आधारमा ट्रेसिङ गर्न सकिन्छ।

काठमाडौं महानगरमा बाहिरबाट मान्छे आएन भने डराउन पर्दैन तर ल्याउने हो भने डराउन पर्छ। उपत्यकामा जो छन् उनीहरू डराउन पर्दैन। लुकिछिपी, पास देखाएर आउनेसँग भने डर भएको छ।

कसैले उद्योग चलाउन पर्‍यो भने यहीँ भएका श्रमिक-मजदुरलाई काम लगाउन सकिन्छ। बैंक तथा कार्यालय चलाउन पनि बाहिर गएकालाई बोलाउन पर्दैन जति यहाँ छन् उनीहरूबाट काम चलाउन सकिन्छ।

यसरी गर्‍यो भने सुरक्षित हुन्छ तर बाहिरबाट भकाभक मान्छे ल्यायो भने नियन्त्रणबाहिर जान्छ।

जनतालाई भोकै पार्दैनौं

यस्तो अवस्थामा राहतको कार्यक्रम कसरी अगाडि बढाउने भनेर सोच्ने बेला आएको छ। यसको मोडालिटी परिवर्तन हुन्छ। कसैलाई भोको नरहने गरी हामीले काम गर्छौं तर अहिले जसरी राहत बाँडिएको छ यसको मोडालिटी परिवर्तन गर्नैपर्छ। अहिले खाना ख्वाइरहेको समेत रोक्न सुझाव आएको छ। एकले अर्कालाई नचिन्ने, एक ठाउँबाट अर्को ठाउँमा जाने भएकाले यसलाई रोक्न पर्नेसमेत देखिएको छ। अर्कोतिर,स्वत:स्फुर्त रूपमा खाना खुवाएकाहरूले पनि हामी रोक्छौं भनेर भनिरहनुभएको छ। जस्तो अवस्था आए पनि हामी जनतालाई भोको बस्न दिदैनौं। तर मोडालिटी परिवर्तन हुन्छ। डर र त्रास फैलिएको छ, जो सेवा गर्न हिँडेको छ ऊ पनि संक्रमित भयो भने डरलाग्दो स्थिति आउँछ।

किनमेलमा धेरै नजाउ

भीडभाड हुँदै जाँदा किनमेल कसरी गर्ने भन्ने  प्रश्न उठेको छ। अहिले धेरै रोजेर-छानेर खाने बेला होइन। मीठोका लागि भन्दा पनि बाँच्नका लागि खाने समय हो। छानी-छानी खानेभन्दा बाँच्नपर्छ भनेर खाने हो। केही दिनका लागि खाद्यान्न स्टक छ भने खाद्यान्न पनि नभित्र्याउने हो कि भनेर हामीले भनेका छौं। यदि ल्याइयो भने चालक र सहचालकलाई समाजमा घुलमिल नगराइकन अलग्गै राख्नुपर्छ। यसका लागि गृह प्रशासनले नै ध्यान दिनुपर्छ।

विभिन्न प्रयास गर्दागर्दै पनि संक्रमण फैलियो भने स्थानीय तहले केही गर्न सक्दैन किनकी हामीले रोकथामका लागि प्रयास गर्ने हो। उपचारका लागि संघीय सरकारले नै गर्नुपर्छ। हामीसँग आवश्यक चिकित्सक र किट्स दुबै छैन। लकडाउनको पूर्ण पालना गर्‍यो भने अझै पनि डराउनु पर्दैन तर लकडाउन उल्लंघन भयो भने राज्य असफल हुने खतरा रहन्छ।

अहिले हामी तेस्रो चरणमा गएको र समुदायमा फैलियो भन्ने पनि छ। यहाँ आएका संक्रमितले कसलाई भेटे, कहाँ गए भनेर सार्वजनिक गरिएको छैन। सुरक्षाको दृष्टिकोणले सार्वजनिक नगरेको होला। अब त्यसलाई सुरक्षा निकायले हेर्दै यसको ट्रेसिङ गर्दै जान्छ। ट्रेसिङको काम सुरक्षा निकायबाटै गरे गोपनियता कायम हुन्छ। यदि थाहा भयो भने समाजमा पनि कठिन छ।

(काठमाडौं महानगरपालिका मेयर शाक्यसँग सेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीमा आधारित।)

एक पटक पढ्नुहोस