स्याङ्जाका तीनजना कोरोना संक्रमित निको भएर घर फर्किए

स्याङ्जा । स्याङ्जाका तीनजना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्सन डा. अञ्जु अर्यालका अनुसार कोरोनाभाइरस निको भएर घर फर्कनेहरु वालिङ नगरपालिकाका एकजना पुरुष र गल्याङ नगरपालिकाका दुईजना पुरुष रहेका छन् ।

जसमध्ये वालिङ नगरपालिका वडा नं. १३ का २१ वर्षीय पुरुष र गल्याङ नगरपालिकाका २७ र ४० वर्षीय पुरुषहरु रहेका छन् । वालिङका गत जेठ १५ र गल्याङका जेठ १८ गतेबाट जिल्ला अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए ।

उनीहरुको स्वाव दोस्रो पटक परीक्षणका लागि जेठ २२ गते पोखरा पठाइएको थियो । हिजो स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको अस्पतालले जनाएको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, पुतलीबजार नगरपालिकाका प्रमुख सीमा कुमारी क्षेत्री, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीका टोलीले विदाइ गरेका थिए ।

स्याङ्जामा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । जसमध्ये एकजनाले ज्यान गुमाएका भने ३४ जना आइसोलेसनमा छन् ।

एक पटक पढ्नुहोस